सिन्धुली — उन्नत र नश्ल सुधार गरिएका कुखुरापालनप्रती बढेको आकर्षणका कारण सिन्धुलीमा स्थानीय जातका कुखुराहरु लोप हुने अवस्थामा पुगेका छन् । आयात गरिएका ब्रोइलर र कोइलर जातका कुखुराको मासु गाउँ गाउँमा पुग्न थालेको छ । सस्तोमा पाइने भएपछि सर्वसाधारणले घरमा पाल्नु भन्दा पसलबाट मासु किनेर खाने चलन बढेको छ ।
वादीलो, पोषिलो र गुणस्तरीय मासु तथा अण्डा उत्पादन गर्ने स्थानीय साकीनी, घाँटी खुइले, उल्टे, किस्टोन जातका कुखुरा गाउँघरमा भेटिन छाडेका छन् । तर सिन्धुलीका कृषकले भने लोप हुन लागेका विभिन्न जातका कुखुरालाई ब्यवसायिक रुपमा पाल्न थालेका छन् । बजारमा माग बढ्दै गएपछि सिन्धुलीका किसानहरू व्यवसायिक रूपमै स्थानीय जातका कुखुरापालनमा आकर्षित हुन थालेका छन् । फिक्कल गाउँपालिका–४ आलेगाउँकी लिलामाया मगरले स्थानीय जातका (लोकल) कुखुरा पालन सुरु गर्नुभएकोछ । उहाँले (लोकल) कखुराको व्यवसायिक पालन गरेको यो दोस्रो पटक हो ।
अघिल्लो पटकमा लगानीको दोव्बर आम्दानी लिएपछि उहाँले हौसिएर यतिखेर दोस्रो लटमा एकसय ५० चल्ला हाल्नु भएको छ । कखुरापालनमा उनलाई श्रीमान मीनबहादुर र सासु मैयाँले साथ दिनु भएको छ । “आम्दानी राम्रै भएर पहिला पालेको भन्दा ५० वटा थप गरेर चल्ला हालेकी छु,” उहाँले भन्नुभयो, “पहिलो लटमा एकलाख ५० हजार जति आम्दानी भयो, दोस्रोमा के हुन्छ, हेरौं ।” स्थानीय जातका कुखुरा उहाँको घरमा पहिला पनि हुन्थ्यो । तर बिक्रीको लागि हुँदैनथ्यो ।
“चाडबाड र कोसीपारे पुजामा सबै सकिन्थे । कुखुरा खोज्न आउनेलाई पनि बिक्रीमा छैन भनेर फर्काउनु पथ्र्याे,” लिलामायाले पुराना दिन सम्झिनुभयो । उहाँ आले गाउँकी महिला स्वयंसेविका पनि हुनुहुन्छ । उहाँले यसबारे तालिमनै लिनु भएको छ । तालिमपछि लिलामाया लगायत आले गाउँका डेढ दर्जन किसानले व्यवसायिक स्थानीय जातका कुखुरा पालेका छन् । पहिलो लटको आम्दानीले ती किसानलाई कुखुरा पालनमा जाँगर पलाएको छ ।
गाउँभरि नै कुखुरा भएपछि बिक्रीको भने समस्या हुने गरेको लिलामायाको अनुभव रहृयो । यो गाउँमा कुखुरा पाइन्छ भनेर थाहा नहुँदा ग्राहक आएनन्, जिल्ला सदरमुकाम र काठमाडौं पु¥याएर विक्री गरियो, तिनै लिलामायाले दुखेसो पोख्नुभयो । लिलामायाकी सासु मैंयाँ छोराबुहारीले कुखुरा हालेपछि दंग हुनुहुन्छ । बुढेसकालमा चारोपानी गरेपछि हुने कुखुरा स्याहार्न आफुलाई सुहाउँदो काम भएको उहाँले बताउनुभयो ।
आले गाउँकै सिता रोक्काले ८० वटा स्थानीय जातका चल्ला हाल्नु भएको छ । पहिलो पटक ४० वटा पालन गर्नु भएको रोक्काले यो पटक दोव्वर बनाउनुभयो । आम्दानी हुने देखेर नै चल्ला थपेकी हुँ, उहाँले भन्नुभयो, “खर्च कटाएर एकलाख लिन सकिन्छ की ।” पहिलो पटकको कुखुरा विक्रीबाट उहाँले ५० हजार आम्दानी लिनु भएको थियो । स्थानीय जातका कुखुरा पालन गर्ने तालिम पाइयो, तर औषधि गर्न नजान्दा चल्लामा नै मर्ने गरेको रोक्काले दुखेसो पोख्नुभयो । पशुसेवा कार्यालयबाट बेलाबेलामा आएर औषधिमुलो गरिदिए किसानलाई हौसला मिल्ने उहाँले बताउनुभयो ।
मोटरबाटो भर्खरै पुगेको विकट आलेगाउँमा लोकल कुखुरा पाइन्छ भनेर प्रचार भएमा ग्राहक घरमै आउने उनीहरुको ठम्याइ छ । चारदेखि ६ महिना भित्रमा कुखुरा विक्री गर्न लायक हुने किसानहरु बताउँछन् । “चार महिनामा दुई किलोको हुन्छ,” अर्की किसान भोजकुमारी आलेमगरले भन्नुभयो ,“भाले सात सय रुपैंयाँ किलोमा जान्छ, पोथी ६ सयमा बिक्री हुन्छ । बजारको दिन कखुरा च्यापेर गए भइगयो ।” चल्लामा औषधिको व्यवस्थापन गर्न सके थप जाँगर चल्ने उहाँको भनाइ छ ।
अबको तीन महिनापछि आले गाउँमा विक्रीका लागि स्थानीय जातका दुइ हजारभन्दा बढी कुखुरा हुने भएकाले काडमाडौंका व्यापारीलाई नै सम्पर्क गर्न सके सहज हुने अर्का किसान अनिल मगरले बताउनुभयो । संस्थाले तालिम दिएर पहिलो लटको चल्ला अनुदान दिएपछि कुखुरा पाल्न आफूहरुलाई प्रेरणा मिलेको उहाँले बताउनुभयो ।
पोषण तथा उत्थान जीविकोपार्जन कार्यक्रम मार्फत आले गाउँमा स्थानीय जातका कुखुरा, बंगुर, खसीबाख्रा, गाइभैंसी किसानले पालन गरेका छन् । आलेगाउँको ६१ घर नै व्यवसायिक पशुपंक्षी पालनमा लागेको सिड्स नेपालका अध्यक्ष दिपक घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “आम्दानीसँगै किसानहरुले समूह बनाएर बचत गर्न पनि थालेका छन् ।”