शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीको सुनकोशीमा पढ्दै, कमाउँदै विद्यार्थी

शुक्रवार , कार्तिक १७, २०८०

सिन्धुली – सुनकोशी गाउँपालिका ३ प्रगतिशिल माध्यमिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम संचालन भइरहेको छ । विद्यालयमा गत चैत महिना देखि उक्त कार्यक्रम संचालन भएको हो । पढ्दै कमाउदै कार्यक्रम अन्तरगत प्रगतिशिल माविका विद्यार्थीले मौसमी तथा बेमौसमी तरकारी लगाउने गरेका छन् । त्यसबाट हुने आम्दानी विद्यार्थीले आफ्नो शिक्षामा खर्च गर्दै आएको बताउँछन् । कक्षा १२ मा सिभिल इन्जिनियर अध्ययनरत सुनकोशी गाउँपालिका ५ का सन्देश जंग थापा विद्यालयमा पढाइसँगै कृषिमा पनि आबद्ध हुनुहुन्छ । विद्यालयले सुरु गरेको ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत उहाँँ पढाइसँगै कृषिमा पनि आबद्ध हुनुभएको हो । कृषिमा आबद्ध भएपछि उहाँले खाजा खर्च आफैँले जोहो गरिरहनुभएको छ भने विद्यालयमा सिकेको आधुनिक कृषिको सीप बुबा–आमालाई पनि सिकाउन पाएको बताउनुहुन्छ ।

सोहि विद्यालयको कक्षा १२ मा ब्यबस्थापन विषयमा अध्ययनरत भावना श्रेष्ठ पनि पढदै कमाउँदै कार्यक्रम अन्तरगत कृषिको आधुनिक सिप सिक्न पाएको बताउनुहुन्छ । “हामीले कृषिसँग सम्बन्धित प्राविधिक ज्ञान व्यवहारमा पनि लागू गरेका छौं । विद्यालयमा सिकेको कृषि उत्पादन गर्ने तरिका घरमा गएर सिकाउँछौं । यसले प्राविधिक ज्ञानसमेत सिक्न पाएका छौं,” उहाँले भन्नुभयो ।

पहिले परम्परागत तरिका अपनाउँदा तरकारी किनेर खानुपर्ने बाध्यता रहेको कक्षा १२ मा अध्ययनरत अपेक्षा श्रेष्ठ बताउनुहुन्छ । अहिले भने तरकारी किनेर खानुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो । कार्यक्रममा सहभागी भएकाले सैद्धान्तिक शिक्षासँगै व्यवहारिक ज्ञान पनि दिएको उहाँले बताउनुभयो । सन्देश, भावना र अपेक्षा जस्तै विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी पढ्दै कमाउँदै कार्यक्रममार्फत् कृषिमा आबद्ध भएका छन् । साथै, अभिभावकलाई पनि कृषिसम्बन्धी आधुनिक सीप सिकाएर आत्मनिर्भर हुन प्रेरित गरिरहेका छन् ।

प्रगतिशिल माविका शिक्षक रमेश आचार्यले शिक्षालाई आयआर्जनसँग जोड्न सके परनिर्भरता हट्ने र स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने गरी विद्यालयले कार्यक्रम अघि बढाएको बताउनुभयो । ‘हामी शिक्षालाई व्यावहारिक बनाउन चाहान्छौं । पढेर विदेश जाने बाध्यतालाई अन्त्य गर्न विद्यालयबाटै गरिखाने दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमै काम गर्ने वातावरण तयार गर्ने विद्यालयको लक्ष्य हो ।”

सिक्दै, कमाउँदै कार्यक्रमका लागि प्रगतिशिल माविलाई सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा पाँच लाख पचास हजार बजेट विनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले बताउनुभयो । उहाँका अनुसार संघिय सर्सत अनुदान अन्तर्गत कार्यक्रम संचालन भएको हो । सिक्दै, कमाउँदै कार्यक्रमका लागि गाउँपालिकाले प्रगतिशिल माविलाई छनोट गरेको उहाँले बताउनुभयो ।

चैत महिनाबाट विद्यालयमा संचालन भएको उक्त कार्यक्रम एकदमै प्रभावकारी देखिएको विद्यालयका प्रधानाध्यापक सरिता चौलागाईले बताउनुभयो । उहाँका अनुसार विद्यालयको पाँच रोपनी जमिनमा विद्यार्थीले मौसम अनुसारको तरकारी साथै फलफुल लगाउने गर्दछन् । विद्यार्थीले लगाएको एक ट्रक भ्यान्टा समेत विक्रि भइसकेको छ भने तिहारका लागि लगाएको सयपत्री फुल समेत विक्रि भइसकेको छ । तिहारका लागि झण्डै एक रोपनी जमिनमा सयपत्री फुल लगाइएको उहाँले बताउनुभयो । झण्डै पचास केजि फुल उत्पादन भएको थियो । उत्पादित फुल विक्रिबाट १६ हजार आएको उहाँले जानकारी दिनुभयो । हाल दुइ वटा टनेलमा टमाटर, खुसार्नी लगाएत मौसमी तरकारी लगाउन तयार गरिएको प्रधानाध्यापक चौलागाईले बताउनुभयो । मौरी पालन समेत गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया