सिन्धुली– राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सन बहुउद्धेश्यीय आयोजनामा विश्व किर्तिमान बनेको चिनियाँ राजदुतले दाबी गर्नुभएको छ । नेपालको लागि चिनियाँ राजदुत छेन सोङले केहि दिन अघि एक्स (यसअघि ट्विटर) मा ट्विट गर्दै सुरुङ खन्ने काममा विश्व किर्तिमान बनेको दाबी गर्नुभएको छ ।
राजदुत सोङले टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुनकोशी मरिण डाईभर्सन आयोजनामा एक महिनामा सबैभन्दा बढि सुरुङ खनेर चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले विश्व किर्तिमान बनाएको भन्दै बधाई दिनुभएको छ । सिन्धुलीमा निर्माणाधिन आयोजनामा टिबिएमबाट एक महिनामा एक हजार पाच सय तीन दशमलब तीन मिटर (१.५ किलोमिटर) सुरुङ खन्दै विश्व रेकर्ड कायम गरेकोमा राजदुत सोङले चिनिया ठेकेदार कम्पनि कोभेकलाई बधाई दिनुभएको हो । राजदुत सोङले नेपालकै एक आयोजनामा सन् २०२३ मा कोभेकले टीबिएमबाट एक महिनामा एक हजार दुई सय २४ दशमलब एक मिटर (१.२ किलोमिटर) खनेर किर्तिमान रचेको बताउनुभएको छ । त्यस्तै, राजदुत सोङका अनुसार कोभेकले एक वर्षमा दुईवटा किर्तिमान बनाएको एक्समा उल्लेख गर्नुभएको छ । कोभेकले एक दिनमा ७२.६८ मिटर सुरुङ खनेर दोश्रो विश्व रेकर्ड कायम गरेको राजदुत सोङले दाबी गर्नुभएको छ ।
सुरुङ खन्नकालागि मात्र कोभेकले १० अर्ब ५ करोड ६८ लाखमा ठेक्का लिएको थियो । ५.५ डायमिटरको १३.३ किलोमिटर लामो सुरुङ निर्माणको काम कोभेकले ०७९ असोज २८ बाट शुरु गरेको हो ।
प्रमुख मित्र बरालका अनुसार राजदुत सोङले विश्व किर्तिमान दाबी गरे अनुसार आफूसँग आधिकारीक तथ्यांक नभएपनि एक महिनामा सुनकोशी मरिण डाईभर्सन आयोजनाको डेढ किलोमिटर सुरुङ निर्माण भएको छ । कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म १२ किलोमिटर १२ हजार ४२९ दशमलब २८ मिटर (१२.४ किमि) सुरुङ निर्माण भइसकेको छ । यो विवरण बुधबार रातिसम्मको हो । सुरुङ निर्माणमा उल्लेख्य प्रगति भएको बताउदैँ बरालले भन्नुभयो, ‘कुनै भौर्गभिक जटिलता उत्पन्न नभएको खण्डमा आगामी डेढ महिनाभित्र ब्रेक थ्रु हुनेछ ।‘ २२ महिनाको अवधिमा सुरुङ निर्माणको काम सम्पन्न हुने लक्ष्य लिएपनि यहि रफ्तारमा अघि बढे तीन महिना अगावै निर्माण सम्पन्न हुनेछ ।
त्यस्तै, सुनकोशी गाउँपालिकाको कानढुंग्रीमा बाँध निर्माणको काम पाँच प्रतिशत सम्पन्न भएको ठेकेदार कम्पनिले जनाएको छ । तामाकोशी र सुनकोशी नदीको संगमस्थल त्रिवेणीभन्दा सातसय मिटर तल हेकवक्र्स (बाँध निर्माण) को धमाधम अघि बढिरहेको छ । सुनकोशी नदीमा करिब ३० मिटर अग्लो र १५८ मिटर लामो बाँध निर्माणको काम भइरहेको छ । सुनकोशीमा बाँध निर्माण लगायतका कामका लागि नेपाल र भारतको संयुक्त निर्माण कम्पनि रमण–पटेल जेभीले १४ अर्ब सात करोड ५९ लाख रुपैँयाको लागतमा २०७९ साल माघमा सम्झौता गरेको थियो । ठेकेदार कम्पनिका अनुसार बाँधको कफर ड्यामको तल्लो भाग सम्पन्न भइसकेको छ भने अहिले माथिल्लो भागको काम भइरहेको छ । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भएपनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । विसं २०८४ को असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाको कुल लागत ४६ अर्ब १९ करोड रहेको छ । त्यस्तै, सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा हालसम्म १२ अर्ब हाराहारी खर्च भएको प्रमुख बरालले बताउनुभयो । आयोजना निर्माणमा ११ अर्ब ९१ करोड बढि खर्च भएको हो । सुरुङ निर्माण, सुनकोशी नदीमा हेडवर्क्सको काम, सामाजिक काम र घर तथा जग्गा अधिग्रहणमा यति रकम खर्च भएको आयोजनाले जनाएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते यो आयोजना शिलान्यास गर्नुभएको थियो । सुनकोशी नदीमा बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालिने छ । त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिने छ । आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने रहेको छ ।