सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ स्थित खुर्कोटमा रहेको खुर्कोट यातायात व्यवस्था कार्यालयले साढे सात करोड बढी राजश्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ७ करोड ७१ लाख ७० हजार ४ सय ९६ रुपैया राजश्व संकलन गरेको यातायात व्यवस्था कार्यालय खुर्कोटका कार्यालय प्रमुख शेजराज ढकालले जानकारी दिनुभयो । नयाँ सवारी दर्ता, अस्थायी दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, पुन दर्ता, सवारी नामसारी, सवारी साधनको जाँचपास र सवारी प्रदुषण जाँच, बाटो इजाजतपत्र नविकरण तथा प्रतिलिपि र जाँचपास प्राविधिक परिक्षण तथा प्रतिलिपि, सवारी चालक अनुमतिपत्र नविकरण, नयाँ सवारी सवारी चालक अनुमतिपत्रको आवेदन दर्ता, वर्ग थप सवारी चालक अनुमतिपत्रको आवेदन दर्ता, लिखित तथा प्रयोगात्मक परिक्षा, वर्ग ( A, B, C, C1, E, K ) को नयाँ सवारी चालक अनुमतिपत्र जारी लगायतका शिर्षकमा राजस्व संकलन भइरहेको छ ।
कार्यालयले सबै भन्दा बढी सवारी साधन करबाट बढी राजश्व सकंलन गरेको छ । एक वर्षमा सवारी साधन करबाट पाँच करोड ४८ लाख ७९ हजार २ सय ९४ रुपैया राजश्व संकलन गरेको हो । यस्तै, सवारी इजाजत दस्तुरबाट ८५ लाख ७८ हजार, यातयात क्षेत्रको आय एक करोड २४ लाख ८० हजार ४ सय ४२ र परिक्षा दस्तुरबाट १३ लाख ३ हजार राजश्व सकंलन गरेको हो ।
आर्थिक वर्ष २०८०/८१ मा १ हजार ५ सय ३६ जनाले सवारी चालक अनुमति पत्र प्राप्त गरेका छन् । १ हजार २ सय ८६ सवारी चालक अनुमति पत्र वितरण भइसकेको छ । सवारी चालक अनुमती पत्र A वर्गको नयाँ ५ सय ७० जनाले र वर्ग थप १ सय ४ जनाले लिएको प्रमुख ढकालले बताउनुभयो । B नयाँ १ सय १७ र वर्ग थप १७० रहेका छन् । C वर्गको नयाँ ६ जना र वर्ग थप १२ जना रहेका छन् । E वर्गको नयाँ ४ र वर्ग थप ३ जना रहेका छन् । यस्तै, K वर्गको नयाँ ७४ र वर्ग थप १२ जनाले लिएको ढकालले जानकारी दिनुभयो ।
खुर्कोटमा स्थापना भएको कार्यालयबाट सिन्धुली सहित, रामेछाप, दोलखा, प्रदेश १ को ओखलढुगां, खोटाङ, सोलोखुम्बु, भोजपुर र उदयपुरका स्थानियहरुले सहज रुपमा सेवा लिरहेको निमित्त प्रमुख ढकालले बताउनुभयो ।