सिन्धुली – नेपाल एसबीआई बैक सिन्धुलीमाढीमा सोमबार बिहानै आइपुग्नुभएको देवकुमारी तामाङले दिउँसो वृद्धभत्ता प्राप्त गर्नुभयो । उहाँ भत्ता लिन झण्डै तीन घण्टा बढी लाइनमा बस्नुभयो । घण्टौँ लाइनमा बसेर भत्ता रकम हातमा पर्दा उहाँ जति खुशी हुनुहुन्थ्यो, त्यत्ति नै थकित पनि देखिनुहुन्थ्यो । देवकुमारी मात्रै होईन दिलमायाँ तामाङले पनि चार घण्टा कुरेर भत्ता लिनुभयो ।
सिन्धुलीमाढीमै रहेको अर्को राष्ट्रिय वाणिज्य बैंकमा पनि सोमबार उस्तै भीड थियो । वृद्धवृद्धा भत्ता रकम कतिखेर झिक्न पाइन्छ भनेर कुरेर बसेका थिए । बैंकमा सामाजिक सुरक्षा भत्ता लिने र अन्य सेवाग्राहीको घुइँचो थियो । बैंकमा भत्ता लिन आउनुभएको आमालाई सहजीकरणका लागि सहयोग गर्न आएका कमलामाई नगरपालिका १२ का सन्देश सापकोटाले भत्ता लिन वृद्धवृद्धा दिनभर लाइनमा बस्नुपरेको बताउनुभयो । विकट स्थानबाट आएका वृद्धवृद्धालाई छिटोछरितो सहज रूपमा भत्ता लिने वातावरण सृजना गर्नुपर्ने उहाँको भनाइ छ । सकेसम्म वडामै भत्ता वितरण गर्नुपर्ने उहाँको भनाइ छ ।
यस्तै‚ कमलामाई नगरपालिका– ११ का ८१ वर्षीय दिर्घ नारायण देवकोटालाई दशैँको समयमा वृद्धभत्ता लिन निकै सास्ती भएको छ । उहाँ झण्डै एक घण्टा पैदल यात्रा गरेर सिन्धुलीमाढीमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा पुग्नुभयो । भत्ताबापत पाएको रकमभन्दा जान आउन निकै मुस्किल भएको उहाँले बताउनुभयो । ‘ज्येष्ठ नागरिकलाई भत्ता सहजसँग घरघरमा बाड्ने भनेर रेडियो‚ टिभीमा नेता मन्त्रीका भनाइ पनि सुनेको थिएँ । तर अहिले टाढाटाढाका बैंकमा खाता खोल्नु पर्दा हामीलाई समस्या भइरहेको छ ।’ उहाँले भन्नुभयो । उहाँहरु जस्ता धैरे ज्येष्ठ नागरिकले वृद्धा भत्ता बुझ्न समस्या हुँदै आएको छ । धेरै भीड, लामो लाइनमा बस्नुपर्दा सास्ति हुने गरेको उनीहरु बताउँछन् । बैंकमा दैनिक सयभन्दा बढी ज्येष्ठ नागरिकको भीड हुने गरेको छ ।
स्थानीय सरकारमार्फत सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने ज्येष्ठ नागरिकहरुको माग छ । राज्यले हरेक कारोबारलाई बैंकिङ प्रणालीमा लैजाने नीति अनुरुप ज्येष्ठ नागरिकहरुले पनि बैंक खाताबाट नै पैसा निकाल्नुपर्ने योजना बनाएपछि ज्येष्ठ नागरिकलाई सास्ती भएको छ । सामाजिक सुरक्षाको भत्ताका नाममा बैंकिङ प्रणालीले असुरक्षा भएको ज्येष्ठ नागरिकहरुको गुनासो छ । ८०–८५ वर्ष नाघेका ज्येष्ठ नागरिक तीन–चार घण्टाको यात्रा तयगरी भत्ता बुझ्नुपर्ने बाध्यतामा छन् ।