काठमाडौँ – ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ लगाउँदा घाटा भएको दाबीसहितको हिसाबकिताब सार्वजनिक गरिएको छ । आयोजक कृष्णमूर्तिले बिहीबार पत्रकार सम्मेलन गर्दै कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको जानकारी दिनुभयो ।
यस्तै, कोटिहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उहाँले बताउनुभयो । यस अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको कृष्णमुर्तिले दावी गर्नुभयो । महायज्ञमा कबोल भएकोमध्ये डेढ करोडदेखि २ करोड रुपैयाँ उठ्न बाँकी रहेको समेत उहाँले बताउनुभयो ।
आपराधिक पृष्ठभूमिका कृष्ण्मूर्ति विभिन्न आरोपमा पटक पटक जेल बसेका व्यक्ति हुनहुन्छ । छानबिनकै लागि साउनको समापनको राति प्रहरी टोली गएको भए पनि आयोजकले प्रहरीमाथि जाइलागेको थियो । समाचार संकलनका लागि गएका संचारकर्मीसमेत कुटाइमा परेका थिए ।
कोटीहोममा निस्वार्थ भावनाले सहयोग गर्न लाखौँ मानिस पुगेका थिए । तर दुर्भाग्य घाटामा परेको भनेपछि उनीहरुको चित्त दुखेको छ । कतिपय पंडितहरुले कोटीहोम शुरु हुनुअघि नै यसबारे गम्भीर प्रश्न उठाएका थिए ।
यो ठगी भएको भनेर बताएका थिए । यद्यपि जिम्मेवार निकाय तमासे बनेसँगै अहिले ती कोमल मन भएका दान दाताहरु उद्धेश्य पूरा नभएको भन्दै चिन्तित देखिएका छन् । उनीहरुले धर्मको नाममा आफूहरु ठगिएकोसमेत बताएका छन् ।
अनाथ तथा आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाहरुलाई निःशुल्क रुपमा गास, वास, कपास, स्वास्थ्य र शिक्षा प्रदान गर्दै आइरहेको नेपालकै नमूना मामाघर अनाथालय आश्रम, ललितपुर र बेसहारा, पीडित, दुःखी, गरिब र आधारभूत आवश्यकताबाट वञ्चित ज्येष्ठ नागरिकहरुलाई निःशुल्क रुपमा गास, वास, कपास र स्वास्थ्य प्रदान गर्दै आइरहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणसँगै राष्ट्र शान्ति, विश्व कल्याण एवं गौरक्षार्थ महायज्ञ आयोजना गरिएको बताइएको थियो ।
अहिले आएर उनीहरुको नाम देखाइ फाउण्डेशनले दान बटुलेको भए पनि उल्टै घाटामा परेको देखाएर सम्बन्धित जिम्मेवार निकायलाई झापड हानेको छ । कोटीहोम महायज्ञमा राधिका दासी, देवी प्रतिभा, दीनवन्धु पोखरेल, डा. कान्ता भट्टराई, देवी चन्द्रकला सखी लगायतबाट कथा वाचन भएको थियो ।
उक्त कोटीहोममा सरकारका मन्त्रीहरु, सचिवहरु, सांसदहरु, नेताहरुसमेत पुगेका थिए । जिम्मेवार निकायले यस विषयमा गम्भीर भएर छानबिन गर्ला कि फेरि पनि तमासे बनेर गैरजिम्मेवार बन्ला भन्ने चासोको विषय बनेको छ ।