शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा भुइँकटहर खेतीमा किसान आकर्षित

शुक्रवार , श्रावण ४, २०८१

सिन्धुली – भुइँकटहर खेतीबाट मनग्ये कमाई हुन सक्छ भन्ने उदाहरण कमलामाई नगरपालिका ८ करकरेका किसानले देखाएका छन् । करकरेका किसान र स्थानीय व्यापारीलाई यतिबेला भुइँकटहर बेच्ने हतारो छ । पाकिसकेको भुइँकटहर जंगली जनावरले सखापै बनाउन लागेकाले बिक्री गर्न हतारिएको किसान बताउँछन् । बेच्ने बेला भएको कटहर विषेशगरी दुम्सी र न्याउरी मुसाबाट जोगाउन नसकिएको किसान सन्तोष तामाङले गुनासो गर्नुभयो ।

उहाँले मकै र कोदो लगाउँदै आएको झण्डै नौँ कठ्ठामा कटहर खेती गर्नुभएको छ । “अन्नबाली लगायो लगानी नै नउठ्ने, दुःख बढी हुने । त्यसैले कटहर रोपे अहिले राम्रो आम्दानी भइरहेको छ । कटहर खेती धान, मकै, कोदो जस्तो खर्चिलो बाली होइन रहेछ, रासायनिक मल हालिरहनु नपर्ने, दुःख पनि धेरै हुने,” उहाँले बताउनुभयो । उहाँले उत्पादित कटहर विपि राजमार्गको छेउमा बसेर विक्री गर्नुहुन्छ । “विक्री हुदैन भन्ने चिन्ता हुन्न । राजमार्ग नजिकै छ । राजमार्ग छेउमा बसेर कटहर बेच्ने गर्दछु । विपि राजमार्ग हुदैँ यात्रा गर्ने यात्रुले भुइँकटहर धेरै नै मन पराउछन् । एक दिनमै पाँच सय बढी कटहर बेचेको छु ,” उहाँले भन्नुभयो । आफूले लगाएको बाली आफैँले बेच्दा अझ राम्रो आम्दानी लिन सकिने उहाँको अनुभव छ । “किन्नेले दलाली गर्छन् धेरै, म बेच्न जान्दिनँ, घरमा किन्न आउने स्थानीय व्यापारीलाई अलि सस्तो मूल्यमा दिन्छु,” उहाँले भन्नुभयो, ‘प्रतिगोटा ४०–५० रुपैयाँमा मैले दिन्छु, उनीहरू १०० रुयैयाँसम्ममा बेच्दा रहेछन् ।”

यहाँका किसान र व्यापारीले किन्ने, बेच्ने भुइँकटहरको दररेटमा एकरूपता छैन । मनलाग्दी हिसाबले किनबेच भएको पाइन्छ । यस्तो अवस्थामा उपभोक्ता बढी ठगीमा पर्नेे जनगुनासो छ । २० वर्षअघि बारीको काँल्लामा आफूलाई खान मात्र रोप्नुभएको मन बहादुर कार्कीले अहिले धान, कोदो र मकै लगाउने १३ कठ्ठामा व्यावसायिक भुइँकटहर खेती गर्नु भएको छ । अघिल्लो वर्षको तुलनामा कटहर बढी उत्पादनको भयो । तर, यस वर्ष कम बिक्री भएको उहाँले बताउनुभयो । उहाँ आफ्नो जग्गामा उत्पादन भएको कटहर मात्र होइन, अरूले उत्पादन गरेको कटहर पनि कम मूल्यमा किनेर बेच्नु हुन्छ । करकरेस्थित सडक छेउमा कटहर बेच्न बस्नु भएको कार्कीले भन्नुभयो, “भुइँकटहरको त्यति राम्रो बजार छैन । अस्ति काटेर बेच्न राखेको बिक्री नभएर कुहिन थालिसक्यो । हिजो दुई डोका फाले खानै नहुने गरी कालो भएर, बिक्री गर्ने ठाउँ पनि भएन ।” अझै ५० डोका बिक्री गर्न बाँकी रहेको उहाँले बताउनुभयो । यहाँका किसान बिचौलीयादेखि सजक छन् । सस्तोमा दलालीलाई नबेच्ने भएकाले कहिलेकाँही बिक्री गर्न समस्या आउने उहाँको भनाइ छ । बजार व्यवस्थापन राम्रो भए कटहरमा आम्दानी असाध्यै राम्रो रहेको उहाँले बताउनुभयो ।

धान, मकै खेति गर्दा रासायनिक मलको अभाव र विभिन्न रोगले हैरानी व्यहोरेका यहाँका किसान पछिल्लो समय भुइँकटर खेतीमा आकर्षित भएका छन् । अन्य बालीहरूको तुलनामा कटहर खेती गर्न झन्झट नहुने र आम्दानी पनि राम्रो हुने भएकाले यता किसान आकर्षित भएका हुन् । करकरेमा २० बिघामा भुइँकटहर खेती गरिएको छ । १५ बिघाबाट फल प्राप्त भइरहेको छ । आगामी वर्ष ३० बिघामा विस्तार गर्ने लक्ष्य रहेको कमला भुइँकटहर उत्पादन कृषि सहकारी संस्थाले जनाएको छ । कम लगानी, कम परिश्रमबाट गरिएको भुइँकटहर खेतीबाट मनग्ये आम्दानी हुन थालेपछि अघिल्ला बर्षहरूमा थोरै जमिनमा विरुवा रोपेका किसानले खेतीपातीबाट निराश बनेका अन्य किसानहरूको बाँझो जमिन भाडामा खोजेर कटहर खेती विस्तार गर्न थालेका छन् । वडा नम्बर ८ को करकरे, तिनतले, पाँथीपरान, हर्दिया, सिस्नेरी, बागमारामा बिशेष गरि भुइँकटर उत्पादन हुँदै आएको छ ।

कृषि उत्पादनलाई प्रवद्र्धन गरी उत्पादनको व्यावसायीकरणतर्फ कमलामाई नगरपालिकाले जोड दिएको छ । नगरका १४ वटै वडामा ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन भएको छ । कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम संचालन गरिएकोे हो । सोही कार्यक्रमअन्तर्गत वडा नम्बर–८ र १ नम्बर वडालाई आर्थिक वर्ष २०७६/०७७ मा ‘भुँइकटहर पकेट क्षेत्र’ घोषण गरिएको कृषि शाखाले जनाएको छ । यस क्षेत्रलाई केही बर्षभित्रै भुइँकटहर पकेट क्षेत्रबाट ब्लकमा लैजाने लक्ष्य रहेको जनाइएको छ ।

प्रतिक्रिया