शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

शिक्षासँगै विद्युतिय गाडीको व्यवसायमा रम्दै मास्के

सोमवार , आश्विन २९, २०८०

सिन्धुली– पछिल्लो समय उपत्यकामा ‘राईड सेयरिङ’ व्यवसाय फस्टाएसँगै यात्रुलाई गन्तव्यमा पुग्न सहज भएको छ । २०७२ सालमा भारतीय नाकाबन्दीले देशमा पेट्रोलियम पदार्थ अभाव हुँदा काठमाडौँमा ‘लिफ्ट कल्चर’ फस्टाएको थियो । भारतले गरेको नाकाबन्दीताका काठमाडौँमा सवारीसाधन एकदमै कम कुद्न थाले । सवारीसाधन नपाएर नियमित कामकाज नै बिथोलिएको थियो । नाकाबन्दीको बेलामा सबैले एकअर्कालाई सहयोग गरौँ भन्दै निजी सवारीमा आउँदा–जाँदा मान्छेहरूले लिफ्ट दिन थाले । मोटरसाइकल, स्कुटरमा मात्र नभइ निजी कारमा समेत लिफ्ट दिइन्थ्यो । आफ्नो सवारीसाधनमा अर्को व्यक्तिलाई ‘लिफ्ट’ दिने अवधारणालाई केही संस्थाहरुले अहिले ‘राइड सेयरिङ’ का रुपमा व्यवसायिकरण गरेका छन् । ‘राइड सेयरिङ’ लाई व्यवसायिकरण गर्ने मध्ये सिन्धुलीको कमलामाई नगरपालिका ७ का राजेश मास्के पनि एक हुनुहुन्छ ।

कमलामाई नगरपालिका ७ स्थित शिद्धबाबा अंग्रेजी आवासीय उच्च माध्यमिक विद्यालयको प्रधानाध्यापक मास्केले साथीहरुसँग मिलेर संयुक्त रुपमा ई–ड्राईभ नेपाल संचालन गर्नुभएको छ । ई–ड्राईभ नेपाल मार्फत मोरसाइकल र सवारीसाधन अनुमतिपत्र प्राप्त राईडरहरुले आयआर्जन गर्न सक्ने ई–ड्राईभ नेपालका अध्यक्ष मास्कले बताउनुभयो । उक्त राईड सेयरिङ एपमा पाच सयजना राईडर आबद्ध छन् । अन्य राईड सेयरिङ व्यवसाय भन्दा ई–ड्राईभ नेपाल भिन्न रहेको अध्यक्ष मास्केले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले २५ वटा विद्युतिय गाडी खरिद गरेर यात्रुलाई सेवा दिन लागेका छौँ । अन्य राईड सेयरिङ व्यवसायले गाडीनै खरिद गरेर सेवा दिएको छैन, सिर्फ राईडरहरु मार्फत सेवा दिदैँ आएको छ ।” ई–ड्राइभ नेपालले थप ५० वटा विद्युतिय ट्याक्सि खरिदकालागि आवश्यक प्रक्रिया पुरा गरिसकेको उहाँले जानकारी दिनुभयो । १० करोड नगद लगानीमा शुरु गरिएको ई–ड्राइभ नेपालले प्रदुषण रहित विद्युतिय गाडीको प्रयोगलाई प्रोत्साहन गरेको छ । “पेट्रोलियम गाडीभन्दा विद्युतिय गाडीमा यात्रा गर्दा सेवाग्राहीलाई सस्तो शुल्क पर्दछ ।”, अध्यक्ष मास्केले भन्नुभयो, “वर्षेनि पेट्रोलियम पदार्थ खरिद गर्न नेपालबाट खर्बौँ पैसा बाहिरिने गर्दछ । विद्युतिय गाडीको प्रयोगले नेपालमै उत्पादन भएको विद्युतको खपतसँगै व्यपार घाटा न्युन गर्नपनि मद्धत गर्दछ ।”

जमलमा कर्पोरेट कार्यालय रहेको ई–ड्राइभ नेपालले निजि लगानीमा दुई ठाउँमा चार्जींग स्टेशन रहेको छ । सितापाईला र सातदोबाटोमा चार्जिंग स्टेशन रहेको बताउँदै मास्केले अन्य ठाउँमापनि चार्जिंग स्टेशन विस्तार गर्ने योजना रहेको बताउनुभयो ।

विगत तीन दशकदेखि शिक्षा क्षेत्रमा आबद्ध रहनुभएका मास्केले शिक्षा र व्यवसायलाई सँगै अघि बढाउने जानकारी दिनुभयो । २५ वटा देश घुमिसक्नुभएका मास्केले युवालाई स्वदेशमै रोजगारीको अवसरसँगै विद्युतिय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न ई ड्राइभ संचालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रविधिको अधिकतम प्रयोग गर्न सके रोजगारीकालागि नेपाली युवाहरु विदेशिनुपर्ने बाध्यता हट्ने छ । तर, फेसबुकलाई मात्र प्रविधि सोच्दा यहाँका युवाहरुको अवस्था दयनिय छ । प्रविधिलाई प्रोत्साहन गर्न राज्य गम्भिर हुन जरुरी छ ।” आफूले पढाएका विद्यार्थीहरुले हासिल गरेको दक्षताप्रति सन्तुष्ट रहेको मास्केले बताउनुभयो । नयाँ व्यवसाय शुरु गरेपनि शिक्षा क्षेत्र नछोड्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षण पेसाले मलाई आनन्दित गराउँछ । विद्यालयबाट शिक्षा दिनेछु । नयाँ व्यवसायबाट युवालाई रोजगार ।”

प्रतिक्रिया