सिन्धुली – जिल्लामा दुई सय बढी घरेलु तथा साना उद्योग थपिएका छन् । चालु आर्थिक वर्षको ११ महिनामा जिल्लामा दुइ सय १२ वटा घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । घरेलु तथा साना उद्योग कार्यालय सिन्धुलीका प्रमुख ध्रुवप्रसाद ढकालका अनुसार गत आवमा ३ सय २४ नयाँ उद्योग थपिएका थिए तथा यस वर्ष भने गत वर्षको तुलमा कम उद्योग दर्ता भएका छन् ।
चालु आवमा दर्ता भएका उद्योग सबै प्राइभेट फर्ममा दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांकमा छ । चालु आवमा दर्ता भएका उद्योगको चालु पुँजी भने १८ करोड २३ लाख २० हजार छ । स्थिर पँुजी २२ करोड ६४ लाख ३१ हजार रहेको छ । चालु आवमा दर्ता भएका उद्योगको वार्षिक उत्पादन क्षमता ४२ करोड २८ लाख ९५ हजार रहेको छ ।
उक्त कार्यालयले चालु आवको जेष्ठ मसान्त सम्म नयाँ साना तथा घरेलु उद्योग दर्ता भएर ७४ लाख ८१ हजार ९ सय ७४,राजस्व संकलन गरेको जनाएको छ ।
नयाँ युवा पुस्ताले औपचारिक रुपमा उद्योग सञ्चालन गर्नुपर्छ भन्ने मानसिकताका कारण उद्योग दर्ता भएको प्रमुख ढकालले बताउनुभयो ।“कतिपयले ऋण लिनकै लागि उद्योग दर्ता गर्नुपर्ने बाध्यता हुन्छ । साथै, अहिले सबै स्थानीय तहमा उद्योग दर्ता गर्ने व्यवस्था छ । त्यसैले, सहज छ । घरेलु तथा साना उद्योग कार्यालयमा आइरहन पदैनन् । पाँच लाख सम्मको पँुजी राखेर संचालन गर्ने उद्योग स्थानिय तहमै दर्ता हुन्छ । त्यसैले यहाँ उद्योग दर्ता कम भएको हो,” उहाँले भन्नुभयो । हाल स्थानीय तहले पनि साना तथा घरेलु उद्योगलाई प्राथमितामा राखेको हुनाले उत्पादन भएका वस्तुकोसमेत खपत भएको भइरहेको उहाँले बताउनुभयो । समुदायस्तरमा विभिन्न तालीमसँगै कार्यक्रम सञ्चालन गरेपछि उद्यम व्यवसाय गर्ने बढेको उहाँको भनाइ छ । दर्ता भएका फर्ममध्ये कृषि तथा वनजन्य वस्तुमा आधारित सबैभन्दा बढी रहेको उहाँले बताउनुभयो ।
जिल्लामा कृषि तथा पशुपालन, पर्यटन, मौरीपालन, फलपूmलखेती तथा प्रशोधन, राडीपाखी तथा ऊन, ढाका, तयारी पोशाक, खुकुरी तथा कृषि औजार सम्बन्धी उद्योग बढी मात्रामा सञ्चालनमा छन् । कार्यालयले उद्यमशीलता विकासतर्फ ढाका बुनाइ, बाँसको फर्निचर बनाउने तालीम, हाउस वायरिङ, बेकरी, कुक, पशुपालन लगायत शीर्षकमा शीप विकास तालीम सञ्चालन गरेको छ । त्यस्तै कार्यालयले ७४ जना लघु घरेलु तथा साना उद्यमीलाई आवश्यकता र सम्भाव्यताको आधारमा हाते मिल, मिनी टिलर, ब्रस कटर, चाफ कटर, डीप फ्रिज, ग्राइन्डर मेसिन लगायत सहयोग गर्दै आएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनमा लघु, घरेलु र साना उद्योग दर्ता गर्न सकिने छ । ऐनले १५ करोड कमका स्थिर पूँजि भएका उद्योग सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । तर औद्योगिक व्यवसाय ऐनले प्रदेशले कानुन बनाएर स्थानीय तहलाई उद्योग दर्ता गर्न अनुमति दिन सकिने व्यवस्था गरेको छ । अधिकांश प्रदेशले स्थानीय तहलाई ५ लाखसम्म स्थिर पूँजि भएका उद्योग दर्ता गर्न सक्ने भनेको छ। तर कुनै–कुनै उद्योगले भने २० लाखसम्म स्थिर पूँजी भएका उद्योग दर्ता गर्ने अनुमति दिएको छ । औद्योगिक व्यवसाय ऐन अनुसार भने १० करोडभन्दा कम स्थिर पुँजि भएको उद्योग प्रदेश दर्ता गराउन सकिने व्यवस्था गरेको छ । १० करोडभन्दा बढीका उद्योग विभाग र लगानी बोर्डमा दर्ता हुन्छन् ।