शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङमा प्रगति, अन्यमा सुस्त गति

शनिवार , बैशाख १५, २०८१

सिन्धुली — राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोशी मरिण डाइभर्सन अन्तर्गतको सुरुङ खन्ने काम पनि अन्तिम चरणमा पुगेको छ । बीचमा कुनै समस्या आइनपरे वैशाख २६ मा ‘ब्रेक थ्रु’ गर्ने तयारी छ । १३.३ किलोमिटरमध्ये सुरुङ निर्माणको ९९ प्रतिशत काम सकिसकेको छ ।

आयोजनाको प्रवेशद्वार कुसुमटारबाट सुरुङ खन्ने टीबीएम प्रविधिको मेसिन सुनकोशी नदी किनार कानढुंग्रीबाट बाहिर निस्किएपछि ‘ब्रेक थ्रु’ हुने आयोजनाका प्रमुख मित्र बरालले बताउनुभयो । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत सुरुङको काम कमलामाई नगरपालिका–२ को कुसुमटारदेखि सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीसम्म हो । सुरुङ खन्न २२ महिनाको लक्ष्य लिइएकामा ६ महिनाअगावै सम्पन्न हुँदै छ । एकै दिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनासँग रेकर्ड छ ।

०७९ असोज २८ बाट सुरु भएको सुरुङ खन्ने काममा ६ पटक अवरोध भएको थियो । सुरुङभित्र सुक्खा पहिरो खस्ने, लेदोसहित पाखै खस्ने हुँदा सुरुङ खन्ने टीबीएम मेसिन अगाडि जान नसक्दा काम रोकिएको थियो । उच्च प्रविधिबाट ५.५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भएको आयोजनामा कानढुंग्रीस्थित सुनकोसी नदीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूमेस पानी कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

तर सुरुङको ‘ब्रेक थ्रु’ हुनै लाग्दा आयोजनाको अन्य काम भने सुस्त छ । सुनकोशी नदीमा बाँध निर्माणको कामले गती लिन सकेको छैन । जुन आयोजनाको मुख्य कामभित्र पर्छ । बाँध बाँध्ने ठेक्का पटेल–रमण जेभीले लिएको हो । पटेल भारतीय कम्पनी भए पनि काम नेपाली कम्पनी रमण कन्स्ट्रक्सनले गरिरहेको छ । तर प्रगति सोचेअनुरूप छैन । सुनकोशी र तामाकोशीको संगमस्थलभन्दा ९ सय मिटर तल कानढुंग्रीस्थित सुनकोशीमा बाँध निर्माणको काम सुरु भएको छ । १६ महिनाअघि ०८४ असोजमा सम्पन्न गर्ने गरी सुनकोसीमा बाँध निर्माणलगायत काम गर्न १२ अर्व रुपैयाँमा ठेक्का भएको हो । अहिलेसम्म निर्माण कम्पनीलाई १ अर्ब ५० करोड रुपैयाँ भुक्तानी भइसकेको छ ।

ठेक्का प्रक्रिया ढिलो र मौसम अनुकूल काम गर्नुपर्ने भएकाले सुरुङको जस्तो कामले गति नलिएको आयोजनाको दाबी छ । सुनकोशीमा बाँध बाँध्ने कामअन्तर्गत अहिलेसम्म कफर ड्याम जमिनमुनिको पिल्लर राख्ने काम सकिएको छ । हिउँदको ६ महिना मात्रै कोशीभित्र काम हुने र अन्य समयमा बाढी आउने भएकाले काम रोकिने गरेको आयोजना प्रमुखको भनाइ छ । अब डेढ महिना बाँधको काम चल्ने र नदीमा पानीको बहाव घट्न फेरि अर्को हिउँद पर्खनुपर्नेछ । बाँध निर्माणको काममा ७ प्रतिशत मात्र प्रगति छ ।

आर्थिक वर्ष ०८०÷८१ मा बाँध निर्माणको काम १८ प्रतिशत सक्ने लक्ष्य लिइएकामा चैत मसान्तसम्ममा ७ प्रतिशत मात्र पुगेको हो । सुरुङबाट पानी मरिण खोलामा खसालिने स्थान कुसुमटारदेखि वाग्मतीसम्मको ४४ किमिलाई ७ वटा प्याकेज बनाएर नदी नियन्त्रणको काम हुँदै आएको आयोजनाले जनाएको छ । आयोजनाको काममध्ये इलेक्ट्रो मेकानिकलको खरिद प्रक्रिया सुरु भएको छ भने ट्रान्समिसन लाइनको आईई अन्तिम चरणमा रहेको प्रमुख बरालले बताए । समग्र आयोजनाको भौतिकतर्फ प्रगति ३० र वित्तीय २८ प्रतिशत छ । हालसम्म आयोजना निर्माणमा ११ अर्ब ९१ करोड १९ लाख खर्च भएको छ ।

सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले पाएको हो । यस कम्पनीले यसअघि भेरी बबई डाइभर्सनमा सुरुङ निर्माणको काम गरिसकेको छ । सुनकोशी मरिणमा सुरुङ खन्न मात्र कोभेकले १० अर्ब ५ करोड ६८ लाखमा ठेक्का लिएको हो । नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिण खोलामा खसाली मधेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार काम सुरु भएको हो । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड रुपैयाँ छ ।

प्रतिक्रिया