शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा चार महिनामा ७ प्रतिशत मात्र विकास बजेट खर्च

शनिवार , मंसिर ९, २०८०

सिन्धुली – सिन्धुलीमा संघीय सरकार मातहतका कार्यालय भन्दा प्रदेश मातहतका कार्यालय विकासे बजेट खर्चमा कञ्जुँस देखिएका छन् । प्रदेशतर्फ सिन्धुलीमा रहेको १३ कार्यालयले चालु आर्थिक वर्ष २०८०/०१ को प्रथम चौमासिकमा पुजिँगत खर्च ७ प्रतिशतमात्र गरेका छन् । बितेको चार महिनाको अवधिमा सिन्धुलीमा विकास लक्षित बजेटको पूँजीगत खर्च हेर्दा अत्यन्तै निराशाजनक देखिएको हो ।

बागमती प्रदेश सरकारले एक अर्ब ९९ करोड बराबरको बजेट विनियोजन गर्दा साउनदेखि कात्र्तिक मासन्तसम्म जिल्लामा १३ करोड ३२ लाख मात्र खर्च भएको छ । यता, चालू खर्चतर्फ तलवभत्ता, कर्मचारीको सेवा सुविधामा भने उल्लेखीय रुपमा बजेट खर्च भएको छ । चालूगत तर्फ चार महिनामा २० प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीले जनाएको छ । चालू तर्फको कुल एक अर्ब १४ करोड ६५४ लाख बराबरको रुपैयाँ मध्ये हालसम्म २३ करोड ४० लाख बराबर खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीका प्रमुख हिरालाल भण्डारीले बताउनुभयो ।

प्रदेशतर्फ चालु र पुजिँगत खर्च गरी वित्तिय प्रगति १२ प्रतिशतमात्र रहेको छ । अब प्रदेशतर्फ जिल्लामा विनियोजित ८८ प्रतिशत बजेट आठ महिनामा खर्च गर्नुपर्ने हतारो हुनेछ । प्रदेशतर्फ विगतका वर्षझै यसवर्ष पनि विकास बजेट खर्चमा सुधार आउन सकेन । चार महिना बित्दा कम्तिमा २५ प्रतिशत बढि खर्च भइसक्नुपर्ने थियो । तर, ७ प्रतिशतमात्र विकास बजेट खर्च भएको छ । समयमै पुजिगत बजेट खर्च नहुँदा आर्थिक वर्षको अन्त्यमा बजेट सक्न हतारो हुने गर्दछ । यता, प्रमुख भण्डारीका अनुसार साउनमा प्राविधिक कारणले बजेट निकासा नभएको र चाडबाँडको महिना भएकाले पनि सन्तोषजनक खर्च हुन नसकेको हो । उहाँले भन्नुभयो, “विगतको ट्रेन्ड हेर्दा दोश्रो चौमासिकमा खर्च बढ्नुपर्ने हो ।”

प्रदेश अन्तर्गत विकास कार्यालयमा प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीमाढीले अन्य १२ कार्यालयभन्दा सर्वाधिक ११ करोड बराबरको खर्च गरेको छ । त्यस्तै, चार महिनाको अवधिमा शहरी विकास तथा भवन कार्यालय सिन्धुलीलाई ३२ लाख , जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, सिन्धुलीलाई १८ लाख, वन डिभिजन कार्यलय सिन्धुलीललाई ७९ लाख र वन डिभिजन कार्यालय मरिणलाई ८२ लाख बजेट कोलेनिकाबाट निकासा भईसकेको प्रमुख भण्डारीले बताउनुभयो ।

यता, जिल्लामा केन्द्र सरकारको बजेटतर्फ विकासे खर्च भने सन्तोषजनक देखिएपनि निराशाजनक रहेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका अनुसार संघबाट जिल्लामा विनियोजीत भएको बजेटको पूँजीगत तर्फ ४ अर्ब ५१ करोड बराबर मध्ये कार्तिक मसान्तसम्ममा एक अर्ब ८८ करोड बराबरको खर्च छ । संघतर्फ जिल्लामा विकास बजेटका लागि छुटट्याइएको कुल बजेट मध्ये खर्चको भएको ४२ प्रतिशत हो । सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाले मात्रै ४० प्रतिशत अर्थात् एक अर्ब ८४ करोड रुपैँया बराबार विकासे खर्च गरेको छ भने अन्य ३० कार्यालयले जम्मा २ प्रतिशत अर्थात् चार करोड रुपैँया बराबर मात्र खर्च गरेका छन् ।

त्यस्तै, चालूगत तर्फ चार महिनामा ३० प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ । चालू तर्फको कुल ६ अर्ब ६९ करोड बराबरको रुपैयाँ मध्ये हालसम्म १ अर्ब ८८ करोड रुपैयाँ बराबर खर्च भएको छ ।

असारे विकासकै निरन्तरता

पूँजीगत बजेट खर्चका आधारमा विकासको गति मापनसमेत गरिन्छ । तर, विगतका वर्षझै यो वर्ष पनि असारमसान्तको अन्तिम तिर हतारहतार बजेट खर्चगर्ने प्रवृतिले निरन्तरता पाउने कोष तथा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ । विगतका वर्षझैँ चार महिनमा २५ प्रतिशत विकास बजेट खर्च हुन सकेन । विकास बजेट खर्च हुन नसक्नुले समग्र विकासका काममा प्रभाव पर्छ । जेठ १५ मै बजेट ल्याउने संवैधानिक व्यवस्था गरिए पनि असारे विकासको रोकिन सकेका छैन । यस वर्ष पनि आर्थिक वर्षको अन्तिममा सिन्धुलीमा खर्चको चाप बढ्ने, जथाभावी खर्च र निमार्णको काम हुने संकेत देखिएको छ ।

प्रतिक्रिया