शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा अदुवाको गानो कुहिने रोगले किसान चिन्तित

मंगलवार , मंसिर ४, २०८१

फाइलफोटो

सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिका १ हत्पते क्षेत्रमा लगाइएको अदुवामा गानो कुहिने रोगले किसान चिन्तित भएका छन् । नगरपालिकाको १ नम्बर वडा क्षेत्रभित्र करिव २० विगा जमिनमा लगाइएको अदुवामा गानो कुहिने रोगले किसानहरु चिन्तित भएका हुन् । हत्पतेका देव बहादुर बोगटीले करिव १५ कठ्ठा जमिनमा लगाएको अदुवामा गानो कुहिन रोग देखा परेको बताउनुभयो । पहिला बोट मर्दै जाने र बिस्तारै गानो कुहिने समस्या रहेको उहाँले बताउनुभयो । अदुवा बाटै वार्षिक करिव ४ लाख आम्दानी लिने गरेको उहाँले सुनाउनुभयो । “यो रोग पहिलेको वर्षमा पनि देखिएको थियो ।” उहाँले भन्नुभयो, “पहिलेको वर्ष भन्दा बढी यो रोग देखिएको छ ।” अदुवा बाटै बार्षिक लाखौंको आम्दानी गर्दै आएका हत्पतेका किसानका अहिले अदुवाको गानो कुहिन थाले पछि लगानी नउठ्ला भन्ने चिन्तामा परेका छन् । नगरपालिकाले रोग नियन्त्रणका लागि विषादी प्रयोग गरे पनि रोग नियन्त्रण हुन नसकेको कृषक बोेगटीले बताउनुभयो । “विषादी प्रयोग गर्दा पनि रोग नियन्त्रण हुन सकेन” उहाँले भन्नुभयो , “अव अदुवा खनौ भने बजार सम्म पु¥याउन वर्षाले सबै बाटो विग्रीएको छ ।” नगरपालिका भित्र अदुवामा गानो कुहिने समस्या पहिले देखि रहेको कृषकले बताएका छन् । नगरपालिकाको १३ र १४ नम्बर वडा करिव ३० बिगा जमिनमा अदुवा लगाइएको छ । यस्तै नगरपालिकाले १३ र १५ नम्बर वडालाई नगरपालिकाले अदुवाको पकेट क्षेत्र घोषण गरेको छ । पकेट क्षेत्रमा पनि गानो कुहिने समस्या देखापरेको र आवश्यक किट्नासक बिषदी प्रयोग गरिएको नगरपालिकाले जानकारी दिएको छ । कृषि ज्ञान केन्द्र सिन्धुलीका अनुसार जिल्लामा ९०० हेक्टर क्षेत्रफलमा व्यावसायिक अदुवा खेती गरिएको छ । जिल्लामा बार्सिक १२ हजार ५ सय ४० मेट्रिकटन अदुवा उत्पादन हुन्छ । यो १३.९३५ उत्पादकत्व हो । जिल्लामा व्यावसायीक अदुवा खेती विषेश गरि हरिहरपुरगढी, दुधौली, कमलामाई, तिनपाटनमा रहेको ज्ञान केन्द्रले जानकारी दिएको छ । जिल्लाका ग्रामीण क्षेत्रका किसान व्यावसायिक अदुवा खेतिमा निर्भर छन् । धान उत्पादन नहुने जमिनमा अदुवाको राम्रो उत्पादन हुने भएकाले किसानहरु अदुवा खेतीमा आकर्षत छन् ।

प्रतिक्रिया