सिन्धुली, – जिल्ला सहकारी संघ लिमिटेड सिन्धुलीको ३१ औं बार्षिक साधारण सभा तथा स्थापना दिवस सिन्धुलीमाढीमा मनाएको छ । जिल्ला सहकारी संघ लिमिटेड सिन्धुलीका अध्यक्ष नवराज कोइरालाको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका केन्द्रिय उपाध्यक्ष डि.बि. बस्नेतको प्रमुख आतिथ्यतामा ३१ औं साधारण सभा तथा स्थापना दिवस मनाइएको हो । कार्यक्रममा त जिल्ला सहकारी संघ सिन्धुलीले संचालन गरेको गतिविधीहरु, संस्थाको अवस्था लगायतको बिषयमा जानकारी गराइएको छ ।
सहकारी ऐन २०३१ खारेज भई नयाँ सहकारी ऐन २०४८ ले सहकारी क्षेत्रमा ब्यापक परिवर्तन भए संगै सहकारी संघ संस्था दर्ता र स्वःस्फुर्त ढंगले संचालन गर्न पाउने स्वायतता पाएको बेला नेपाल राष्ट्रिय सहकारी संघको स्थापनको लागि जिल्ला सहकारी संघहरुको गठनको आवश्यकता भएकाले सिन्धुली जिल्लामा संचालन रहेको ११ वटा सहकारी संस्थाहरुको आवेदन मार्फत २०५० साल भाद्र ९ गते सहकारी बिभागमा दर्ता भई जिल्ला सहकारी संघ स्थापना भएको थियो ।
सोहि दिनको संम्झनामा प्रत्येक भाद्र ९ गते जिल्ला सहकारी संघले स्थापना दिवस मनाउदै आइरहेको छ । कार्यक्रमको अवसरमा उत्कृष्ट सहकारी संस्था, नियमित कारोबार गर्ने सहकारी संस्था, नियमित साँवा ब्याज बुझाउने सहकारी संस्था र उत्कृष्ट ब्यवस्थापक लाई सम्मान गरिएको छ । सिन्धुली जिल्लामा दर्ता भएका ५ सय १७ सहकारी मध्ये जिल्ला सहकारी संघ सिन्धुलीमा २ सय ६७ वटा सहकारी हरु आवद्ध रहेका छन् ।