सिन्धुली– रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको मुद्दामा जीबी राईसँगै सिन्धुलीका एक जनप्रतिनिधिको नामपनि जोडिएको छ । प्रहरीले गाउँपालिकामै भएका उपाध्यक्षलाई फरार भन्दै मुद्दा दायर गरेपछि राई र उपाध्यक्ष बरालबिचको सम्बन्ध खुल्नमा आएको हो ।
सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराललाई प्रतिवादी बनाउँदै अभियोगपत्र जिल्ला अदालत रुपन्देहीमा दायर गरिएको छ । अभियोगपत्रमा उहाँलाई फरार भनिएको छ । तर, उपाध्यक्ष बरालले आफू फरार नरहेको र गाउँपालिकामा नियमित काम गरिरहेको बताउनुभएको छ । बराल गएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
बराल सहकारीमा जीबी भन्ने गितेन्द्रबाबु राईसँग पहिलेदेखिकै साझेदार हुनुहुन्थ्यो । २०७२ माघ २५ गते उनीहरू तत्कालीन मैत्रेय बचत तथा ऋण सहकारी संस्था रुपन्देहीको सञ्चालक समितिमा थिए ।
२०७२ फागुन ३० गतेको विशेष साधारण सभाले सहकारीको नाम परिवर्तन गरेर सुप्रिम बचत तथा ऋण सहकारी संस्था राख्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि सहकारीको सञ्चालक समिति पनि पुनर्गठन गरिएको थियो । सहकारीमा जीबी अध्यक्ष र राजु सचिव भएका थिए ।
सहकारीको रकम उहाँले डेढ लाख बढी लिएको देखिएको छ । अभियोगपत्रमा उल्लेख भएअनुसार २०७३ पुस २८ देखि २०८० असार ३१ गतेसम्म १ लाख ६६ हजार ९८३ रुपैयाँ जम्मा भएको र उक्त रकम झिकिसकेको देखिएको छ ।
उहाँले २० हजार रुपैयाँको सेयर खरिद गरेको र अझै पनि त्यति नै बाँकी रहेको देखिएको छ । सुप्रिम सहकारीका सञ्चालकहरू १६ जनाले रकम अपचलन गरेको भनिएको छ । जसमा राजु बराल पनि हुनुहुन्छ ।
प्रहरीले उहाँको विभिन्न कसुरमा संलग्नता रहेको बताए पनि पक्राउ नगरी फरारको सूचीमा राखेर मुद्दा सरकारी वकिल हुँदै अदालतमा बुझाएको हो । उपाध्यक्ष बरालले भने पहिले आफू सहकारीमा रहेको र त्यतिबेलाकै विषयमा आफूलाई पनि प्रतिवादी बनाएको कुरा पछि थाहा पाएको बताउनुभयो । अहिले भने आफूले राजीनामा दिइसकेको उहाँको भनाइ छ ।
“पहिले डेढ लाख रुपैयाँ मेरो नाममा पेस्की रहेछ । त्यसैका लागि मलाई प्रतिवादी बनाएको रहेछ । अब म अदालतमा उपस्थित हुनैपर्ने रहेछ, अदालत जान्छु,” बरालले भन्नुभयो, “वकिललाई लगाएको छु तर म उपस्थित नभई विकल्पै नहुने रहेछ । अब जे जति बिगो पर्छ तिर्नुपर्ने रहेछ ।” आफूविरुद्ध मुद्दा दर्ता गरेको बारेमा कतैबाट पनि जानकारी नपाएको उहाँले बताउनुभयो । अहिले फरार भनेको थाहा पाएपछि आफूले बुझेको र फरार भन्ने शब्द भाषा मिलाउन मात्र उल्लेख भएको जानकारी पाएको उहाँले बताउनुभयो ।
सुप्रिम सहकारीको बचत हिनामिना गरेको प्रकरणमा जीबी राईसहित २८ जनाविरुद्ध मुद्दा दायर भएको छ । तर, जीबीसहित केही फरार छन् । जीबी विदेश भागेपछि उनलाई नेपाल ल्याउन प्रहरीले रेड नोटिस जारी गरेको छ ।
उनीहरूले ८ हजार बढी बचतकर्ताको ९६ करोडभन्दा माथिको रकम हिनामिना गरेको आरोप छ । उक्त सहकारी ठगी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई समेत प्रहरीले पक्राउ गरेको थियो । हाल उनी चार लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् ।
पक्राउ परेका ७ जनामध्ये सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउन र दीपेशसहित ६ जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो । यो सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने पनि जोडिनुभएको छ ।
लामिछानेको नाममा सहकारीको २ करोड रुपैयाँ गएको अभियोगपत्रमै उल्लेख छ । तर, लामिछाने गृहमन्त्री भएकाले प्रहरीले उहाँलाई प्रतिवादी बनाएको छैन भने यस सम्बन्धमा सामान्य सोधपुछसमेत गरेको छैन । गृहमन्त्री लामिछाने सुप्रिमका साथै अन्य सहकारी ठगीमा पनि जोडिएकाले संसदीय छानबिनको राखी विपक्षी दलहरूले संसद अवरोध गर्दै आएका छन् । तर उहाँमाथि छानबिन गर्न सत्तापक्ष तयार देखिएको छैन ।
मन्त्री लामिछानेले भने आफूले रकम अपचलन नगरेको जिद्दी गर्दै आफूमाथि अनुसन्धान गर्नै नपर्ने जिकिर गरिरहनुभएको छ ।