सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका ५ का विकास शाही नर्सरी व्यवसायबाट मनग्य आम्दानी लिइरहनुभएको छ । ३५ वर्षिय शाही नर्सरी व्यवसायबाट वार्षिक लाखौँ रुपैँया नाफा हुने गरेको सुनाउनुहुन्छ । ‘नर्सरी व्यवसाय गरेको झण्डै १२ वर्ष भयो । नाफा पनि राम्रै छ । वार्षिक १५ देखि २० लाख बढी आम्दानी हुन्छ’, उहाँले भन्नुभयो । उहाँले संचालन गर्नुभएको कालिका नर्सरी फार्ममा तीन सय बढी प्रजातीका फूल र प्लान्टका विरुवा उत्पादन भइरहेको छ । मेहेनत र लगनशील भई जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बन्नुभएको छ शाहि ।
२०६९ सालबाट नर्सरी व्यवसायमा लाग्नुभएको शाहीले १२ वर्षको अन्तरालमा विभिन्न स्थानमा शाखा संचालन गरेर फूल र प्लान्टका विरुवा उत्पादन गरिरहनुभएको छ । उहाँले कमलामाई नगरपालिका ५ मधुटारमा एक विग्गा जग्गामा फूल र प्लान्टको विरुवा उत्पादन गरिरहनुभएको छ । त्यस्तै, उहाँले कमलामाई नगरपालिका ६ लक्ष्मणचोक र धनुषा जिल्लाको लालगढ नगरपालिकामा नर्सरी व्यवसाय संचालन गरेको बताउनुभयो । शाहीले संचालन गर्नुभएको नर्सरीमा झण्डै एक दर्जन युवाले रोजगार समेत पाएका छन् । ‘मधुटारमा तीन जनाले रोजगारी पाएका छन् भने लक्ष्मणचोकमा दुई जना र लालगढमा चार जनाले काम गरिरहेका छन् । ‘अब काठमाडौँमा पनि नर्सरी व्यवसाय संचालन गर्ने तयारी गरिरहेको छु ’, उहाँले भन्नुभयो । आफ्नो काकाले नर्सरी व्यवसाय संचालन गरेको हुँदा त्यसबाटपनि प्रभावित भएर पुष्प व्यवसायमा लागेको शाहिले स्मरण गर्नुभयो । स्नातकसम्म अध्ययन गर्नुभएको उहाँले सिन्धुलीमै फूल र प्लान्टको बिरुवा उत्पादनको संभावना देख्नुुभयो । ‘स्नातक पढ्दापढ्दै मैले नर्सरी व्यवसाय सूरु गरेको हो । सिन्धुलीमा फूलको विरुवा उत्पादनमा राम्रो अवसर देखे, ग्राहकको फूलप्रतिको आकर्षण देखेर पनि यो व्यवसाय राम्रो हुने जस्तो लाग्यो, अनि व्यवसाय शुरु गरेँ’, उहाँले भन्नुभयो ।
फूलको बिरुवा भारत लगाएत विभिन्न देशबाट ल्याउने गरेको उहाँले बताउनुभयो । कालिका नर्सरीमा हाल इन्डोर र आउटडोर प्लान्ट र फूलका विरुवा उत्पादन हुने गरेको उहाँले बताउनुभयो । आफ्नै ठाउँमा केहि गर्छु भनेर नर्सरी व्यवसाय सुरु गरेको शाही बताउनुहुन्छ । सो पेसालाई उहाँका परिवारले पनि सहयोग गर्ने गरेका छन् । बुबा विष्णु बहादुर शाहीले विगत दुई दशक अघिबाटै संचालन गर्नुभएको व्यवसायलाई विकासले आधुनिक ढंगबाट संचालन गर्दै बजार विस्तार गरिरहनु भएको छ । आफूले उत्पादन गरेको फूल र प्लान्ट काठमाडौँ, महोत्तरी, बर्दिबास लगायत अन्य जिल्लामा समेत निर्यात हुने गरेको शाहीले बताउनुभयो । ‘स्थानीय बजारमा भन्दा बाहिरी जिल्लामा माग बढ्दो छ ’, उहाँले भन्नुभयो, ‘जिल्लामा पनि अहिले फूल र प्लान्टको माग बढ्दो छ ।’ पछिल्लो समय सिन्धुलीमा आउटडोर र इन्डोर फूल राख्ने ‘ट्रेन्ड’ बढेको शाहीले बताउनुभयो । ‘अहिले बनेका नयाँ घरहरुमा फुलको बगैँचाप्रति घरधनि आकर्षित भएका छन् । चाईनिज र जर्मनको दुबोको माग बढिरहेको छ ।’ उहाँले सिन्धुलीगढीको युद्ध संग्रालय अगाडिको पार्कको बगैँचा, कमलामाई नगरपालिकास्थित सिन्धुलीमाढीमा रहेको ‘चिल्ड्रेन’ पार्कको बगैँचा लगायत विभिन्न पाँच तारे होटल र निजि घरमा बगैँचा सजावटको काम गरिसकेको बताउनुभयो ।
आफ्नो नर्सरीमा प्रति गोटा ५० रुपैँयादेखि दुई हजार रुपैयाँसम्मको बिरुवा रहेकोे शाही बताउनुहुन्छ । नर्सरीमा डाइफनबेकिया, मरिच, पिसलिलि, चाईनिज लालीगुराँस क्यामेलिया, पिपल, सयपत्री, गोदावरी, लालुपाते जस्ता फूलका बिरुवा र रुद्राक्ष, लिची, सुन्तला, आँप, जुनार जस्ता फलफूलका विरुवा छन् । पछिल्लो समय होटल, अस्पताल, सरकारी भवनमा मात्र नभइ कतिपय निजी घरका बार्दली र आँगनमा समेतसजावटकालागि फूलका बिरुवा राख्ने चलन बढेकाले फूलको विरुवाको माग बढेको उहाँ बताउनुहुन्छ ।