शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीका ग्रामीण क्षेत्रका हाटबजारमा स्थानीय उत्पादन विक्री हुँदै

बिहिवार , आषाढ २८, २०८१

सिन्धुली ,२७ असार – गोलन्जोर गाँउपालिका–७ निवासी कुमारी खड्का प्रत्येक हप्ताको आईतबार खुर्कोट बसपार्कमा लाग्ने आईतबारे हाटबजारमा आउनु हुन्छ । उक्त हाटबजारका कारण आफ्नो करेसाबारी तथा खोरगोठमा उत्पादन भएको तरकारी र खसी, बोका, कुखुरा बिक्रि गर्न आफुलाई सजिलो भएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो उत्पादन बिक्रि गर्दा हुने आम्दानीले आवश्यकता अनुसार नुन, तेल, जिरा तथा अन्य दैनिक उपभोग्य बस्तु खरिद गरेर फर्किन्छु ।”

“गाँउ घरमा धेरै बिक्दैन, हाटबजारमा ल्याउन बिक्रि गर्न समस्या हुदैन,” उहाँले भन्नुभयो, “त्यसैले प्राय प्रत्येक हप्ता हाटबजार आउने गरेको छु । हाटबजार साथिभाई भेटघाट गर्ने थलो पनि भएको छ ।” आफुले उक्त हाटबजारमा ल्याएर आफ्नो उत्पादन बिक्रि गर्न थालेको पाँच बर्षभन्दा बढी भएको उहाँले जानकारी दिनुभयो ।

हाटबजारमा ग्रामीण किसानले सानो परिमाणमा बिक्री ल्याउने सागसब्जी तथा खाद्यान्न अर्गानिक हुने भएकाले उपभोक्ता पनि उनीहरुको उत्पादन खरिद गर्न आकर्षित हुने गरेको पाईन्छ ।

त्यस्तै तीनपाटन गाँउपालिकाको केन्द्र चकमके बजारमा पनि प्रत्येक हप्ताको शुक्रबार हाटबजार लाग्दै आएको छ । उद्योग बाणिज्य सङघ चकमके शाखाका निबर्तमान् अध्यक्ष आनन्द कार्कीका अनुसार उक्त बजारमा २०५२ सालदेखि उक्त हाटबजार लाग्न सुरु गरेको हो ।

जिल्लाका विभिन्न ठाँउमा हप्ताको विभिन्न दिन (बार) लाग्ने त्यस्ता हाटबजार उत्पादक र उपभोक्तालाई जोड्ने माध्यम पनि बनेको उहाँको बुझाई छ । निबर्तमान् अध्यक्ष कार्कीले भन्नुभयो, “बजार अभावमा किसानको उत्पादन गाँउघरमा कमै मात्रामा बिक्री हुन्छ । उनीहरुलाई आफ्नो उत्पादन बिक्रि गर्न हाटबजारमा ल्याउदा सजिलो हुदै पनि आएको छ ।”

आफूले उत्पादन गरेको तरकारी, फलफुल, दलहन बाली बिक्री गरेर घरखर्च जुटाउनका साथै सँगैका पुराना दौतरीसँग भेटेर भलाकुसारी गर्न पनि हाटबजार माध्यम बनेको स्थानीयवासीको टिप्पणी छ ।

कमलामाई नगरपालिका–१४ चन्दनपुरमा पनि बुधबार हाटबजार लाग्न भर्खरै सुरु भएको छ । चन्दनपुर बजार व्यवस्थापन समितिको सक्रियतामा माघ २ गतेदेखि उक्त हाटबजार लाग्न सुरु भएको स्थानीय बासिन्दा बताउछन् । उक्त बजार व्यवस्थापन समितिका अध्यक्ष झल्ला अधिकारी दनुवार आ–आफ्नो रुचि र स्वाद अनुसारका वस्तु किनबेच र विनिमय गर्न पाइने भएकाले यस्ता हाटबजार उत्पादक र उपभोक्तालाई प्रत्यक्ष जोड्ने माध्यमका बनेको बताउनुहुन्छ ।

चन्दनपुरमा प्राय दनुवार समुदायका मानिसको बाहुल्यता रहेको र दनुवार समुदायका मानिससँग मान्द्रो, डालो र नाङलो बुन्ने सिप भएकाले उक्त हाटबजारले उनीहरुको सिपलाई प्रबद्र्धन गर्न सहयोग पुग्ने उहाँको भनाई छ ।

प्रतिक्रिया