शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमाढीको शनिबार हाटबजारः बढ्यो खसीको व्यापार

आइतवार , आश्विन २१, २०८०

सिन्धुली– सिन्धुलीको सदरमुकाम समेत रहेको सिन्धुलीमाढी बजारमा हरेक शनिबार हाट लाग्छ । जिल्लाको कमलामाई नगरपालिका ६ स्थित शनिबारे हाट बजार जिल्लाकै पुरानो र ऐतिहासिक हाट हो ।

दशैँ नजिकिएसँगै शनिबारे हाटमा खसी, बोका किन्ने र बेच्नेको निकै भिड थियो । बजारमा विशेषगरी लत्ताकपडा र खसी, बोका किनबेच गर्नेहरुको संख्या अरु समयमा भन्दा शनिबार अलि बढी नै थियो । जिल्लाका अन्य स्थानियत तहबाट समेत किसानहरु शनिबारे हाटबजार खसी बोका बिक्री गर्न आएका थिए । खसी, बोकाको व्यापार राम्रै भएको मरिण गाउँपालिका ६ कि व्यापारी बिन्दा मगरले बताउनुभयो ।

दसैं सिजनमा खसीबोकाको बिक्री राम्रो हुने र मूल्य पनि राम्रै पाइने भएपछि यही सिजनमा खसीबोकाको व्यापार गर्न शनिबारे हाट बजार लिएर आउनेहरु बढेको कमलामाई नगरपालिका ६ कि बिनिता खड्काले बताउनुभयो । धेरैले यहि हाटमा खपत नहुने खसीबोकाहरु राजधानी काठमाडौँ समेत लैजाने गरेका छन ।

केहि हप्ता अघिको हाटमा भन्दा शनिबारको हाटमा खसी, बोका निकै महंगो रहेको खसी किन्न आउनुभएका कमलामाई नगरपालिका ५ का सन्तोष कार्कीले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष मासुको भाउ बढेकाले पनि किसानहरुले नै खसीबोकाको मुल्य वृद्धि गरेको उहाँले बताउनुभयो । तर, हाटमा जिल्लाका ग्रामिण क्षेत्रबाट बिक्रीका लागि ल्याइएका खसी बोकाको स्वास्थ्य परीक्षण नगरी बिक्री गर्ने गरिएको छ । दसैँ लगायतका चाडवाडहरुमा हजारौंको संख्यामा खसीबोका विक्रि वितरण हुने गरेको भएपनि त्यसको स्वास्थ्य जाँचका लागि आवश्यक व्यवस्थापन नहुँदा भने समस्या आएको छ ।

प्रतिक्रिया