शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा बढ्दै डिजिटल बैकिङको आकर्षण

आइतवार , भाद्र १६, २०८१

सिन्धुली – सिन्धुलीमा पछिल्लो समय डिजिटल बैँकिङको प्रयोग बढेको छ । जिल्लाको बजार क्षेत्रमा मात्रै नभएर ग्रामिण क्षेत्रमा पनि डिजिटल बैँकिङको प्रयोग बढेको हो । साना देखि ठुला व्यवसायमा फोनपेबाट सजिलै भुक्तानी गर्न सकिने छ । सजिलो र छरितो हुने भएकाले युवा पुस्ता डिजिटल बैंकिङतिर आकर्षित भएको पाइन्छ । चार वर्षअघिसम्म जिल्लाका धेरै क्षेत्रमा मोबाइल बैंकिङ नौलो थियो । तर, अचेल ग्रामीण क्षेत्रमा पनि मोबाइलबाटै कारोबार गर्नेको संख्या बढेको छ । सूचना प्रविधिमा भएको विकाससँगै डिजिटल बैंकिङ साझा रुचि एवं चासोको विषय बनेकाले प्रयोगकर्ताहरू बढ्दै गएका मरिण गाउँपालिका ७ का विकास माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “मोबाइल बैकिङबाट सजिलै भुक्तानी गर्न मिल्छ । घरमै बसेर पनि भुक्तानी गर्न मिल्ने भएकाले यसको प्रयोग बढीले गरेका हुन् । साथै जुनसुकै भुक्तानी गर्न मिल्ने भएको मोबाइल बैकिङको प्रयोग बढेको हो ।”

डिजिटल बैंकिङ भनेको भौतिक रूपमा उपस्थित नभई आधुनिक सूचना तथा प्रविधिको उपयोग गरेर गरिने बैंकिङ प्रणाली हो । अब पहिलाजस्तो पैसाको लेनदेन गर्न बैंकका शाखाहरूमा लाइन लाग्नै पर्दैन । घरै बसेर केही मिनेटमै कम्प्युटर, ल्यापटप र स्मार्टफोन आदिको प्रयोगबाट अधिकांश बैंकिङ सुविधाहरू प्राप्त गर्न सकिन्छ । डिजिटल बैंकिङले ग्राहकहरूको दैनिकी एवं जीवनशैलीमा बैंकलाई जोड्न मद्दत गरेको छ । सिन्धुली जिल्लाका बैंक शाखाहरूमा अचेल पहिलाजस्तो लाइन देखिँदैन ।

युवाहरूले क्यूआर, फोनपे खोज्न थालेपछि सानातिना पसल, होटलहरूमा समेत स्क्यानर राख्न थालिएको सिन्धुलीमाढीमा चटपटे व्यवसाय गर्ने प्रविन शाह बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “फोनपे छ कि छैन भनेर चटपटे खान आउँछन् । अहिलेका केटाकेटि क्यास पैसानै बोक्दैनन् । ५० रुपैया पनि फोनपे गरेर चटपटे खान्छन् । सबैले फोनपे खोज्ने भएकाले फोनपे राखेको छु ।” साहको पसलमा दैनिक ४ सय देखि ५ सय फोनपे कारोबार हुने गरेको छ ।

मोबाइल बैकिङबाट घरमै बसेर विद्युतीय शुल्क, रिचार्ज लगाएत अन्य शुल्क सजिलै तिर्न सकिने छ । बीमा गरेकाहरू पनि प्रिमियम बुझाउन बीमक भएसम्म जानै पर्दैन । घर बसीबसी तिर्ने गरेको उनीहरू बताउँछन् । पहिले पैसा निकाल्न घण्टौँ लाइन बस्नुपर्थ्यो । अचेल एटीएमबाट एकैछिनमा नगद पाउन सकिन्छ । रेस्टुरेन्टमा खाएको तिर्न होस् वा पसलमा सामानको भुक्तानी गर्न मोबाइलबाटै सम्भव छ । जुनसुकै स्थानमा गएर डेबिट कार्डद्वारा नगदबिना नै कुनै पनि वस्तु तथा सेवाको उपभोग गर्न पाइन्छ । यो सुविधाबाट नगद बोक्नुपर्ने झन्झट, हराउने, चोरी हुने जोखिमबाट बच्न सकिन्छ । ग्रामीण क्षेत्रमा भने मोबाइल बैंकिङ र क्यूआर कोडको प्रयोग बढी देखिन्छ । यद्यपि, मोबाइल बैंकिङलाई अझै समस्यारहित र चुस्त बनाउन प्रयोगकर्ताहरू सुझाउँछन् ।

नेपालमा डिजिटल बैंकिङको सुरुवात सन् १९९३ तिर भएको बताइन्छ । यस्तै, इन्टरनेट बैंकिङको थालनी सन् २००२ मा भएको हो । सन् २००३ मा भिसा डेबिट कार्ड र २००४ देखि मोबाइल बैंकिङ सुरु भएको पाइन्छ  ।

प्रतिक्रिया