सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका–८ मा पर्ने करकरेमा अहिले भुइँकटहरले ढाकेका छन् । स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । यो गाउँका किसानका लागि भुइँकटहर आम्दानीको बलियो स्रोत बनेको छ ।
करकरेका अनिता खडकाले करिब दश कठ्ठा जग्गामामा भुइँकटहर लगाउनुभएको छ । गत वर्ष खर्च कटाएर रु दुई लाख आम्दानी गर्नुभएका उहाँले यस वर्ष राम्रो भएकाले रु तीन लाख बढी आम्दानी हुने बताउनुभयो । “गत वर्षभन्दा यस वर्ष राम्रो भुइँकटर फलेको छ, भाउ पनि राम्रो छ, यसपालि आम्दानी बढ्ने देखिएको छ”, उहाँले भन्नुभयो ।
भुइँकटरलाई वर्षमा एकपटक मात्र गोडमेल गरे पनि राम्रो आम्दानी लिन सकिने उहाँको अनुभव छ । रेखदेख राम्रो गरे फल पनि राम्रो लाग्ने उहाँले बताउनुभयो । अन्य बाली लगाउँदा खासै केही नहुने पहाडी पाखोमा भुइँकटर आम्दानीको बलियो स्रोत बनेको उहाँले बताउनुभयो । “यस पाखोमा अरु लगाएर खासै केही हुँदैनथ्यो, भुइँकटहरले राम्रो आम्दानी दिएको छ, माग पनि राम्रो छ”, खडकाले भन्नुभयो ।
अहिले भुइँकटर प्रतिगोटा रु ५५ देखि रु एक सयसम्ममा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । भुइँकटर लिन व्यापारीहरू गाउँमै आउने गरेको उहाँले बताउनुभयो । उहाँले उत्पादित कटहर विपि राजमार्गको छेउमा बसेर विक्री गर्नुहुन्छ । “विक्री हुदैन भन्ने चिन्ता हुन्न । राजमार्ग नजिकै छ । राजमार्ग छेउमा बसेर कटहर बेच्ने गर्दछु । विपि राजमार्ग हुदैँ यात्रा गर्ने यात्रुले भुइँकटहर धेरै नै मन पराउछन् । एक दिनमै पाँच सय बढी कटहर बेचेको छु ,” उहाँले भन्नुभयो ।
बिपि राजमार्ग निर्माण भएपछि उत्पादन भएको भुइँकटर जिल्ला बाहिरका व्यापारीले गाउँमै आएर खरिद गरी लैजाने गरेको उहाँले बताउनुभयो । तामाङले यसको बिक्रीबाट आउने आम्दानीले घरखर्च चलाउन सहज हुने जानकारी दिनुहुन्छ ।
धान, मकै खेति गर्दा रासायनिक मलको अभाव र विभिन्न रोगले हैरानी व्यहोरेका यहाँका किसान पछिल्लो समय भुइँकटर खेतीमा आकर्षित भएका छन् । अन्य बालीहरूको तुलनामा कटहर खेती गर्न झन्झट नहुने र आम्दानी पनि राम्रो हुने भएकाले यता किसान आकर्षित भएका हुन् । करकरेमा २० बिघामा भुइँकटहर खेती गरिएको छ । १५ बिघाबाट फल प्राप्त भइरहेको छ । आगामी वर्ष ३० बिघामा विस्तार गर्ने लक्ष्य रहेको कमला भुइँकटहर उत्पादन कृषि सहकारी संस्थाले जनाएको छ । कम लगानी, कम परिश्रमबाट गरिएको भुइँकटहर खेतीबाट मनग्ये आम्दानी हुन थालेपछि अघिल्ला बर्षहरूमा थोरै जमिनमा विरुवा रोपेका किसानले खेतीपातीबाट निराश बनेका अन्य किसानहरूको बाँझो जमिन भाडामा खोजेर कटहर खेती विस्तार गर्न थालेका छन् । वडा नम्बर ८ को करकरे, तिनतले, पाँथीपरान, हर्दिया, सिस्नेरी, बागमारामा बिशेष गरि भुइँकटर उत्पादन हुँदै आएको छ ।
कृषि उत्पादनलाई प्रवद्र्धन गरी उत्पादनको व्यावसायीकरणतर्फ कमलामाई नगरपालिकाले जोड दिएको छ । नगरका १४ वटै वडामा ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन भएको छ । कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम संचालन गरिएकोे हो । सोही कार्यक्रमअन्तर्गत वडा नम्बर–८ र १ नम्बर वडालाई आर्थिक वर्ष २०७६/०७७ मा ‘भुँइकटहर पकेट क्षेत्र’ घोषण गरिएको कृषि शाखाले जनाएको छ । यस क्षेत्रलाई केही बर्षभित्रै भुइँकटहर पकेट क्षेत्रबाट ब्लकमा लैजाने लक्ष्य रहेको जनाइएको छ ।