सिन्धुली – पछिल्लो दुई साता यता विपी राजमार्गमा हरियो नम्बर प्लेटका सवारी साधनको लर्को लागेको छ । रामेछापको मन्थलीबाट लुक्लाका लागि उडान सुरु भएसँगै विपी राजमार्गमा पर्यटक सवारीको संख्या बढेको हो । मुख्य पर्यटकीय सिजनका लागि सगरमाथातर्फ जाने पर्यटकलाई लक्षित गरेर निजी विमान कम्पनीहरुले गत असोज ७ गतेदेखि रामेछापको मन्थली विमानस्थलबाट लुक्लाका लागि व्यावसायिक उडान थालेसँगै विपी राजमार्गमा हरियो नम्बर प्लेटको गाडीको आवतजावत बढेको राजमार्ग आसपासका होटल तथा रेष्टुरेन्ट व्यवसायीले बताएका छन् ।
पर्यटकका लागि सिजन मानिने यस बेला काठमाडौँको एयरपोर्ट व्यस्त भई ट्राफिक जाम हुने भएपछि तारा, समिट र सीता एयरले विदेशी पर्यटकहरूका लागि सोलुखुम्बुको लुक्लासम्म मन्थलीबाट उडान भर्न थालेका हुन् । ती कम्पनीहरूले विदेशी पर्यटकहरूलाई मन्थली विमानस्थलसम्म गाडीमा ल्याएर मन्थलीबाट सोलुको लुक्लाका लागि उडान भर्ने गरेका छन् । वायुसेवा कम्पनीहरुले मन्थली विमानस्थलबाट लुक्लातर्फ पर्यटक लैजाने र लुक्लाका पर्यटक रामेछाप उतार्ने भएपछि विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका ७ स्थित मुलकोटमा संचालनमा रहेका होटल तथा रेष्टुरेन्टमा विदेशि पर्यटकको चहलपहल बढेको छ । मुलकोटका होटल तथा रेष्टुरेन्ट विदेशि पर्यटकले भरिभराउ भएको अक्सित रिसोर्ट एण्ट र्याफ्टिङका संचालक रामप्रसाद नेपालले बताउनुभयो । मन्थलीमा सुविधासम्पन्न होटल तथा रेष्टुरेन्ट नभएकाले पर्यटकहरु बास बस्न मुलकोट आउने गरेको नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, “शुक्रबार मौसमका कारण उडान रद्ध भएपछि पर्यटक बास बस्न मुलकोट फर्किएका छन् । यहाँको अधिकांश होटल तथा रेष्टुरेन्ट आज (शुक्रवार) भरिभराउ छन् ।”
शुक्रबार आफ्नो रिसोर्टमा बास बस्न आएका धेरैजसो पर्यटक ताईवानको रहेको नेपालले बताउनुभयो । यसअघि विभिन्न कारण दुई वर्षदेखि थलिएर उडान भर्न नसकेका वायुसेवा कम्पनीहरूले यस वर्ष बेलैमा उडान भरेपछि सुनकोशीका होटल तथा रेष्टुरेन्टमा अन्तर्राष्ट्रिय पर्यटकको घुईँचो लागेको नेपाल बताउनुहुन्छ । मन्थलीबाट लुक्लाको लागि विमान सञ्चालनमा आएपछि मन्थली विमानस्थल र आसपासको क्षेत्र विदेशी पर्यटकले खचाखच भएको नेपालको भनाई छ । मन्थलीमा धेरै सुविधासम्पन्न होटल नभएका कारण राति सिन्धुलीको मुलकोट, काभ्रेको धुलीखेल लगायतका क्षेत्रमा बास बसेर पर्यटकहरु बिहानै मन्थली आई सोलुतर्फ जाने गरेको उहाँ बताउनुहुन्छ ।
मन्थलीबाट सोलुका लागि हुने अधिकाँश उडान बिहान सबेरै हुने गर्छन् । दिउँसो मौसम अनुकुल नहुने भएकोले उडान हुँदैनन् । वायुसेवा कम्पनीहरूले अबको करिब दुई महिना रामेछाप विमानस्थलमा नै जहाज राखेर उडान गर्ने योजना बनाएपछि सुनकोशी गाउँपालिकामा संचालनमा रहेका होटल व्यवसायी खुशी छन् ।
रामेछापबाट लुक्ला उडानकालागि सिन्धुलीमा बास बस्न आउने पर्यटकलाई जिल्लाको पर्यटकिय क्षेत्रकाबारेमा जानकारी दिन स्थानिय सरकारले विशेष योजना बनाउनुपर्ने सुनकोशी गाउँपालिका ७ का राम थापा बताउनुहुन्छ । “युरोप बाहिर कहिकतै पराजय नव्यहोरेको अंग्रेज फौजलाई परास्त पारेको ठाउँ सिन्धुलीमै छ । तर, विदेशी पर्यटक त्यसबारेमा जानकार छैनन्”, उहाँले भन्नुभयो, “लुक्ला उडानकालागि आएका पर्यटकलाई अन्तर्राष्ट्रिय पर्यटकिय स्थल सिन्धुलीगढीसम्म आकर्षित गर्न स्थानिय सरकारले विशेष योजना बनाउनुपर्छ ।”
काठमाडौँबाट नजिक रहेको मन्थली एयरपोर्टमा साना विमानस्थलहरूका लागि हवाई इन्धन सहितको व्यवस्था भएको पूर्वी क्षेत्रकै एकमात्र विमानस्थल भएकाले इमर्जेन्सी विमान अवतरण लागिसमेत मन्थली विमानस्थल उपयोगी मानिएको छ । मन्थली विमानस्थलका एक एटिसीका अनुसार मन्थली विमानस्थलबाट ७ उडान र ९ वटा अवतरणको तालिका रहेको छ । प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले तीन वटै कम्पनीका एक एक वटा जहाजले रामेछाप बेस रही लुक्लामा उडान गर्ने जानकारी दिनुभयो । पर्यटक बढेका बेला यसअघि मन्थलीबाट लुक्लामा दैनिक दुई दर्जनभन्दा बढी उडान भएको तथ्यांक छ ।
डलरमा पर्यटक बोक्नका लागि मन्थली विमानस्थलबाट लुक्लाको उडान गर्ने हवाई कम्पनीले मन्थलीबाट काठमाडौँको लागि यात्रु उडान गर्न भने अटेर गर्दै आएका छन् ।