सिन्धुली – सिन्धुलीका ग्रामिण क्षेत्रमा लाग्ने हाटबजारका कारण स्थानीय उत्पादन विक्री गर्न सहज हुने गरेको छ । ग्रामिण क्षेत्रका साना किसानहरुले उत्पादन गर्ने गरेका तरकारी, फलफुल तथा विभिन्न कृषि उत्पादनलाई विक्री गर्न सहज हुने गरेको हो ।
साताका सात दिन मध्ये फरक फरक बारमा फरक फरक स्थानमा लाग्ने हाटबजारमा किनमेल गर्न आउने ग्राहकहरुले स्थानीय कृषि उत्पादन खरिद गर्दा किसानहरुलाई बजार खोज्दै शहर धाउनु पर्ने बाध्यताको समेत अन्त्य भएको किसानहरु बताउँछन् ।
जिल्लाको गोलन्जोर गाँउपालिका–७ निवासी कुमारी खड्काका अनुसार उहाँले प्रत्येक हप्ताको आईतबार खुर्कोट बसपार्कमा लाग्ने आईतबारे हाटबजारमा स्थानीय कृषि उत्पादनलाई लगेर विक्री गर्ने गरेको बताउँनु हुन्छ
।
उक्त हाटबजारका कारण आफ्नो करेसाबारी तथा खोरगोठमा उत्पादन भएको तरकारी र खसी, बोका, कुखुरा बिक्री गर्न आफुलाई सजिलो भएको उहाँले सुनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘आफ्नो उत्पादन बिक्री गर्दा हुने आम्दानीले आवश्यकता अनुसार नुन, तेल, जिरा तथा अन्य दैनिक उपभोग्य बस्तु खरिद गरेर फर्किन्छु ।’
“गाँउ घरमा धेरै बिक्दैन, हाटबजारमा ल्याउन बिक्री गर्न समस्या हुदैन,” उहाँले भन्नुभयो, “त्यसैले प्राय प्रत्येक हप्ता हाटबजार आउने गरेको छु । हाटबजार साथिभाई भेटघाट गर्ने थलो पनि भएको छ ।” आफुले उक्त हाटबजारमा ल्याएर आफ्नो उत्पादन बिक्री गर्न थालेको पाँच बर्षभन्दा बढी भएको उहाँले जानकारी दिनुभयो ।
हाटबजारमा ग्रामीण किसानले सानो परिमाणमा बिक्री ल्याउने सागसब्जी तथा खाद्यान्न अर्गानिक हुने भएकाले उपभोक्ता पनि उनीहरुको उत्पादन खरिद गर्न आकर्षित हुने गरेको पाईन्छ ।
त्यस्तै तीनपाटन गाँउपालिकाको केन्द्र चकमके बजारमा पनि प्रत्येक हप्ताको शुक्रबार हाटबजार लाग्दै आएको छ । उद्योग बाणिज्य सङघ चकमके शाखाका निबर्तमान् अध्यक्ष आनन्द कार्कीका अनुसार उक्त बजारमा २०५२ सालदेखि उक्त हाटबजार लाग्न सुरु गरेको हो ।
जिल्लाका विभिन्न ठाँउमा हप्ताको विभिन्न दिन (बार) लाग्ने त्यस्ता हाटबजार उत्पादक र उपभोक्तालाई जोड्ने माध्यम पनि बनेको उहाँको बुझाई छ । निबर्तमान् अध्यक्ष कार्कीले भन्नुभयो, “बजार अभावमा किसानको उत्पादन गाँउघरमा कमै मात्रामा बिक्री हुन्छ । उनीहरुलाई आफ्नो उत्पादन बिक्री गर्न हाटबजारमा ल्याउदा सजिलो हुदै पनि आएको छ ।”
अ
ाफूले उत्पादन गरेको तरकारी, फलफुल, दलहन बाली बिक्री गरेर घरखर्च जुटाउनका साथै सँगैका पुराना दौतरीसँग भेटेर भलाकुसारी गर्न पनि हाटबजार माध्यम बनेको स्थानीयवासीको टिप्पणी छ ।
कमलामाई नगरपालिका–१४ चन्दनपुरमा पनि बुधबार हाटबजार लाग्न भर्खरै सुरु भएको छ । चन्दनपुर बजार व्यवस्थापन समितिको सक्रियतामा माघ २ गतेदेखि उक्त हाटबजार लाग्न सुरु भएको स्थानीय बासिन्दा बताउछन् । उक्त बजार व्यवस्थापन समितिका अध्यक्ष झल्ला अधिकारी दनुवार आ–आफ्नो रुचि र स्वाद अनुसारका वस्तु किनबेच र विनिमय गर्न पाइने भएकाले यस्ता हाटबजार उत्पादक र उपभोक्तालाई प्रत्यक्ष जोड्ने माध्यमका बनेको बताउनुहुन्छ ।
चन्दनपुरमा प्राय दनुवार समुदायका मानिसको बाहुल्यता रहेको र दनुवार समुदायका मानिससँग मान्द्रो, डालो र नाङलो बुन्ने सिप भएकाले उक्त हाटबजारले उनीहरुको सिपलाई प्रबद्र्धन गर्न सहयोग पुग्ने उहाँको भनाई छ ।
उता सिन्धुलीमाढीमा शनिवार र बुधबार सातामा दुई दिन हाटबजार संचालन हुँदा आफ्नो बारीमा उत्पादन भएको कृषि सामाग्रीलाई विक्री गर्न सहज भएको कमलामाई नगरपालिका ५ का किसान टोपबहादुर घिसिङ बताउँनु हुन्छ । उनको बारीमा उत्पादन भएको फर्सीको मुन्टा, फर्सी, कांक्रो, करेला, बोडी लगायतका कृषि सामाग्री बजारमा सहज विक्री हुने गरेको छ ।
पहिला पहिला तरकारी बेच्न बजारमा ग्राहक खोज्दै हिड्नु पर्ने बाध्यता हाटबजारले हटाई दिएको कमलामाई ३ चपौलीका किसान जिवन नेपालीले बताउँनु भयो ।
आफ्नो एक रोपनीमा लगाएको अदुवा विक्रीका लागि शनिवारको हाटमा राख्दा मिनेटभरमै विक्री भएको उहाँले सुनाउँनु भयो । स्थानीय हाट बजारमा स्थानीय कृषकहरुको उत्पादन खरिद गर्न जाने उपभोक्ताहरुले ताजा र अर्गानिक तरकारी तथा फलफुल उपभोग गर्ने अवसर समेत पाएका छन् भने कृषकहरुले आफ्नो मुल्यमा विक्री गर्न समेत पाएका छन् ।