शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

बिहिवार , जेठ १०, २०८१

सिन्धुली – सिन्धुलीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम रोकिएको छैन । जिल्लाका विभिन्न नदी र खोलाबाट हुँदै आएको नदीजन्य पदार्थ बालुवा, गिट्टी र ढुंगाको अवैध उत्खनन र ओसारपसार भएपनि नियामक निकाय मौन छ ।

कमला खोला, सुनकोशी नदि, मरिण खोला, चदा खोला, ग्वाङखोला लगाएत विभिन्न घाटबाट नदीजन्य पदार्थको चोरी निकासी भइरहेको छ । गाउँमा मठमन्दिर निर्माण एवं अन्य घरायसी काम देखाउँदै झुक्याएर कारोबारीले नदीजन्य पदार्थको अवैध उत्खनन गर्ने गरेको नाम नखुलाउने सर्तमा एक स्थानियले बताए । उनले भने, “खोलाहरुमा अवैध रुपमा बालुवा ढुगां उत्खनन् भइरहेको छ । खोला र नदिमा मेसिन नै लगेर उत्खनन् गरिरहेको देखिन्छ । रातको समयमा बढी यसरी चोरी गर्ने गरेको देखेको छु ।”

नदीबाट अवैध उत्खनन गरी ल्याइएको ती नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) लाई रातको समयमा विभिन्न स्थानमा पठाइने गरिएको उनले बताए । यद्यपि यस्ता अवैध कार्य बढ्दै गए पनि स्थानीय प्रहरी प्रशासनले नियन्त्रण गर्न सकेको छैन ।

कारोबारीले नदीबाट झिकिएको नदीजन्य पदार्थ ट्र्याक्टरमा लोड गरी विभिन्न स्थानमा डम्पिङ (संकलन) गरी राख्ने गरेका छन् । जिल्लामा संचालित क्रसरहरुले अवैधरुपमा

नदी र खोलाबाट ढुंगा, गिट्टी, बालुवा संकल गरि विक्री गर्ने गरेका छन् । अवैधरुमा संचालित क्रसरको अनुगम समेत भएको छैन । जिल्लामा कति क्रस दर्ता भएर संचालन भएका छन् भन्ने तथ्याङक जिल्लामा छैन । नदीजन्य पदार्थको चोरी निकासी बढे पनि स्थानीय तहले वास्ता नगरेको चौतर्फी आलोचना छ ।

बेलाबखत अनुगमन टोली खटिए पनि अवैध उत्खनन रोकिएको छैन । अनुगमन टोली देख्नासाथ तस्करीमा संलग्नले भागभाग गर्ने गरे पनि केही समयपछि उत्खनन जारी राख्ने गरेको पाइएको स्थानियले बताएका छन् । क्रसर उद्योगले अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै आएको स्थानीयको गुनासो छ । नदीजन्य पदार्थ उत्खननको ठेक्का पाएका कम्पनीलेसमेत जथाभावीरुपमा नदीजन्य पदार्थको उत्खनन र पायकपर्ने स्थानमा भण्डारण गर्ने गरेका छन् ।

कमलामाई नगरपालिका १ कुडुले स्थित मरिण खोलाबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन हुने गरेको एक स्थानियले बताए । उनले भने, “खोलाबाट अवैध रुपमा ढुगां गिटि, बालुवा निकाल्छन् । वर्षा लाग्यो अब खोला बढेर खेति योग्य जमिन कटान गर्ने गर्दछ । हिउँदा खोलाबाट सबै बालुवा र ढुगां निकाल्छन अनि वर्षामा खोलाले सबै खेती योग्य जमिन कटान गर्छ ।” यस विषयमा स्थानिय तह साथै प्रहरी प्रशासनलाई बारम्बार जानकारी गराउँदा समेत व्यवास्ता गरेको उनले गुनासो गरे । प्रहरी प्रशासनकै मिलेमतोमा नदीजन्य पदार्थ उत्खनन् तथा निकासी भइरहेको स्थानीयहरुको गुनासो छ । उत्खनन नरोकिए खेतीयोग्य जमिन कटान हुनुका साथै त्यस क्षेत्रका बस्तीहरु जोखिममा परेको स्थानीय नागरिकहरु बताउँछन् । नदी किनारमा ठेकेदारले मापदण्ड विपरित ढुंगा, बालुवा निकासी गरिरहेकाले नदि र खोलाको खेति योग्य जमिन तिर सोझिएको छ । नदी किनारमै उत्खनन् भइरहेकाले तटबन्धसमेत जोखिममा परेको स्थानीयहरुको भनाई छ । नदीजन्य पदार्थको ठेक्का लागिसक्दा पनि ठेकेदारहरुले अवैध उत्खनन र चोरी निकासीको चलाइरहेका छन् । ठेकेदारले जनप्रतिनिधि, प्रहरी र प्रशासनलाई समेत प्रभावमा पारेर ठुलो परिमाणमा नदीजन्य पदार्थ उत्खनन गरी बिक्री र भण्डारण गर्दै आएका छन् । राजनीतिक आड र प्रभावमा नदीजन्य पदार्थको दोहन अवैधरूपमा भइरहँँदा पनि प्रहरी, प्रशासन मौन रहनु सबैका लागि गम्भीर र चासोको विषय बनिरहेको छ ।

सिन्धुलीमा यो व्यवसाय नेतादेखि कार्यकर्तासम्मका लागि फलिफाप हुने व्यवसाय बनेको छ । अधिकांश पहुँचवाला व्यक्तिले यो व्यवसाय अवैधरूपमा सजिलै सञ्चालन गरेको पाइन्छ । मापदण्ड विपरीत नदीजन्य सामग्री उत्खनन् भइरहँदा स्थानीय तहको अनुगमन प्रभावकारी नभई कर्मकाण्डी मात्रै भएको भन्दै स्थानीयहरु आक्रोशित छन् ।

 

प्रतिक्रिया