सिन्धुली– सिन्धुलीको गोलन्जोर गाउँपालिका ४ स्थित तिनकन्याको आले गाउँमा लोक बहादुर आलेको बगैँचामा ३८ वर्ष पुरानो ६० वटा जुनारको बोट छ । ती जुनारको बोटले अन्य बोट जतिकै आम्दानी दिईरहेको छ । आलेकै उमेरका ती बोटबाट वार्षिक प्रति बोट दुई क्विन्टल जुनार फल्दा १० हजार बढि आम्दानी भइरहेको आले बताउनुहुन्छ । सोहि ठाउँमा ६० वर्षअघि रोपेको जुनारको बोटमा अहिलेपनि अरु बोट जत्तिकै जुनारको दाना फल्ने गरेको छ । रोपेको एक वर्षमै फल्ने जुनारको बगैँचा व्यवस्थापन गर्न सके जुनारको बोटले वर्षौँवर्षसम्म आम्दानि दिने कृषक आले बताउनुहुन्छ ।
किसानसँगै शिक्षक पेशा अंगाल्नुभएका आले पन्चौली आधारभुत विद्यालयको प्रधानाध्यापक समेत हुनुहुन्छ । २०४२ सालमा बुबाले रोपेको ६० वटा जुनारको बोटबाट वर्षेनि पाँच लाखको जुनार बिक्री हुने गरेको आले बताउनुहुन्छ । बुबाले ३८ वर्षअघि १५ रोपनी जग्गामा सुरु गर्नुभएको जुनार खेतिलाई विस्तार गर्दै २२ रोपनीमा जुनार खेति गर्दै आउनुभएका आलेको बगैँचामा अहिले पाँच सय बढि जुनारका बोट छन् । १५ वर्षअघि रोपेका जुनारको बोटबाट वर्षेनि १० लाख आम्दानि हुने गरेको आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “ झारपात नियन्त्रण, सिचाईँ, मलखाद, छापो लगायत जुनारमा लाग्ने रोग तथा किराको व्यवस्थापन गर्नसके जुनारको बोट बुढेसकालको साहारा बन्न सक्छ ।”
उहाँले जुनारसँगै बगैँचामा एक सयवटा सुन्तलाको बोटपनि लगाउनुभएको छ । शिक्षण पेशासँगै जुनार खेतिबाट आएको आम्दानिले उहाँको एउटा छोरी अष्टे«लियामा पशु विज्ञान र अर्की छोरीले नेपालमै विज्ञानमा स्नातक अध्ययन गरिरहेकि छिन् । “व्यवस्थित तरिकाले जुनारको खेति गर्ने हो भने आम्दानी राम्रो छ” , आलेले भन्नुभयो, “मिहिनेत गरे पसिनाले मोति फल्दोरहेछ ।”
जुनार खेतिकालागि समुन्द्री तहबाट आठ सयदेखि १५ सय उचाईमा रहेको क्षेत्र उपयुक्त ठानिन्छ । सो भन्दा कम वा बढि उचाईमा जुनार खेति गर्दा दाना कम लाग्ने, बोक्रा बाक्लो हुने, छिट्टै बोट मर्ने लगायत विविध समस्या देखिने गर्दछ । आफूले जुनार रोपेको क्षेत्रमा हावापानि, घाम लगायत माटोलेपनि साथ दिएको आले बताउनुहुन्छ ।
जुनार खेतिमा राज्यको लगानीले किसान आकर्षित
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई जुनार सुरपरजोन सिन्धुली र स्थानिय सरकारले उपलब्ध गराएको सेवा, सुविधाबाट सिन्धुलीका किसान जुनार खेतितर्फ आकर्षित भइरहेका छन् । स्थानिय सरकार र जुनार सुपरजोन परियोजनाले किरा नियन्त्रण, विशेषज्ञ लगायत विभिन्न सेवा, सुविधा उपलब्ध गराएपछि किसानहरु जुनार खेतिमा आकर्षित भइरहेका हुन् । किसान आलेले भन्नुभयो, “किरा