शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा डिप्रोक्स लघुवित्तले ठगि गरेको आरोप

मंगलवार , आश्विन १६, २०८०

सिन्धुली – डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मरिणले किर्ते कागजात बनाई स्थानियको नामबाट ऋण लिएको खुलेको छ । लघुवित्तमा आवद्ध नभएका साथै ऋण नै नलिएकाहरुको नाममा फर्जी कागज बनाएर ऋणी बनाएको भेटिएको हो ।

लघुवित्तले स्थानिय २० जना भन्दा बढि महिलाको फर्जी कागज बनाई ऋणी बनाएको छ । लघुवित्तको सदस्य नै नभएको मरिण गाउँपालिका ७ की पम्फा मायाँ मोक्तानको लघुवित्तमा १ लाख बढी ऋण देखिएको उहाँ बताउनुहुन्छ । “म त्यस डिप्रोक्स लघुवित्त संस्थामा सदस्य नै छैन । मेरो नजिकको छिमेकिले ऋण लिने समयमा म साचि चाहि बसेको थिए । साचि बस्दा मैले नागरिकता पनि दिएको थिए, त्यहि नागरिकताको दुरुप्रयोग भए छ । १ लाख ऋण मेरो नाममा छ ,” उहाँले भन्नुभयो । बैंकबाट ऋण निकाल्न लाग्दा मोक्तानले लघुवित्तमा आफ्नो नाममा ऋण रहेको थाहा पाउनुभएको सुनाउनुभयो । “मैले बैंकबाट ऋण निकाल्न लागेको थिए । ऋण दिनु अगाडि बैंकले मेरो सबै पृष्ठभूमि हेर्ने रैछ । बैंकले लघुवित्तबाट ऋण लिनुभएको भनेपछि मात्रै मैले थाहा पाए ,” उहाँले भन्नुभयो ।

मोक्तानको मात्रै होइन अन्यको पनि लघुवित्तले किर्ते कागज बनाई ऋणी बनाएको छ । मरिण गाउपालिका ७ कै बुद्धि माँया गोले पनि जिवन बिकास लघुवित्त वित्तीय सस्थामा लिन खोज्दा डिप्रोक्स लघुवित्तमा ऋण रहेको थाहा पाएको बताउनुहुन्छ । “मेरो नाममा ऋण छ भन्दा अच्चम पनि परे, सदस्य नै नभइ कसरी ऋण हुन्छ भन्ने पनि सोचे । मेरो नाममा ऋण छ भन्ने विश्वास पनि गरेको थिइन । पछि सोधपुछ गर्दा थाहा भयो, किर्ते कागज बनाई मेरो नाममा ऋण लिएर लघुवित्तले खाएको छै ,” उहाँले भन्नुभयो । मरिण ७ की जोक माया स्यङ्तान ,नक्कली माया स्याङ्तान ,पम्फा माया मुक्तान लगायत कमलामाइ नगरपालिका १ गुरासेका लोप उन्मुख जाति हायु समुदायका ६ जनाको नाममा १ लाख भन्दा बढि ऋण लिएको स्थानियले बताएका छन् । ५ सय भन्दा धेरै सदस्य रहेको सो लघुवित्त शाखामा सदस्यको रकम हिनामिना भएको स्थानियले आशंका गरेका छन् ।

लघुवित्तले ठगि गरेको बारे अनुसन्धान गरि कारबाहीको पक्रिया अगाडि बढाइने मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले बताउनुभयो । स्थानियले लघुवित्तले रकम हिनामिना गरेको भन्दै आफुलाई गुनासो गरेको र सो विषयमा अनुसन्धान गरिरहेको बताउनुभयो । स्थानियबाट गुनासो आएको छ । “सो विषयलाई मैले गम्भिर रुपले लिएको छु । यसको अनुसन्धान गरि छिटै कारबाहिको पक्रिया अगाडि बढ्ने छ ” उहाँले भन्नुभयो ।

लघुवित्तका शाखा प्रमुख चन्द्र कुमार भट्टराई यस विषयमा आफुलाई कुनै जानकारी नएको बताउनुहुन्छ । “मलाई कस्ले कति ऋण लिएका छन् भन्ने विषय थाहा नै छैन । पछि स्थानियले सोधपुछ गर्दा मात्रै ऋण लिएको थाहा पाए । यस विषयमा अनुसन्धान हुने छ , कस्ले लापबाही गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ । हामीले ऋण नलिएका तर ऋण लिएको दिएको सम्पूर्ण व्यक्तिको रकम फिर्ता गरिसक्यौँ ,” उहाँले भन्नुभयो ।

उहाँले आफुले थाहै नपाई स्थानियको नाममा ऋण दिएको देखिएको बताउनुभयो । सो विषमा लघुवित्तको बैठक बसिरहेको उहाँले बताउनुभयो । आइतबार ऋण नलिए तर लघुवित्तले फर्जी कागज बनाई ऋणी बनाएको भन्दै स्थानियले लघुवित्तका कर्मचारीलाई हातपात समेत गरेका छन् ।

प्रतिक्रिया