सिन्धुली– सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा आगामी पुष २७ गतेदेखि महोत्सवको झल्को दिने गरि ‘साँस्कृतिक तथा फुड फेस्टिभल २०८०’ आयोजना हुने भएको छ । स्थानिय इभेन्ट संचालक ब्रदरहुड इन्टरटेमेन्ट एण्ड म्यानेजमेन्टले आगामी पुष २७ गदेखि माघ ७ गतेसम्म फेस्टिबल आयोजना गर्न लागेको हो ।
मंगलबार पत्रकार सम्मेलन गर्दै ब्रदरहुड इन्टरटेमेन्ट एण्ड म्यानेजमेन्टका प्रबन्धक अश्विन थापा मगरले कमलामाई नगरपालिका ६ स्थित खम्बेचौरमा १० दिने फुड फेस्टिबल संचालन हुने जानकारी दिनुभयो । कला, संस्कृतिको जगेर्ना, कृषि प्रबद्र्धन, स्थानिय उत्पादनलाई बजारिकरण र उद्यमीलाई प्रोत्साहन गर्न ‘कृषि, व्यापार, उद्योग र पर्यटनको कसी; साँस्कृतिक तथा फुड फेस्टिभल २०८०’ भन्ने मूल नारासहित फुड फेस्टिबल संचालन गर्न लागेकोे मगरले जानकारी दिनुभयो । फेस्टिबलमा जिल्लामा बसोबास गर्ने विभिन्न समुदायको विशेष परिकारहरुको स्टल राखिने थपाले बताउनुभयो । १० दिने ‘मिनि महोत्सव’ ले लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्नमा सकारात्मक भूमिका खेल्ने आयोजकको भनाइ छ । आयोजक टोलीका अनुसार आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी सिन्धुलीको पर्यटन विकासमा टेवा पु¥याउने र जिल्लाको उत्पादन, परिकार र संस्कृतिको प्रवद्र्धन गर्ने महोत्सवको मुल उद्देश्य हो । जिल्लाको सांस्कृतिक प्रवद्र्धन एवं संरक्षणमा समेत यो कार्यक्रम सहयोगी हुने जिल्लाका व्यवसायीले अपेक्षा गरेका छन् । फुड फेस्टिबलमा चर्चित गायक–गायिका, कलाकार तथा सांगितिक समूहहरूको समेत प्रस्तुति हुनेछ । साथै, विभिन्न नेपाली खानाका परिकारहरू र स्वदेशी उत्पादनहरूको विषेश प्रदर्शन÷प्रस्तुतिका स्टलहरू हुनेछन् । बालबालिका र युवाका लागि विभिन्न खेलहरु राखिने आयोजकले जनाएको छ ।

बाल उद्यान, रोटेपिंग, मारुती सर्कस, कोलम्वस, जादु, बालवालिकाको खेल सामाग्री सहित फेस्टिबलमा मनोरन्जनको प्याकेजनै रहेको प्रबन्धक मगरले बताउनुभयो । मगरका अनुसार फेस्टिभलमा सिन्धुली जिल्लाभर उत्पादित कृषिजन्य उत्पादनको विक्रि वितरण तथा प्रदर्शनका लागि स्टल निशुल्क गराईने छ । स्थानिय उत्पादनलाई प्रोत्साहन गर्दै स्वदेशमै पौरख गर्नेलाई बजारकोे निशुल्क व्यवस्था गरिएको मगरले बताउनुभयो । त्यसैगरि, हस्तकला तथा घरेलु उद्योगको स्टलमा ५० प्रतिशत छुट दिइने छ । सरकारी स्वास्थ्य संस्थालाई सेवाको लागि निशूल्क स्टल व्यवस्था गरिने मगरले बताउनुभयो । सिन्धुली उद्योग वाणिज्य संघमा आवद्ध व्यापारीको हकमा प्रति स्टल ३३ प्रतिशत छुटको व्यवस्था गरिएको मगरले बताउनुभयो । उहाँले स्टल बुकिङ गर्न संघमा आवद्धता भएको प्रमाणपत्रको प्रतिलिपीसहित सम्पर्क गर्न अनुरोध गर्नुभयो ।
महोत्सवमा ५० भन्दा बढी यस्ता स्टलहरू हुने अनुमान छ भने ६० हजार बढी अवलोकनकर्ताहरू पुग्ने आयोजकको अनुमान छ ।