नियन्त्रणकालागि किसानको बलबुत्ताले संभव थिएन । राज्यले अध्ययन, अनुसन्धानसहित रोग पहिचान र रोकथामकालागि लगानी बढाउँदा किसानले अभिभावको महशुश गरेका छन् ।” जुनार सुपरजोन क्षेत्रमा जुनारको बिरुवा वितरण, बगैँचाको व्यवस्थापन, सिचाईँसँगै कोल्डस्टोर निर्माण लगायत जुनारको प्रबद्र्धनमा परियोजना र स्थानिय सरकारको भुमिका सराहनिय रहेको किसानले बताएका छन् ।
विपी राजमार्गसँगै भित्रि सडकहरु निर्माण भएपछि बजारको कुनै समस्या नभएकालेपनि जुनार खेतिमा किसान आकर्षित भएको गोलन्जोर गाउँपालिकाको अध्यक्ष शंकरराज बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा सडकको पहुँच थिएन । वस्तुलाई जुनार खुवाउने वा कुहाउनेको विकल्प थिएन । अहिले सडक संजाल विस्तार भएपछि जनुारको बजारपनि विस्तार भएको छ । जुनार बिक्रि नभएर कुहिने अवस्था हटेको छ ।” उहाँका अनुसार अहिले जुनार उत्पादन हुने गोलन्जोरका ठाउँहरुमा व्यवसायिक रुपमा जुनारको रुख नरोपेको घर भेटिदैँन ।
पछिल्लो समय मकै, कोदो, फाँपर, गहत लगायत अन्य बालि रोप्न छोडेर किसान जुनार खेतितर्फ आकर्षित भइरहेका छन् । गोलन्जोर गाउँपालिका ५ रतनचुराकी कृषक लीला थापाले भन्नुभयो, “एक रोपनि जग्गामा ३ मुरि मकै र २ मुरि कोदो फल्छ । एक रोपनिमै २५ वटा जुनारको बोट रोप्यो भने वार्षिक ५० क्विन्टल जुनार उत्पादन हुन्छ । २५ वटा रुखबाट प्रति बोट एक हजार रुपँैया आएपनि २५ हजार रुपैँया हुन्छ ।” गोलन्जोर गाउँपालिकाको रतनचुरा, जलकन्या, तीनकन्या, बितिजोर, भुवनेश्वरी, भीमेश्वर, मझुवा, रानीचुरी लगायत सुपरजोन क्षेत्रमा जुनारले अन्य बालिलाई विस्थापित गरेको स्थानिय सरोज बरालले बताउनुभयो ।
जुनारसँगै सुन्तलाको खेति
सुन्तलामा आम्दनिी धेरै हुनेभएपछि सिन्धुलीमा जुनारसँगै सुन्तला खेतिपनि फस्टाएको छ । सुन्तलाको मुल्य बढि हुने भएकालेपनि किसानहरुले सुन्तला खेति गरिरहेको फलफुल व्यवसायी हिक्मत खड्काले बताउनुभयो । बगैँचाबाट ५० देखि ६० रुपैँया प्रति केजि जुनार बिक्री हुने गरेको छ भने सुन्तलाको मुल्य प्रति केजि ८० देखि ९० सम्म पर्ने किसान बताउँछन् ।
गोडमेल र बगैँचा व्यवस्थापनमा जुनार जत्तिकै मिहिनेत र लगानी लाग्ने हुँदा सुन्तला खेति गर्नेको संख्या बढिरहेको स्थानिय अनिल मगर बताउनुहुन्छ । तर, सुन्तलामा बढि रोग लाग्ने र बोट बचाउन मुश्किल हुनेहुँदा थोरै भएपनि लामो समयसम्म जुनारबाटै मज्जाको आम्दानि हुनेभएकोले जुनार खेति गरिरहेको किसान लोक आलेले बताउनुभयो । त्यस्तै, सुन्तला देशभरि फल्ने तर जुनार रामेछाप र सिन्धुलीमा मात्र फल्ने भएकोले पहिचान जोगाउनपनि जुनार खेतिलाई प्राथमिकता दिएको आलेले बताउनुभयो ।