सिन्धुली – तिहार नजिकिँदै गर्दा बजारमा भाइमसला (ड्राइ फ्रुट्स) को व्यापार बढ्न थालेको छ । भाइटीकाको दिनमा सप्तरंगी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई भाइमसला (नरिवल, काजु, बदाम, ओखर, मिश्री, दालचिनी, किसमिस, पिस्ता) दिने प्रचलन छ ।
सोही अनुसार उपभोक्ताले अहिलेदेखि नै भाइमसला किन्न थालेका हुन् । आगामी बुधबारदेखि यस वर्षको तिहार सुरु हुने भए पनि अहिलेदेखि नै उपभोक्ताले तिहारका लागि आवश्यक पर्ने सामान खरिद गर्न सुरु गरेका छन् ।
तिहारमा बढी मात्रामा भाइमसला बिक्री हुने गर्छ । सिन्धुलीको बजारमा भाइमसला खरिद गर्ने ग्राहकको भिड लागेको छ । अधिकांश पसलमा सामान खरिद गर्ने ग्राहकको भिड लागेका छने । सिन्धुली बजारमा सामान किन्न जानुभएकी अन्जना पुललमीले पछि भिड हुने भएकाले अहिलेदेखि नै सामान खरिद गर्न सुरु गरिएको जानकारी दिनुभयो । तिहारको भाइमसला किन्नु नै पर्ने र पछि भिडभाड हुने गरेकाले पनि सामान खरिद गरेको उहाँको भनाइ छ । भाइमसलाको मूल्य भने केहीमा सामान्य बढे पनि विगतका वर्षसरह रहेको उहाँले जानकारी दिनुभयो ।
सिन्धुली माढीमा सञ्चालिथ सिन्धुली मार्टका सञ्चालक दिपेश थापाले तिहार नजिकिँदै गरेकाले पनि भाइमसलाको व्यापार बढ्दै गएको जानकारी दिनुभयो । सुकुमेल र काजुको मूल्य बढे पनि अन्य भाइमसलाको मूल्य भने गत वर्षकै हाराहारीमा रहेको उहाँले जानकारी दिनुभयो । भाइमसला तिहारका बेला बढी बिक्री हुने हो, व्यापार बढ्दै गएको छ, तिहार आउन अझै केही दिन बाँकी रहेकाले थप व्यापार बढ्ने अनुमान गरिएको उहाँको भनाइ छ ।
व्यवसायीका अनुसार बजारमा काजु प्रतिकिलो दुई हजार रुपैयाँ मूल्य रहेको छ । यस्तै बदाम प्रतिकेजी एक हजार सात सय रुपैयाँ, पेस्ता प्रतिकेजी दुई हजार रुपैयाँ, किसमिस प्रतिकेजी छ सय रुपैयाँ, नरिवल प्रतिकेजी छ सय रुपैयाँ, खुर्पानी प्रतिकेजी नौ सय, अन्जिर प्रतिकेजी दुई हजार रुपैयाँ, ल्वाङ प्रतिकेजी दुई हजार, सुकमेल प्रतिकेजी तीन हजार पाँच सयदेखि चार हजार रुपैयाँ, अलैँची प्रतिकेजी एक हजार पाँच सय, दालचिनी ५५० रु्रपयाँ मूल्य रहेको छ । यस्तै काँचो बदाम २३० रुपैयाँ, मिश्री प्रतिकेजी १८० रुपैयाँ मूल्य रहेका छन् ।
सबै सामान मूल्य बढेको छैन, बढेको मसलामा १५ देखि २० प्रतिशत मूल्य बढेको उहाँले जानकारी दिनुभयो । सबैभन्दा बढी काजु र सुकमेलको मूल्य बढेको ब्यापारीको भनाइ छ । सबै सामान विदेशबाट आयात हुने गर्छ, थोक व्यापारीले बाहिरीबाट मूल्य बढेर आएको भन्ने गरेको ब्यापारीको भनाइ छ । व्यवसायीका अनुसार गत वर्ष प्रतिकेजी एक हजार पाँच सय रुपैयाँ रहेको काजुको मूल्य बढेर दुई हजार पुगेको छ । यस्तै गत वर्ष प्रतिकेजी दुई हजार पाँच सय रुपियाँ मूल्य रहेको सुकमेलको मूल्य बढेर अहिले चार हजार पुगेको छ । अन्य मसलामा भने खासे मूल्य नबढेको व्यवसायीको भनाइ छ ।
नेपालमा उत्पादन भहुने भाइमसला तिहारका लागि भनेर विभिन्न देशबाट आयात हुने गरेको छ । नेपालमा भाइमसलाजन्य ड्राइ फ्रुट्स भारत, चीन, भियतनाम, अमेरिका, इन्डोनेसिया, थाइल्यान्डलगायतका मुलुकबाट आयात हुने गरेको छ ।
तिहारमा खपत बढी झिलिमिली बत्ती, पाला, लक्ष्मीपूजाका सामान, भाँडावर्तन, सेल पकाउनका लागि कराही बिक्री हुन थालेको व्यवसायीको भनाइ छ । तिहारमा उपहार दिनका लागि ढाका टोपी, कपडासँगै मिठाईको बिक्री पनि धेरै हुने गरेको छ । तिहारमा बढी मिठाई खपत हुने हुँदा व्यवसायीले तिहारलक्षित मिठाई बनाउन सुरु गर्न थालेका छन् ।