सिन्धुली– सिन्धुलीको सुनकोशी गाउँपालिकाको बजेटकालागि नेकपा एमालेले सुझाव दिएको छ । नेकपा एमालेको सुनकोशी गाउँ कमिटीले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा समावेश गर्न सुनकोशी सरकारलाई सामाजिक र पर्यटन विकास, रोजगार, शिक्षा, सिचाई तथा खानेपानी, कृषि तथा पशुपंक्षी, वन वातावरण तथा विपद नियन्त्रण, स्वास्थ्य, भौतिक पुर्वाधार, खेलकुद र सुशासनको विषयमा बँुदागत सझाव दिएको हो ।
बिहिबार एमालेको सुनकोशी गाउँपालिका कमिटिले गाउँपालिकाको कार्यालयमै पुगेर अध्यक्ष दिपा बोहोरा, उपाध्यक्ष कपिल कोइराला, प्रमुख प्रशासकिय अधिकृत अजुर्न दर्जि लगायतलाई भेटेरै बजेट निर्माणमा आफूले उठाएका कार्यक्रमहरु बजेटमा समावेश गर्न ध्यानाकर्षण गराएको छ ।
सुझावसँगै आलोचना
एमालेको सुनकोशी गाउँ कमिटिले सुझावसँगै गाउँपालिकाको गतिविधिप्रति आलोचना गरेको छ । सुनकोशी क्षेत्रभित्र रहेका साधन श्रोतको अधिकतम उपयोगमा गाउँपालिका चुकेको एमालेको आरोप छ । गाउँपालिकामा योजना निर्माणमा बेतिथि तथा बेनियम देखिएको गाउँ कमिटिका अध्यक्ष गोरख खड्काले बताउनुभयो । बजेट निर्माणका क्रममा योजना तर्जुमाका चरणहरु कार्यान्वयन नगरेको खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही वडा र टोलमा छलफल भएको छैन । हचुवाका भरमा जनसहभागिता नगराई वडा पालीकाहरुले बजेटका योजना छनौटका कामहरु गरेको छ ।’
त्यस्तै, गाउँपालिकाभित्र रहेका केहि कर्मचारी बेकामे भएको भन्दै एमालेले ध्यानाकर्षण गराएको छ । अभिभावकको जनसहभागिता नगराई हचुवामा विद्यालयको व्यवस्थापन समिति निर्माण गरिएको, पालिकाबाट रकम विनियोजित गरी संचालन गरिएका गौरवका आयोजनाहरु अलपत्र अवस्थामा रहेको र पालिकाबाट बाँडिने पाईप, कृषि विउ विजन तथा हाते औजा हरु समेत गुणस्तरहिन रहेको भन्दै एमालेले विरोध गरेको छ । कृषकहरु जनावरसँगै पर्याप्त श्रोत, साधनको अभावका कारण ग्रसित अवस्थमा रहेको ध्यानकर्षण पत्रमा उल्लेख छ । गाउँपालिकाको बजेटमा समावेश भएका कार्यक्रमहरु कागजमा मात्रै सिमित रहेकोले बजेट कार्यान्वयनमा सुनकोशी सरकार गम्भिर हुनुपर्ने सुझाव दिइएको छ ।
एमालेको सुनकोशी गाउँ कमिटिले सामाजिक र पर्यटन विकासकालागि १६ बुदेँ सुझाव दिएको छ । गाउँपालिकाको प्रोफाईल बनाई गुरुयोजना सहित योजनाहरु बनाउने, सामुदायिक विद्यालयमा वार्षिक रुपमा निःशुल्क पोशाक वितरण गर्ने, एमबिबिएस अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्न बजेटको व्यवस्थापन गर्ने, गर्भवती उद्धार कार्यक्रम अन्तरगत प्रसुतीजन्य जटिलता तथा विपतका घटनामा परेका नागरिकलाई निःशुल्क एम्बुलेन्स र प्राथमिक उपचारको व्यवस्थापन गर्ने, जेष्ठ नागरिक स्याहार केन्द्र स्थापना गर्ने , विभिन्न धर्म सामुदायको लागी