शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीका व्यवसायीको गुनासोः दशैं आयो तर व्यापार छैन

शुक्रवार , आश्विन १८, २०८१

सिन्धुली – दशैँ लागि विगतको तुलनामा किनमेल गर्ने ग्राहक नआएको सिन्धुलीका व्यवसायीले गुनासो गरेका छन् । पहिले सिन्धुलीको मुख्य बजारमा दशैँका लागि किनमेल गर्ने ग्राहकहरुको भीड हुने भएपनि अहिले बजार सुनसान छ ।

विपत्ति साथै आर्थिक मन्दीका कारण व्यापारमा उत्साह नदेखिएको व्यापारीहरुले बताएका छन् । दशैँ नजिक अविरल वर्षाको कारण आएको बाढी पहिरो जस्ता विपत्तिले व्यापार व्यवसायीमा थप संकट ल्याएको बताएका छन् । दशैँ लागेसँगै बजारमा ग्राहकको भीडभाड बढ्ने र व्यापार वृद्धि हुने व्यवसायीहरुको आशा निराशामा परिणत भएको छ । दशैँ लागेसँगै बजारमा ग्राहकहरु बढ्ने र व्यापारीहरुलाई केही राहत मिल्ने आशा भएपनि बाढी पहिरोका कारण बजार थप प्रभावित भएको गुनासो गरेका छन् । सिन्धुलीमाढीका एक कपडा व्यवसायी भन्नुहुन्छ, “दशैँमा व्यापार हुने आश थियो । आजबाट दशैँ पनि लाग्यो तर बजार सुनसान छ । बाढी पहिरोको कारण सबै व्यवसाय पनि प्रभावित भएको छ । बजारका व्यवसाय ग्राहकको प्रतिक्षामा छन् ।” व्यापारीहरुले विगतका वर्षहरुमा सोही समयमा हुने व्यापारको अहिले २५ प्रतिशत पनि व्यापार हुन नसकेको भन्दै व्यापार व्यवसाय दयनीय अवस्थामा पुगेको बताएका छन् ।

यस वर्षको दशैँ व्यवसायी र आम नागरिकका लागि दशाको रुपमा देखापरेको उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन श्रेष्ठले बताउनुभयो । उहाँले अहिले मुलुक नै व्यापार व्यवसायभन्दा पनि बाढी पहिरो र प्राकृतिक प्रकोपको चपेटामा परेकाले यस वर्षको दशैँमा रौनक नभएको बताउनुभयो । उहाँले मुलुकका सक्रिय युवाहरु विदेश पलायन भएकाले पनि बजारमा व्यापारमा कमी आएको बताउनुभयो । उहाँले बाढी पहिरोको कारणसडक मार्गहरु बन्द भएकाले होलसेल व्यवसायीलाई थप समस्या भएको बताउनुभयो । व्यापार व्यवसाय विगतको तुलनामा रौनक नदेखिएको भन्दै व्यवसायीहरुमा दैनिक निराशा छाएको उहाँले बताउनुभएको छ । उहाँले भन्सार दरदेखि स्थानीय कर, घरभाडा, ढुवानी समेत बढेको हुँदा बजार मूल्य पनि बढेर उपभोक्ताको हैसियत भन्दा माथि बजार मूल्य पुगेको पनि बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरु पनि विदेश पलायन हुनुपर्ने सोचमा पुगेको बताउनुभयो । क्रयशक्ति कम भएकाले दशैँमा मानिसहरुको विगतको जस्तो किनमेलमा उत्साह नदेखिएको उहाँको भनाइ छ ।

व्यापारको लागि दशैँमा घटस्थापनाका दिनदेखि फूलपातीको दिनसम्म पिक समय मानिने भएपनि अहिले त्यस्तो नरहेको व्यवसायले बताएका छन् । दशैँ लाग्ने दुई हप्ताअघि बजार भिडभाड हुने गरे पनि यो वर्ष सुनसान छ । दशैँको समयमा व्यापारमा रमाउनु पर्ने व्यवसायीहरु बाढी पहिरोको कारण समस्यामा परेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले व्यापार गरेर दशैँमा राम्र्रै खाने र राम्रो लगाउने योजना बनाए पनि यो वर्ष खासै उत्साह नभएको बताउनुभयो । उहाँले बाढी पहिरोका कारण व्यापार समेत ठप्प भएकाले राज्यले सहजिकरण तत्काल गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया