सिन्धुली– सिन्धुलीमा पछिल्लो समय रोजगारीका लागि विदेश जाने युवाको संख्या बढेको छ । घरखर्च जोहो गर्नकै लागि विदेश जानेको संख्या बढेको हो । देशमा रोजगारीको अवसर र उपयुक्त विकल्प नहुँदा रोजगारीका लागि विदेशीनुपर्ने बाध्यता नै बनेको छ । जिल्लाबाट महिलाहरू पनि वैदेशिक रोजगारका लागि जान थालेका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीको तथ्यांकलाई आधार मान्ने हो भने पनि यसलाई पुष्टी गर्दछ । वैदेशिक रोजगारीमा जानका लागि प्रशासनमा राहदानी बनाउनेहरूको संख्या बढ्दै गएको छ । कार्यालयका अनुसार युवायुवतीहरू बढी विदेश गएका छन् । यस्तै महिलाहरू पनि रोजगारीका लागि विदेश गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राजनीतिक अस्थिरता, उत्पादनमा कमी र आम्दानीको विकल्प नहुँदा रोजगारीकै लागि विदेश जानेहरूको संख्या बढेको प्रशासनको भनाइ छ ।
युवाहरूको वैदेशिक रोजगारप्रति मोह भए पनि महिलाहरू भने बाध्यताका कारण रोजागारीमा विदेश जाने गरेका छन् । आर्थिक अभावकै कारण विदेश जाने र त्यसका लागि प्रशासनमा राहदानी बनाउन आउनेको संख्या बढ्दो छ । प्रायः दिनहुँजसो मानिसहरू राहदानीका लागि प्रशासनमा धाउने गरेका छन् । यस्तै अधिकांश जिल्लाबासीले काठमाडौंबाट पनि राहदानी बनाउने भएकाले जिल्लाबाट विदेशीनेको संख्या उल्लेख्य रहेको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार गत भदौँ महिनामा मात्रै ६ सय ६३ जनाले राहदानी बनाएका छन् । आर्थिक अभावकै कारण दिनहुँ विदेश जानेक्रम बढ्दो छ । सुरक्षित आप्रवासन सम्बन्धी सूचना तथा परामर्श केन्द्रमा सीप सिकेर मात्र विदेश जान आग्रह गर्ने गरिएको प्रशासनले जानकारी दिएको छ । तर कतिपय युवायुवतीहरू सीप नसिकेरै जाँदा विदेशमा दुःख पाउने गरेका छन् । सरकारले स्वरोजगार कार्यक्रम ल्याए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा युवाहरूले स्वदेशमै अवसर पाउन सकेका छैनन् । हातमा सीप र पौरख हुँदा पनि विदेशमा पसिना बगाउनुपर्ने बाध्यता रहेको भन्दै युवाहरूले स्वदेशमै अवसर सिर्जना गर्न सरकारसँग आग्रह गरेका छन्