उपयुक्त स्थान घाटको व्यवस्थापन गर्ने, पालिका भित्रका जात्रा, पर्व, मेला र धार्मिक पर्यटनको व्यवस्थापन गर्ने लगायत विविध कार्यक्रमहरु संचालन गर्न एमालेले सुझाव दिएको छ । त्यस्तै, सामाजिक विकाश र पर्यटन शिर्षक अन्तर्गत कुशेश्वर महादेव स्थान देखी मरिण ड्राइभरसन सम्म जल मार्गको विकाश गर्ने, आगलागी, डढेलो नियन्त्रणको लागि स्प्रे ट्याङकर सहितको ट्ररÞ्याक्टरको व्यवस्थापन गरि पालीकामा तयार अवस्थामा राख्ने, स्थानीय बाजा तथा कला संस्कृतीको संरक्षण गर्ने र प्रत्येक वडामा व्यवस्था गर्न ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
सुनकोशी गाउँ कमिटिले रोजगारको विषयमा प्राथमिकताका साथ सुझाव दिएको छ । पालिकामा वेरोजगार युवालाई लक्षित गरी युवा रोजगार ऋण बैंक स्थापना गर्ने र पालिका बाट श्रममा लगाउने, एक घर एक रोजगारी बनाउन उचित व्यवस्थापन गर्ने, विभिन्न तालिम सञ्चालन गरी उद्योग व्यवसाय सञ्चालन गर्न उचित ऋणको व्यवस्थापन गर्ने कार्यक्रम बजेटमा समावेश हुनुपर्ने एमालेको माग छ ।
शिक्षा क्षेत्रमा देखिएको बेथिति अन्त्य गर्दै शिक्षाको बृहत विकास हुनेगरि कार्यक्रम संचालन गर्नुपर्ने एमालेले ध्यानाकर्षण गराएको छ । पाठ्यक्रम अनुसारका शिक्षकका दरवन्दी तथा तालिम अनुगमन लाई प्रभावकारी बनाउने र शिक्षक लाई प्रोत्साहन गर्ने र विद्यालयको शैक्षिक क्रियाकलापको अनुगमन निरिक्षण गर्ने, विद्यालयहरु मर्जगरी आवासिय विद्यालयको अवधारणा ल्याउने, बालविकास केन्द्र, सामुदायिक केन्द्र तथा शिशु स्याहार केन्द्र ,बहिरा तथा अपांग विद्यार्थीको लागि बजेट व्यवस्था गर्न एमालेले सुझाव दिएको हो । त्यस्तै, वेद विद्याश्रम गुरुकुल शिक्षा तथा नैतिक शिक्षाका पाठ्यक्रमहरुको लागि सम्बन्धीत निकायमा
कानुनको व्यवस्था गनुनपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ । चोकचोकमा लाइबेरी व्यवस्था गर्ने, शिक्षा क्षेत्रको बजेट लाई रकमान्तर नगरी प्रत्येक विद्यालय शिक्षक लाई मासिक तलवको व्यवस्था गनुपर्ने एमालेले माग गरेको छ ।
त्यसैगरि, कृषि तथा पशुपंक्षी विकाशकालागि कृषि उपज भण्डारण गर्न सित गृह सञ्चालन गर्ने जसमा कालिमाटीमा र गणेश स्थानमा आलु जोन र दुग्ध चिस्यान केन्द्र सञ्चालन प्रत्येक वडामा गर्ने, सहकारी, लघु वित्त, बैंकहरु सँग सहकार्य गरी पालिकाले कृषि ऋण कृषि मुल्यको निरन्तर अनुगमन गर्ने कार्यक्रम संचालनमा ल्याउन एमालेले सुझाव दिएको छ । ।
त्यस्तै, बन वातावरण तथा विपद नियन्त्रण, स्वास्थ्य, भौतिक पुर्वाधार, सिचाई तथा खानेपानी, खेलकुद, सुसासन शिर्षकमा समावेश हुनुपर्ने कार्यक्रम सहितको ध्यानाकर्षण पत्रमा उल्लेख भएका विषयहरुमा गहन रुपमा लिई गाउँपालिकाको काम कार्वाही सञ्चालन गर्न एमालेले आग्रह गरेको छ ।