सिन्धुली – चाडपर्व नजिकिएसँगै सिन्धुलीमा तस्करी बढेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुृलीले पछिल्लो समय भन्सार छली ल्याएको सामान दैनिक बरामद गरिरहेको छ । भारत लगाएत छिमेकि जिल्लाबाट ल्याएको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको हो । चाडवाड लक्षित भन्सार छली गरेर ल्याएको दैनिक उपभोग्य वस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले साउनदेखि हाल सम्म भन्सार छली गरि ल्याएको झण्डै दुइ करोड सामान बरामद भएको छ । भन्सार छली ल्याएको १ करोड ८९ लाख ४ हजार ४ सय २८ रुपैया बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार भारत लगाएत छिमेकी जिल्लाबाट भन्सार छली गरि ल्याएको दैनिक उपभोग्य बस्तु बरामद गरिएको हो ।
आइतबार कमलामाई नगरपालिका ९ भिमानमा भन्सार छली ल्याएको चिनि, मटर र प्याज प्रहरीले बरामद गरेको थियो । ५३ हजार ८ सय रुपैया बराबरको सामान बरामद गरेको प्रहरीले जानकारी दिएको छ । भन्सार छली ल्याएको दुइ बोरा मटर, तीन सय केजि चिनि र चार सय केजि प्याज बरामद गरेको हो । प्रहरीले अनुसन्धान पछि जलेश्वर भन्सार कार्यालय महोत्तरी पठाएको छ ।
यस्तै कमलामाई नगरपालिका ६ माझिटार चेकपोष्टमा प्रहरीले भन्सार छली ल्याएको ६८ हजार १ सय ६८ रुपैयाँ बराबरको सामान बरामद गरेको छ । कागजपत्र नभएको २ सय ७५ केजि चिनि, ३ हजार ४५६ पिस नवरत्न तेल, २ बोरा बिडी, ३ थान तन्ना, १३ थान सरफ, १० थान इनर वेयर, १० थान सेन्डो, १ सय वटा नरिवल र २५ पोका सुर्ति बरामद गरेको प्रहरीले जानकारी दिएको छ । आवश्यक अनुसन्धान पछि भन्सार कार्यालय जनकपुर पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
तस्करी नियन्त्रणका लागि प्रहरीले सक्रयता बढाएको छ । चाडपर्वलाई लक्षित गरी चोरी तस्करी नियन्त्रणका लागि सक्रियता बढाएको प्रहरीले बताएको छ । तस्करविरुद्ध निर्मम भएर काम गर्न जिल्लाको सबै प्रहरी युनिटलाई निर्देशन गरेको प्रहरी प्रमुख काफ्लेले बताउनुभयो । उहाँले भन्सार चोरी तस्करी विरुद्धमा शून्य सहनशीलता नीतिअनुरूप जहाँ तस्करी त्यही अन दी स्पोट एक्सनमा उत्रिएर कारबाही गरिएको बताउनुभयो ।
चाडपर्व नजिकिएसँगै सिन्धुलीमा चोरी–तस्करी बढ्दै गएको छ । जिल्लामा दैनिकजसो भन्सार छलेर अवैध रूपमा आयात गरिएका सामान बरामद हुन थालेका छन् । अन्य समय भन्दा चाडपर्वका बेला खाद्यान्न, लत्ताकपडा लगायतका दैनिक प्रयोग हुने आवश्यक सामग्रीको माग बढी हुन्छ । छोटो समयमा बढी कमाउने धाउन्नमा लागेका तस्करहरूले चाडपर्वलाई कमाउने मलिलो सिजनका रूपमा लिने गरेका छन् । नियमनकारी निकायसँग साँठगाँठ गरेर भए पनि यो बेलामा अवैध आयातलाई अन्य समयको तुलनामा कयौँ गुणा बढी बनाइने गरेको जानकारहरू बताउँछन् ।