सिन्धुली – मरिण गाउँपालिका आगामी बजेटमा कृषिलाई प्रमुख प्राथमिकतामा राखेको बताएको छ । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले आगामी बजेटमा कृषिलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको हो ।
उहाँले कृषि कार्यक्रम लक्षित बजेट ल्याउने तयारीमा पालिका जुटेको बताउनुभयो । “पालिकाले कृषिलाई विशेष प्राथमिकतामा राखेर आगामी वर्षको नीति कार्यक्रम तथा बजेट बनाउन लागेको छ ,” उहाँले भन्नुभयो । जिल्लाको अन्य पालिकाको तुलनामा मरिण गाउँपालिका कृषि उत्पादनको हिसाबले राम्रो रहेको उहाँले बताउनुभयो । “मरिणमा कृषियोग्य जमिन प्रशस्त छ । सिन्धुली जिल्लामा बढी धान र मकै उत्पादन हुने पालिका भनेर मरिण परिचित छ । त्यसैले हामीले कृषिलाई प्रमुख प्राथमिकतामा राखिरहेका छौँ ” उहाँले भन्नुभयो । उहाँले आगामी बजेट सिचाईमा र कृषिमा केन्द्रित बताउनुभयो । विदेशमा भएका युवा जनशक्ति पनि अब गाउँ फर्किने भएकाले कृषिमा आत्मनिर्भर हुने गरी नीति तथा कार्यक्रम बनाइने र कृषिमा अनुदानको व्यवस्था गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार भकारो सुधार, सिँचाइमा अनुदान, फलफूलका बिरुवा वितरणलगायत पनि गाउँपालिकाको प्राथमिकतामा रहेको छ ।
विदेशमा रहेका युवाहरुलाई आफ्नै गाउँ फर्किन आह्वान गर्दै उहाँले विदेशबाट फर्किएका युवालाई कृषिमा आकर्षित गर्न गाउँपालिका तयार रहेको बताउनुभयो । कृषकले उत्पादन गरेका कृषि उपज सामग्री बिक्रीका लागि गाउँपालिकाले सहजीकरण गरिदिने र त्यसका लागि प्रत्येक वडामा कृषि उपज सङ्कलन केन्द्र निर्माण गरिने अध्यक्ष मोक्तान बताउनुहुन्छ । “आलु, गोलभेंडा, प्याजमा गाउँपालिका आत्मनिर्भर छैन । सबै बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । यस अवस्थाको अन्त्य गर्नुपर्छ,” उहाँले भन्नुभयो । पालिकालाई कृषिमा आत्मनिर्भर बनाउन गाउँपालिकाले चालू आर्थिक वर्षदेखि नै विभिन्न अनुदान साथै तालिम समेत दिएको थियो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कृषिलाई प्राथमिकता दिने गरी बजेट निर्माण गर्ने खबरले यहाँका कृषक खुसी भएका छन् । मरिण गाउँपालिका ७ का तरकारी कृषक मंगल बहादुर लामाले कृषकलाई प्रोत्साहन हुने गरी पालिकाले कृषि लक्षित बजेट निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । तरकारी खेतीमा आबद्ध लामाले कृषकले उत्पादन गरेका तरकारी उपज बिक्री वितरणको वातावरण तयार गर्न स्थानीय सरकारसँग माग गर्नुभयो । वैदेशिक रोजगारीबाट फर्किएर लामाले चार वर्ष देखि तरकारी खेती गर्दै आउनुभएको छ । गाउँपालिकाले कृषिमा अनुदानको व्यवस्था गरेपछि यहाँका कृषक जग्गा बाँझो नराख्ने अभियानमा सहभागी भएका छन् । तरकारी खेतीमा अनुदान दिने व्यवस्था भएपछि यहाँका कृषकले बाँझो रहेका जग्गामा तरकारी खेती सुरु गरेको स्थानीय सन्तोष माझीले बताउनुभयो । उहाँले साढे दुइ रोपनी क्षेत्रफलमा तरकारी खेती सुरु गर्नुभएको छ । “कृषकलाई प्रोत्साहित गर्ने नीतिले कृषि पेसामा लाग्ने प्रेरणा मिलेको छ,” उहाँले भन्नुभयो ।
गाउँपालिका आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणमा जुटेको छ । संघीय र प्रदेश सरकारले बजेट प्रस्तुत गरेपछि स्थानीय तहले पनि बजेट ल्याउनुपर्ने प्रावधानअनुसार स्थानिय तह बजेटको अन्तिम तयारीमा जुटेका हुन् । स्थानीय तहले पनि असार १० गतेभित्र नगर तथा गाउँसभामार्फत् आगामी वर्षको बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ ।