सिन्धुली– राज्यभित्र राज्यको नियम, कानुन पालना गरेर गरिएको व्यवसायमा राज्यले तोकेको कर बुझाउनुपर्छ भन्ने अधिकांश व्यापारीलाई थाहा छ । तर, विभिन्न क्षेत्रमा काम गरिरहेका व्यवसायी कर बुझाउन आनाकानी गर्ने गरेको पाइएको छ । देशका विभिन्न क्षेत्रमा रहेका विभिन्न व्यवसायीबाट सरकारले मोटो रकम कर उठाउन बाँकी छ भने देशभरी सञ्चालित कतिपय व्यवसायलाई सरकारले करको दायरामै ल्याउन सकेको छैन । सार्वजनिक रूपमै कारबाही सुरु नगरेसम्म वा कर नतिरेका कारण कुनै प्रत्यक्ष हानि वा कतै व्यवसायमा अप्ठ्यारो नपरुन्जेलसम्म व्यवसायीले कर तिर्न आनाकानी गर्ने गरेका छन् भने यसले राज्यलाई अप्रत्यक्ष वा प्रत्यक्ष रूपमा ठूलो नोक्सानी भइरहेको छ ।
चालु आर्थिक वर्षको फाल्गुन १८ गतेसम्म सिन्धुलीको मात्रै दुई नगरपालिकाको तीन हजार सात सय पाच जना करदाताले आयकरतर्फको आय विवरण बुझाएका छैनन् । करदाता सेवा कार्यालयमा दर्तामा रहेका कमलामाई नगरपालिकाको दुई हजार तीन सय ६५ र दुधौली नगरपालिकाको एक हजार तीन सय ४० दुधौली नगरपालिका करदाताले आयकर विवरण नबुझाएका हुन् ।
माघ मसान्तसम्म करदाता सेवा कार्यालयमा आयकरतर्फको आय विवरण नबुझाउने करदातालाई आय विवरण बुझाउन पत्राचार तथा सूचना जारी गरिएको कार्यालय प्रमुख कर अधिकृत दिपेन्द्र पुनले बताउनुभयो । प्रत्येक आर्थिक वर्ष सकिएपछि असोज मसान्तभित्र आय विवरण बुझाउनुपर्नेमा करदाताले आय विवरण नुबझाएपछि पत्राचार तथा फोन सम्पर्क भइरहेको उहाँले जानकारी दिनुभयो ।
“कतिपयले व्यापार व्यवसाय छाड्नुभयो तर स्थायी लेखा नम्बर बन्द गर्नुभएको छैन”, उहाँले भन्नुभयो, “व्यापार व्यवसाय छाडेको भए समयमै स्थायी लेखा नम्बर स्थगन गर्न करदातालाई पत्राचार गरिएको छ ।” व्यापार व्यवसाय सञ्चालन गर्न छाडे पनि थाहा नभएकै कारण यी समस्या देखिएका हुनसक्ने भएकाले वस्तुगत संघसंस्था, जिल्लास्थित उद्योग वाणिज्य संघमार्फत र स्वयं करदातालाई टेलिफोन वा म्यासेजमार्फत आयकर विवरण बुझाउन ताकेता गरिएको उहाँले बताउनुभयो ।
समयमै आयकर नबुझाउने करदातालाई आन्तरिक राजस्व कार्यालयबाट आयकर ऐन २०५८ अनुसार अन्य कानुनी कारबाही तथा विलम्ब शुल्क लिने व्यवस्था रहेको छ । जिल्लाका ९ पालिकामध्ये करदाता सेवा कार्यालयले पत्राचार गरेसँगै विवरण बुझाउने सम्पर्कमा आई विवरण बुझाउन थालेकाले संख्या घट्दै गएको छ । उहाँका अनुसार सिन्धुलीका नौँवटा पालिकाको झण्डै ८ हजार बढि करदाताले आयकर विवरण बुझाएका छैनन् ।
कार्वाहीको चेतावनी
यसैबिच सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै अन्त शुल्क ईजाजत पत्र नलिई व्यवसायिक कारोवार गर्नेलाई कार्वाही गर्ने चेतावनी दिएको छ । आन्तरिक राजश्व विभाग अन्तर्गत करदाता सेवा कार्यालय, सिन्धुलीको फाल्गुण २० गतेको पत्रानुसार गोलन्जोर गाउँपालिका क्षेत्रभित्र मदिरा तथा सुर्तिजन्य कारोवार गर्ने व्यवसायीहरुले अनिवार्य अन्त शुल्क ईजाजत पत्र लिई पश्चात मात्र व्यवसायिक कारोवार गर्न आग्रह गरेको छ । साथै, अनुगमन तथा निरिक्षणको क्रममा सो अनुसार गरेको नपाईएमा कानुन बमोजिम कारवाही हुने गाउँपालिकाले जनाएको छ ।