शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कृषकलाई आकर्षित गर्न हरिहरपुरगढी गाउँपालिकाले गर्यो फूल खेति

आइतवार , कार्तिक १९, २०८०

सिन्धुली– सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले कृषकलाई पुष्प (फूल) खेतितर्फ आकर्षित गर्न गाउँपालिकाको जग्गामा सयपत्री फूलको खेति गरेको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिका २ स्थित झनझनेमा झण्डै एक कठ्ठामा मन्चिङ प्रविधिको प्रयोग गरि गाउँपालिकाले सयपत्रीको फूलको बिरुवा रोपेको गाउँपालिकाको कृषि शाखाका कर्मचारी प्रवेश देवकोटाले जानकारी दिनुभयो ।

प्रविधि प्रदर्शन र कृषकलाई हरिहरपुरगढी गाउँपालिकामा पुष्प खेतीको संभावना देखाउन रोपेको एक हजार सयपत्री फूल तयारी अवस्थामा छ । हरिहरपुरगढी गाउँपालिकाले कार्यालय परिसरमा रहेको जग्गामा कृषक डेमो प्लट निर्धारण गर्दै गाउँपालिकाकै लागि नविनतम मल्चिङ प्रविधीमा सयपत्री फूलको खेती गरेको हो । देवकोटाले भन्नुभयो, ‘कृषकहरुलाई विभिन्न खेती प्रविधि सिकाउने उद्देश्यले कृषक डेमो प्लट बनाई प्रविधिको प्रयोगबाट मौसम अनुसारका विभिन्न कृषि उपजहरु उत्पादन गर्दै आइरहेको छ । त्यस्तै, अहिले मल्चिङ अर्थात् छापो प्रविधिमा सयपत्री फूल, खर्बुजा, पिरो खुर्सानी, भेडे खुर्सानी खेती गरि उत्पादन गरेका छौँ ।’

केहि महिनाअघि रोपेको सयपत्री फूल सप्रेको र कृषकहरुले डेमो प्लटको अवलोकन गर्दै आगामी दिनमा मल्चिङ प्रविधिबाट नै फुल खेती गर्ने बताएको देवकोटाले बताउनुभयो । गाउँपालिकाको कृषि शाखा अन्तर्गत चारजना बगैंचा हेरालुले गाउँपालिका परिसरमा रोपको फूलको हेरचाह गर्दै आएका छन् । एक हजार बोटबाट झण्डै ८० केजिबढि फूल संकलन हुने देवकोटाले अनुमान गर्नुभयो । आइतबार फूल टिपेर गाउँपालिकाले निर्माण गरेको कोल्डस्टोरमा भण्डारण गरिने देवकोटाले जानकारी दिनुभयो । फूलको बिक्रिकालागि गाउँपालिकाको कृषि विकास शाखाको फेसबुक पेजबाट प्रचारप्रसार गरिएको र सिन्धुली र हेटौँडाका केहि व्यापारीहरु सम्पर्कमा आएको देवकोटाले बताउनुभयो । फूल बिक्रिबाट आएको रकम गाउँपालिकाको खातामा जम्मा हुने उहाँले जानकारी दिनुभयो ।

त्यसैगरि, गाउँपालिकाले हरिहरपुरगढीमा फूल खेतिको परिक्षणकालागि कृषक समूहलाई पनि समावेश गरेको छ । हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर २ स्थित झनझनेमा रहेको संयुक्त कृषक समुहलाई दश हजार सयपत्री फूलको विरुवा वितरण गरिएको गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेलले जानकारी दिनुभयो । शतप्रतिशत अनुदानमा फूलको बिरुवा वितरण गरिएको उहाँले बताउनुभयो । उक्त समूहका सदस्य कृषक कमल राई एक्लैले करिब ८ कठ्ठा जग्गामा गाउँपालिकाले अनुदानमा दिएको सयपत्री फूलको खेति गर्नुभएको छ । राईले भने परम्परागत तरिकाले उक्त फूलको खेति गर्नुभएको हो । उहाँले गर्नुभएको खेतिबाट झण्डै एक सय २० केजि बढि फूल संकलन हुने देवकोटाले अनुमान गर्नुभएको छ ।

मल्चिङ प्रविधिमा कृषक आकर्षित

हरिहरपुरगढी गाउँपालिकाले परिक्षणकालागि कृषक समूहलाई सयपत्री फूलको बिरुवा वितरण गरेको थियो । कृषकले परम्परागत प्रणालीबाट उक्त फूलको खेति गरे भने गाउँपालिकाले कार्यालय परिसरमा मल्चिङ प्रविधिको प्रयोग गरि एक हजार फूल रोप्यो । कृषक समूह र गाउँपालिका दुवैले खेति गरेको फूल सप्रिए । तर, कृषकले फूल खेति गर्र्दा गोडमेल गर्नुपरेकोले झन्झट भएको बताए । यता, मल्चिङ प्रविधिबाट खेति गरिएको फूलमा भने परम्परागत प्रणालि भन्दा सजिलो हुने गाउँपालिकाका कृषि कर्मचारी देवकोटा बताउनुहुन्छ ।

परम्परागत कृषि प्रणाली देखि अहिलेको समयसम्म आइपुग्दा नयाँनयाँ प्रविधि प्रयोग गरी कृषिजन्य वस्तुहरूको उत्पादन तिर जिल्लाको कृषि पनि अघि बढिरहेको छ । यसैक्रममा, बोट बिरुवामा चिस्यानको संरक्षणको लागि विभिन्न तरिकाहरु अपनाइएको पाइन्छ भने बिरुवामा चिस्यान को मात्रा कायम राख्न, झारपात नियन्त्रण गर्न, माटोको तापक्रम लाई स्थिर राख्नका साथै, उत्पादनमा वृद्धि ल्याउनको लागि प्लास्टिक मल्चिंग को प्रयोग गरिने देवकोटा बताउनुहुन्छ । देवकोटाको अनुसार विरुवाको वरिपरिको माटोको सतहलाई कुनै पनि जैविक पदार्थ वा प्लास्टिकले ढाक्ने प्रविधि नै मल्चिङ प्रविधि हो जसबाट बिरुवा वा यसको जराको तापक्रमको बढ्ने वा घट्ने प्रक्रियामा प्रभावकारी तरिकाले नियन्त्रण गर्न सकिन्छ ।

गाउँपालिकाले मल्चिङ प्रविधिको प्रयोग गरेपछि कृषक यस प्रविधितर्फ आकर्षित भएका छन् । आगामी दिनमा मल्चिङ प्रविधिबाटै फूल तथा तरकारी रोप्ने कृषकले बताएका छन् । कृषक कमल राईले भन्नुभयो, ‘प्रविधिको प्रयोगले सहजतासँगै उत्पादनमा पनि वृद्धि हुनेहुँदा आगामी दिनबाट मल्चिङ प्रविधिको प्रयोग गर्नेछौँ ।’

प्रतिक्रिया