सिन्धुली – नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रले दुई करोड भन्दा बढिको बक्यौता रकम उठाउन बाँकी रहेको जनाएको छ । प्राधिकरणले हाल सम्म दुई करोड १३ लाख बक्यौता रकम उठाउँन बाकि रहेको जनाएको हो । स्थापना देखि हाल सम्म विभिन्न ग्राहकहरुबाट
उक्त रकम उठाउन बाँकी रहेको नेपाल विद्युत प्राधिरण सिन्धुली वितरण केन्द्रका प्रमुख सिसिर लम्सालले जानकारी दिनु भएको छ । प्राधिकरण प्रमुख लम्सालका अनुसार सबै भन्दा बढि जिल्लामा संन्चालित बोर्डिङ स्कुलहरुबाट बक्यौता रकम उठ्न बाँकी रहेको छ । “अधिकाशं सरकारी विद्यालयको बक्यौता रकम बाँकी छ । हामीले लाइन काट्नका लागि चिठि पनि पठाएका छौँ । कतिपय विद्यालयमा लाईन काटि पनि सकेका छौँ ,” उहाँले भन्नुभयो । जिल्लामा ग्राहस्थ (घरेलु) ग्राहकबाट ६८ लाख १३ हजार रुपैया बक्यौता रकम उठाउन बाँकी रहेको छ ।
यस्तै, गैह्रग्राहस्थबाट ३ लाख ३४ हजार, व्यापारीबाट ४९ लाख, औद्योगिकबाट २४ लाख ५६ हजार र कालो सुचिमा परेका ग्राहकबाट १८ लाख बक्यौता रकम उठाउन बाँकि रहेको प्रमुख लम्सालले जानकारी दिनुभयो । यातयातबाट ४१ लाख र सडक बत्तिबाट ९ लाख ४६ हजार बक्यौता रकम उठाउन बाँकी रहेको छ । कमलामाई नगरपालिका क्षेत्र भित्र मात्रै सडक बत्तिको बक्यौता रकम बाँकी रहेको उहाँ बताउनुहुन्छ । “कमलामाई नगरपालिकाको मात्रै सडक बत्तिको बक्यौता रकम बाँकी छ । अन्य स्थानिय तहले तिरिसकेका छन् । नगरपालिकालाई पनि हामीले आग्रह गरिरहेका छौँ । भर्खरै मात्रै सडक बत्तिको विषयमा नगरपालिकामा छलफल गरेका थियौँ । अब पनि तिरेनन् भने हामी सडक बत्तिको लाइन काट्ने छौँ ,” उहाँले भन्नुभयो ।
बक्यौता रकम बुझाउन बाँकी रहेका ग्राहकलाई प्राधिकरणले बेला बेला महशुल बुझाउन आग्रह गरेको भएपनि बास्ता नगर्ने भएकाले बक्यौता रकम बढदै गएको प्राधिकरणले जनाएको छ । ६० दिन सम्म पनि विद्युत महसुल नतिर्ने ग्राहकको लाईन काट्ने गरेको प्रमुख लम्सालले बताउनुभयो । उहाँका अनुसार हाल जिल्लामा दैनिक चार देखि पाँच ठाउँमा लाईन काटिरहेको छ । हाल सम्म एक हजार भन्दा बढी ग्राहकको लाईन काटिसकेको उहाँले बताउनुभयो । विद्युत महसुल समयमा भुक्तान नगर्ने उपभोक्ताको हकमा मौजुदा महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औं दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म पाँच प्रतिशतका दरले थप शुल्क उहाँले बताउनुभयो ।
यस्तै, ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत महसुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ ।
यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महसुल नबुझाउने विद्युत उपभोक्ताको विद्युत लाइन काट्न सकिने प्रावधान उक्त विनियमावलीमा छ । लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान पनि प्राधिकरणको विनियमावलीमा छ ।अब विनियमावलीको यही प्रावधानका आधारमा मिटर रिडिङ भएको मितिले ६०औं दिनसम्म पनि बक्यौता महसुल भुक्तान नगर्नेको चरणबद्ध रूपमा लाइन काटी महसुल असुल उपर गर्ने नीति तय गरेको उहाँले जानकारी दिनुभयो । विद्युत महसुल बाँकी रहेका सरकारी कार्यालयको पनि अन्य उपभोक्तासरह नै लाइन विच्छेद गरी बक्यौता महसुल असुली अभियान अघि बढाइने प्राधिकरणले जनाएको छ । विद्युत महसुल बुझाउने विषयमा सरकारी कार्यालय अझ सजग र जिम्मेवार बन्नुपर्ने प्रमुख लम्सालले बताउनुभयो ।