शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा रसायनिक मल कारखाना स्थापना हुने

बुधवार , श्रावण ३०, २०८१

सिन्धुली – काठमाडौं विश्वविद्यालय र सिन्धुली जिल्लाको हरिहरपुर गढी गाउँपालिकाबीच दुई लाख मेक्ट्रिक टन क्षमताको रसायनिक मल कारखाना स्थापना अध्ययनका लागि सम्झौता भएको छ । एक कार्यक्रमकाबीच केयु र गाउँपालिकाबीच प्रति वर्ष दुई लाख मेक्ट्रिक टन रसायनिक मल उत्पादन गर्ने गरी कारखाना स्थापना गर्न पूर्व सम्भाब्यता अध्ययनका लागि सम्झौता भएको पालिका अध्यक्ष बज्रध्वज वाइबाले जानकारी दिनुभयो । उहाँका अनुुसार केयु र गाउँपालिकाबीच तीन बुँदे सम्झौता भएको छ । सम्झौता पत्रमा केयुको तर्फबाट स्कुल अफ इन्जिनियरिङका डिन प्रा.डा मनिष पोखरेल र गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष बज्रध्वज वाईबाले हस्ताक्षर गर्नुभएको छ ।

हरिहरपुरगढी गाँउपालिका वडा नम्बर–३, गुर्जीमा प्रस्तावित ईलेक्ट्रोलाईसिस प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापनाको लागी पुर्व सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरिने बताइएको छ । हरिहरपुर गढी गाउँपालिकामा रसायनिक मल कारखाना स्थापनाका लागि अति आवश्यक पार्ने कच्चा पदार्थहरु (हाईड्रोजन, नाइट्रोजन र कार्बन डाई अक्साइड) को उपलब्धताका विषयमा केयुले अध्ययन गर्नेछ ।

अध्ययन प्रतिवेदन केयु र गाउँपालिकाले संयुक्त रुपमा लगानी बोर्डमा प्रस्तुत गर्ने केयुको एकेडेमिया इन्डस्ट्री कोअपरेसनका संयोजक डा. राम लामाले जानकारी दिनुभयो । हरिहरपुर गढी गाउँपालिकामा स्थापना हुने मल कारखानामा थाइल्याण्डको एक निजी कम्पनीले लगानी गर्ने बताइएको छ ।

एकेडेमिया इन्डस्ट्री कोअपरेसनको समन्वयमा भएको सम्झौता कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे, सांसद सुष्पा भुजेल, केयुका उपकुलपति प्रा.डा. भोला थापा, रजिष्टार प्रा.डा अच्युत वाग्ले, स्कुल अफ साइन्सका डिन प्रा.डा. जनार्दन लामिछाने, स्कुल अफ एजुकेशनका डिन प्रा.डा. बालकृष्ण लुईटेल, इन्जिनियर लक्ष्मण लामा लगायत केयु र गाउँपालिकाका पदाधिकारीहरु सहभागि हुनुभएको थियो ।

सम्झौता कार्यक्रममा उपकुलपति प्रा.डा. थापाले विश्वविद्यालयले उच्च प्राथमिकता साथ यो सम्झौतालाई लिएको बताउनुभयो । साथै उहाँले विश्वविद्यालयले नयाँ–नयाँ खोज, अनुसन्धान र अध्ययन गर्दै जाने समेत बताउनुभयो ।

राजेन्द्र पाण्डे मुख्यमन्त्री हुँदा बागमती प्रदेश सरकारले हरिहरपुर गढी गाउँपालिकामा रसायनिक मल कारखाना स्थापना गर्ने निर्णय समेत गरिसकेको छ ।

प्रतिक्रिया