शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कुकिङ्ग तालिम पाएपछि सिन्धुलीका युवा आत्मनिर्भर बन्दै

शनिवार , चैत्र ३, २०८०

सिन्धुली– ‘ढुँगा खोज्दा देवता मिल्यो’ यो भनाई हो मरिण गाउँपालिका १ मादलेका टंकबहादुुर प्रसाईको । विदेश जाने तयारीमा रहेका प्रसाई निशुल्क कुकिङ्ग तालिम पाएको भन्दै खुसि व्यक्त गर्नुहुन्छ । “मलाई त ढुँगा खोज्दा देवता मिल्यो भने जस्तै भयो । विदेश जान भनेर पासपोर्ट बनाउँदै थिए । यता निःशूल्क सिप सिकाउने भन्ने थाहा पाएपछि फर्म भरे, हाल तालिम लिरहेको छु”, उहाँले भन्नुभयो ।

कमलामाई नगरपालिका ६ स्थित कमलामाई पार्टी प्यालेसमा उहाँले दुई महिना देखि निःशुल्क होटल कुक तालिम लिइरहनुभएको हो । दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने प्रसाई कुकिङ्ग तालिमले आफ्नो जिवनमा परिर्वतन ल्याउने आशा रहेको बताउनुहुन्छ । “यो तालिमले मेरो जिवनमा केहि परिर्वतन ल्याउने छ । तालिम लिएपछि नेपालमै पनि मैले रोजगारी पाउने छु । विदेशमा पनि सिप सिकेर गएपछि राम्रै काम पाइने छ ”, उहाँले भन्नुभयो ।

रण गाउँपालिका ६ महेश्वताकी प्रतिक्षा कुमारी गुन्द्री पनि तालिम लिएपछि बेरोजगार भएर बस्नु नपर्ने बताउनुहुन्छ । “तालिम लिएपछि रोजगारी चाहि पाउने भए । आफैँले होटल व्यवसाय संचालन गर्न पनि सकिन्छ । विदेश जादाँ पनि सिप भएपछि सजिलो हुन्छ’, उहाँले भन्नुभयो ।

दुइ वर्षदेखि होटलमा हेल्परको काम गर्दै आउनुभएको सुनकोशी गाउँपालिका ५ का भरत कालिकोटे तालिम पछि कुकिङ्गको काम पाउने भन्दै खुसि व्यक्त गर्नुहुन्छ । “मैले अब होटलमा हेल्परको काम गर्नुपर्दैन । मेरो पद बढ्ने भयो, अब मिठो मिठो परिकार बनाउन सक्षम हुने भए”, उहाँले भन्नुभयो ।

यस्तै, मरिण गाउँपालिका ७ का सन्दिप गोले पैसा तिरेर कुकिङ्गको तालिम लिने योजना बनाई रहनुभएको थियो । युवालाई सिप विकास तालिम दिने कुरा उहाँले वडाबाट थाहा पाउनुभयो । “शुल्क तिरेर कुकिङ्ग तालिम सिक्ने योजनामा थिए । निशूल्क तालिम दिने भन्ने थाहा पाएपछि वडामा पुगेर फर्म भरे, अहिले निशुल्क तालिम लिइरहेको छु । मलाई पनि ढुँगा खोज्दा देवता मिल्यो भने जस्तै भएको छ”, उहाँले भन्नुभयो ।

प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा सिड्स नेपालले युवालाई निःशुल्क सिप विकास तालिम दिइरहेको छ । जिल्लाको दुधौली नगरपालिका, मरिण गाउँपालिका र सुनकोशी गाउपालीकामा संचालित दक्ष युवा परियोजना अन्र्तगत युवालाई सिप विकास तालिम दिएको परियोजना संयोजक विक्रम केसीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९/०८० देखि जिल्लाको तीन पालिकामा दक्ष युवा परियोजना सुरु भएका हो । परियोजना अन्र्तगत सम्वन्धित स्थानिय पालिकाको समन्वयमा १८ वर्ष देखि २४ वर्ष सम्म उमेरका युवाहरुलाई स्वरोजगार तथा रोजगार वनाउन विभिन्न जिवन उपयोगी सिप तलिम संचालन भइरहेको छ । युवालाई उद्यम विकास तलिम, पुर्व परामर्श, संरक्षण सम्वन्धि तालिम सहित ३९० घण्टा अवधिको होटल कुक, व्युटिसियन, मोटर फ्यान, ईलेक्ट्रिसियन, कम्पुटर, लेखा सिप, कुखुरा पालन, किराना पसल संचालन सम्वन्धि तालिम संचालन गरिएको परियोजना संयोजक केशीले बताउनुभयो ।

उहाँका अनुसार युवालाई तालिम प्रदान गरि स्वरोजगार बनाउन विउँविजन समेत सहयोग गरिएको छ । तालिम पाएका युवाले आफ्नै ठाउँमा व्यापार तथा व्यवसाय समेत संचालन गदै आइरहेका छन् । धेरै जिल्लासँग सिमाना जोडिएको साथै तिनवट राष्ट्रिय राजमार्गले छोएको सिन्धुलीमा होटल तथा रेष्टुरेन्ट खुल्ने क्रम बढेको छ । जिल्लामा हाल दक्ष कुकको माग बढेकाले कुक सम्बन्धी तालिम संचालन गरिएको संयोजक केसिको भनाइ छ ।

३९० घण्टा अवधिको  CTEVT को पाठ्यक्रम अनुरुप तालिम पश्चात राष्ट्रिय सिप परिक्षण समितीद्धारा सिप प्रमाणिकरण समेत परियोजना मार्फत गरिने उहाँले बताउनुभयो । तालिमबाट जिल्लाका दुई सय जना युवा प्रत्यक्ष लाभान्वित हुने छन । यस्तै। तह १ पास गरि व्यवसाय तथा रोजगारी गरेको सहभागिका लागी तह २ को तालिम तथा परिक्षण गराई क्षमता अभिवृद्धि गराउने उद्धेश्य गरेको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया