शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

जुनारबाट सिन्धुलीमा ५० करोड आम्दानी

शनिवार , चैत्र १०, २०८०

सिन्धुली, – सिन्धुलीमा यस बर्ष ५० करोड बढीको जुनार उत्पादन भएको छ । जुनारको मुख्य उतपादन हुने जिल्लाको रुपमा परिचय बनाएको सिन्धुलीले ५० करोड बढीको जुनार कारोबार गरेको हो । यस बर्ष गत बर्षको तुलनामा जुनार उत्पादनमा बृद्धि भएकाले जुनारको कारोबार बढेको छ । जिल्लाको गोलञ्जोर गाँउपालिका, सुनकोशी गाँउपालिका, तीनपाटन गाँउपालिका र कमलामाई नगरपालिकाका केहि वडामा व्यवसायिक रुपमा जुनारको खेती हुदै आएको छ । चार ओटा पालिकाका विभिन्न वडामा गरि ७ सय ५० हेक्टर जमिनमा ९ हजार ९ सय मेट्रिकटन जुनार उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई सिन्धुलीले जनाएको छ । कार्यालय प्रमुख यामकुमार श्रेष्ठका अनुसार जिल्लामा जुनारबाट ५० करोड बढीको कारोवार भएको देखिएको छ । जसमध्ये ३३ करोड, २१ लाख ३५ हजार बराबर किसानले आम्दानी गरेका छन् भने १५ करोड बढी व्यापारीहरुले कमाएको तथ्यांकले देखाएको छ ।

मंसिरको दोस्रो हप्तादेखि बजारमा आएको जुनार हालसम्म सबै विक्री भइसकेको कार्यालयले जनाएको छ । जुनारको दररेट समय अनुसार फेरबदल भएपनि औषतमा किसानले बोटबाटै ५५ रुपैया प्रतिकेजीमा विक्रि गरेका छन् । विपी राजमार्ग निर्माणभएसँगै सोही राजमार्गसँग जोडेर जुनार क्षेत्रमा जाने सडक खुलेसँगै त्यस क्षेत्रका किसानको राम्रो आम्दानीको स्रोत जुनार बनेको छ । व्यवसायीक रुपमा खेती गर्दै आएका किसानले प्रत्येक बर्ष दश देखि २० लाख सम्म एकै किसानले आम्दानी लिदै आएका छन् बिपी राजमार्ग निर्माण भएपछि पुर्वी तराई सहित काठमाडौँ लगायतका स्थानमा जुनार कोसेलीको रुपमा लाने क्रम बढेपछि सिजनको सुरुवातमै जुनारको कारोवार राम्रो हुने गरेको किसानहरु बताउछन् । जिल्लामा जुनार खेतीलाई थप विस्तार गर्न सके किसानको आयस्रोत बढ्ने निश्चित छ ।

गोलञ्जोर गाँउपालिकास्थित तिनकन्याको माझकुभिण्डे क्षेत्रमा जुनार जिल्लाकै सबैभन्दा बढी उत्पादन हुने क्षेत्रको रुपमा परिचित छ । विपी राजमार्ग निर्माणभएसँगै सोही राजमार्गसँग जोडेर जुनार क्षेत्रमा जाने सडक खुलेसँगै जुनार किसानको राम्रो आम्दानीको स्रोत जुनार बनेको छ । व्यवसायीक रुपमा खेती गर्दै आएका किसानले प्रत्येक बर्ष दश देखि २० लाख सम्म एकै किसानले आम्दानी लिदै आएका छन् । बिपी राजमार्ग निर्माण भएपछि पुर्वी तराई सहित काठमाण्डौ लगायतका स्थानमा जुनार कोसेलीको रुपमा लाने क्रम बढेपछि सिजनको सुरुवातमै जुनारको कारोवार राम्रो हुन थालेको छ । विपी राजमार्गका ठाँउठाँउमा जुनारका स्टल राखेर व्यापारीले जुनार विक्री गर्ने गरेका छन् ।

कोदो मकैको तुलनामा जुनार खेतीबाट निकै राम्रो आम्दानी हुन्छ, कमलामाई नगरपालिका ३ का जुनार किसान जुद्ध राईले भने, बर्षको करिब १० देखि १२ लाख सम्म आम्दानी लिदै आएको छु । सोही स्थानकी लक्ष्मी राई जुनारको आम्दानीले आयस्रोत बढ्दै गएको बताउछिन् । जुनार बेचेर छोराछोरी पढाउन सहज भएको छ, दैनिक घरखर्च अन्य आम्दानी नहुँदा पनि सहजै चलेको छ, उनले भनिन्, सुरुवाती चरणमा थोरै लगाएका थियौ तर आम्दानी राम्रो हुने देखिएपछि जुनार विरुवा थपेर अहिले बगैचामा पाँच सय बढी बोटले फल दिन थालेको छ ।

प्रतिक्रिया