शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कमलामाई किसानलाई दियो दुधको अनुदान रकम

बिहिवार , आषाढ २१, २०८१

सिन्धुली – कमलामाई–३ चपौलीका किसानलाई बुधवार दुधको अनुदान रकम वितरण गरिएको छ । कमलामाई नगरपालिकाले १ सय ५० किसानलाई दुधको अनुदान रकम वितरण गरेको हो । वडा नं. ३ को तारुफेदी, कार्कीटोल, निगाले, देवकोटा चोक र स्कुल चोक दूध संकलन केन्द्रमा दूध उत्पादन गरि विक्री गरेका कृषकहरुलाई प्रति लिटर ३ रुपैयाँका दरले बैंकिंग प्रणाली मार्फत कृषकलाई अनुदान रकहस्तान्तरण गरिएको जनाइएको छ ।

सघीय सरकारबाट आर्थिक वर्ष २०८०/०८१ को हस्तान्तरित गाई तथा भैँसी प्रवद्र्वन कार्यक्रम अन्तर्गत सिन्धुलीगढी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा आबद्ध किसानहरूलाई कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेलले प्रति लिटर तीन रुपैयाँ दरले ७ लाख १२ हजार ८ सय १८ रुपैयाँको अनुदान बितरण गर्नुभयो ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर पोखरेलले नगरपालिकाले उत्पादनको आधारमा अनुदान कार्यक्रम दिने र कृषकहरूलाई उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । उहाँले कमलामाई नगरपालिका ३ चपौली विशेष गरी पशुपालन दुध उत्पादन र सँगसँगै तरकारी खेती फलफूल खेतीको अनुकूल वातावरण भएकोले कृषकहरूले यस तर्फ ध्यान दिन र स्थानीय सरकारले जुन कुनै प्रकारको सहयोगको लागि तयार रहेको बताउनुभयो ।

आधुनिक गाई भैंसी पालन र दुध संकलन केन्द्र व्यवस्थापनलाई आगामी दिनमा नगरपालिकाले समन्वय सहकार्य गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।उहाँले भन्नुभयो, “वास्तवमै बिहानको बिहानै र बेलुकाको बेलुकै दुध विक्रीले कृषकहरूमा उत्साह र दैनिक अर्थ सँग जोडिएर पेशा व्यवसाय गर्दा अन्य व्यवसाय भन्दा फरक हुने हुनाले ढुक्क भएर दूध उत्पादन तर्फ उन्मुख हुनुहोला । दुध उत्पादन, संकलन केन्द्र, दुध ढुवानी, बिक्री लगायतको उत्पादन र उपभोग सम्मको श्रृङखला लाई स्वच्छ , पारदर्शी र व्यवस्थित बनाउन कृषक , सहकारी, डेरी ले जोड दिन र आवश्यक परेको बखतमा स्थानीय सरकार सदैव हर प्रकारको सहकार्य, समन्वय गर्न तयार छ ।”

त्यसैगरी वडा अध्यक्ष खड्ग प्रसाद चौलागाईले दुग्ध उत्पादक सहकारी मार्फत प्राप्त अनुदान रकमलाई प्रोत्साहनको रूपमा लिई आगामी दिनमा अझ बढी दूध उत्पादनमा जोड दिन अनुरोध गर्दै दुग्ध क्षेत्रमा विशेष योजना बनाउने बताउनुभयो ।

सिन्धुलीगढी दुग्ध उत्पादन सहकारीले तारु फेदी, कार्की टोल, निगाले , देवकोटा चोक र स्कुल चोक लगायत ५ वटा दुग्ध संकलन केन्द्रबाट दैनिक दुध संकल भइरहेको सहकारीका अध्यक्ष बलराम अधिकारीले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष बलराम अधिकारीले उन्नत पशुपालन तथा दुग्ध व्यवसायको माध्यमवाट ग्रामीण जनताको आयस्तर उकास्न मद्दत पु¥याउने उदेश्यले दुग्ध उत्पादक सहकारी संस्थाले कमलामाई नगरपालिका –३ चपौलीको साविक जलकन्या गाविसको सम्पुर्ण वडामा दूध उत्पादन तथा दुग्ध क्षेत्रसंग सम्बन्धित काम गर्दै आएको बताउनुभयो ।

 

प्रतिक्रिया