सिन्धुली – स्थानीय स्तरमा पर्यटन प्रवर्द्धन गर्न स्थानीय सरकार प्रयासरत देखिएपनि निती तथा कार्यक्रम भने प्रभावकारी हुन सकेको छैन ।
हरेक स्थानीय सरकारले पर्यटकीय क्षेत्रको पहिचान गरि त्यसलाई विकास र प्रवर्द्धन गर्ने निती लिएको भएपनि जिल्लाका केही पर्यटकीय स्थल बाहेक अन्य स्थानको विकास र प्रवर्द्धन हुन सकेको छैन ।
केन्द्र, प्रदेश तथा स्थानीय सरकारले आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउनका लागी बर्षेनी निती कार्यक्रम तथा बजेट बिनियोजन गरेर विविध गतिविधीहरु सञ्चालन गरिरहेका छन तर त्यो आवश्यक मात्रामा हुन सकेको छैन । बर्षेनी पर्यटकीय क्षेत्रको विकासका लागी खर्च गरेपनि त्यसको प्रभावकारीता देखिन सकेको छैन ।
सिन्धुलीको ऐतिहासीक सिन्धुलीगढीले पछिल्लो दशक आन्तरिक तथा बाह्य पर्यटक तान्न सफल भएपनि सिन्धुलीको अन्य पर्यटकीय स्थलहरु हरिहरपुरगढी, पन्चकन्या पोखरी, फिक्कल लगायतका स्थानले खासै पर्यटक तान्न सफल भएको देखिदैन । बर्षौ देखी केन्द्र, प्रदेश तथा स्थानीय सरकारको लगानी भएपनी त्यसको प्रतिफल स्थानीय सरकारले लिन सकेका छैनन् ।
पर्यटनलाई सबै प्रकारका आर्थिक गतिविधीसँग जोडेर रोजगारी सिर्जना गर्ने तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने विषयमा स्थानीय सरकारले खासै जोड दिएको देखिदैन ।
कतिपय धार्मिक एवम् पर्यटकीय स्थलहरु प्रचार प्रसारको अभावका कारण पनि ओझेलमा परिरहेको अवस्था छ । स्थानीय सरकारले त्यस्ता धार्मीक एवम् ऐतिहासीक महत्वका स्थलहरुको पुर्ननिर्माण गर्दै प्रचारमा ध्यान दिन आवश्यक रहेको नागरिक निगरानी सञ्जाल सिन्धुलीका अध्यक्ष बेदराज दाहाल बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “हाम्रो जिल्ला इतिहासका हिसाबले, सस्कृतिक हिसाबले र धार्मिक हिसाबले अति नै महत्वपूर्ण जिल्ला हो । यहाँका ऐतिहासीक धार्मीक स्थल, कला सस्कृतिको संरक्षण गर्न सकेमा स्थानीय सरकार आत्मनिर्भर बन्न सक्छ र रोजगारी पनि सिर्जना हुन सक्छ ।”
स्थानीय सरकारको तर्फबाट पर्यटनलाई विकास गर्दै नागरिकहरुलाई आत्मनिर्भर बनाउन प्रयास भईरहेको मरिण गाउँपालिका अध्यक्ष बिमर्श मोक्तान बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी पर्यटनलाई प्रवर्द्धन गर्न विशेष ध्यानका साथ काम गरिरहेका छौं । मरिण गाउँपालिका क्षेत्रको ऐतिहासीक पन्चकन्या पोखरी, दरबार डाडाँ टुडिखेल दरबार, धुरी ढुंगा लगायतका स्थानहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजनामा छौं ।” पर्यटकीय क्षेत्रमा भौतिक पुर्वाधारहरु निर्माण गर्न स्थानीय सरकारले मात्र गर्न सक्ने अवस्था नरहेको र केन्द्र सरकारले आवश्यक मात्रामा सहयोग नगरेको अध्यक्ष मोक्तानले बताउनुभयो ।
सिन्धुलीका स्थानीय तहहरुमा अनगिन्ती गन्तव्यहरु अथाहा पर्यटकीय सम्भावना बोकेर उचित प्रचार प्रसारको पर्खाइमा बसिरहेका छन् । अनेकौ सांस्कृति तथा धार्मिक सम्पदा र तिर्थस्थलहरु संरक्षणको अभावमा लोपोन्मुख छन् । त्यस्ता सवै धरोहरहरुको खोज र प्रचारप्रसार गर्न आबश्यक रहेको नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरे बताउनुहुन्छ ।
पर्यटकीय दृष्टिबाट सिन्धुली निक्कै संभावना बोकेको जिल्ला भए तापनि यसको विकास र बिस्तारमा कैयन् अवरोधछन ्। कमजोर पर्यटकीय पूर्वाधार, जोखिमपूर्ण यातायात, तालिम प्राप्त जनशक्तिको न्यूनता, सम्बद्ध निकायको कमजोर संस्थागत क्षमता, कमजोर समन्वय, पुरातात्विक तथा धार्मिक स्थलहरूको पहिचान, संरक्षण तथा सम्वद्र्धन अपेक्षित मात्रामा नहुनु, मनोरञ्जन क्षेत्र व्यवस्थित र व्यावसायिक हुन नसक्नु,प्रचारप्रसारको न्यूनता आदि यस क्षेत्रको विकासका मुख्य अवरोध रहेका छन ।
पर्यटनको विकासका लागी स्थानीय सरकारको प्रयास जारी रहेको भएपनि अझै अपुग अवस्थामै छ । पर्यटन प्रबद्र्धनका लागी निती तथा कार्यक्रमहरु बनाएपनि त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न सक्ने दक्ष जनशक्तिकै अभाव रहेको छ । पर्यटन विकासका लागी स्थानीय सरकारले विशेष अभियान सञ्चालन गर्न सकेमा आर्थिक सबृद्धको गतिलो आधार बन्न सक्ने जानकारहरु बताउछन ।