शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीका जुनार बगैँचामा चुसाहा पुतलीको प्रकोप

सोमवार , भाद्र २५, २०८०

सिन्धुली– सिन्धुलीको जुनार बगैँचामा चुसाहा पुतली किरा (सुडे पुतली) को प्रकोप फैलिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जुनार सुपरजोन परियोजना कार्यान्वयन इकाई सिन्धुलीले जनाएको छ । परियोजनाले फलको रस चुसेर क्षती गर्ने सुडे पुुतलीको प्रकोप फैलिएको हुँदा नियन्त्रण गर्न कृषकलाई सामुहिक अभियान चलाउन आग्रह गरेको छ ।

राती र झिसमिसे बिहानीमा फलको रस चुसेर क्षती गर्ने चुसाहा पुतली किराले जुनारमा क्षति पुर्‍याइरहेको हुँदा कृषकलाई सावधानी अपनाउन परियोजनाका प्रमुख रमेश हुमागाईँले बताउनुभयो । उहाँले भन्नुभयो, “सुडेँ पुतली नियन्त्रण गर्न चुनौँतिपुर्ण छ । सुडे पुतलीले साँझ ७ बजे आएर ११ बजेसम्म फलको रस चुस्छ । बिहानपनि झिसमिसेमा आउँछ, उज्जयालो हुनासाथ भाग्छ ।” सुडे पुतलीलाई नियन्त्रणमा लिन टोलका सबै कृषकलाई मिलेर कीरा मार्ने सामुहिक अभियान चलाउन हुमागाईँले आग्रह गर्नुभयो । उहाँले बिहान र बेलुका दुईपटक बगैँचा डुलेर झरेका फलहरु संकलन गरि प्लाष्टिकका थैलोमा मुख बन्द गरि राख्न वा एक फुट गहिरो खाल्डो खनेर पुरिदिन कृषकलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “साँझ टर्च लाईटको उज्यालोमा सुडे किरा हलचल नगरि बस्ने हुँदा समाएर पनि मार्न सकिन्छ ।” साथै, बाँसका लामा लामा लौराहरुमा पुराना सुती कपडाहरु बाँधेर धुँवा लगाउँदै बगैँचामा डुल्दा वा घाँसपात जम्मा गरेर धुँवा लगाउँदापनि सुडे किरा मर्ने उहाँले जानकारी दिनुभयो । उहाँले पासो थापेर पनि चुसाहा पुतली किरालाई नियन्त्रणमा लिन सक्ने बताउनुभयो । दुई लिटर पानीमा दुई सय ग्राम सखर, १५ मिलिलिटर भेनेगर वा कुनै फलफुलको रस र २० मिलि लीटर मालाथिएन विषादिको चारो बनाएर कचौरामा १० बोट बराबर एक स्थानमा पासो थाप्न सकिने हुमागाईँले जानकारी दिनुभयो । त्यसैगरी, मालाथिएन विषादि दुई मिलीलिटर प्रति लिटर पानीमा एक सय ग्राम सख्खरको घोल मिसाएर बगैँचामा स्प्रे गर्दा चुसाहा किरा मर्ने उहाँले बताउनुभयो ।

सुडे किराले फलनै झारदिने भएकाले जुनारमा धेरै नोक्सानी गर्नसक्ने परियोजनाका प्रमुख हुमागाईँले बताउनुभयो । एक हप्तादेखि जुनार सुपरजोनका प्राविधिकलाई बगैँचामा पठाई पासो थाप्ने, धुँवा लगाउने, स्प्रे गर्ने, टर्च लगाएर मार्ने लगायत किरा नियन्त्रणकालागि प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

बजेट नहुँदा उधारो कारोबारः

चालु आर्थिक वर्षमा केन्द्र सरकारबाट कुनैपनि कार्यक्रम बजेट नआएकोले उधारोमा कारोबार गरिरहेको परियोजनाका प्रमुख हुमागाईँले बताउनुभयो । उहाँले भन्नुभयो, “चिनेजानेको व्यवासायीसँग उधारोमा विषादि किनेर प्राविधिकलाई कृषकको बगैँचामा पठाइरहेकोे छु ।” करारका प्राविधिकहरु भएकाले कार्यक्रम बजेट आउँदा कस्को जागिर जोगिन्छ, को हट्छ टुंगो नभई उधारोमै प्राविधिकलाई बगैँचा पठाइरहेको हुमागाईँले गुनासो गर्नुभयो । स्थानिय तह, कृषि ज्ञान केन्द्र लगायत सरोकारवाला निकायलाई प्राविधिक परिचालन गरिदिन पत्राचार गरेको हुमागाईँले बताउनुभयो । जुनार सुपरजोन परियोजनाकालागि साउन १ गतेदेखि कार्यक्रम अख्तियारी बजेट आउनुपर्ने भएपनि भदौ २४ गतेसम्म एक रुपैँयापनि बजेट आएको छैन । उधारोमा काम गर्न जोखिम रहेको सुपरजोनका प्रमुख हुमागाईँले बताउनुभयो । नेपाल सरकारले चालु आर्थिक वर्षमा जुनार सुपर जोन परियोजनालाई तीन करोड ७० लाख बजेट छुट्याएको छ ।

जुनार सुपरजोनको कार्य क्षेत्रमा गोलन्जोर गाउँपालिकाको वडा नम्बर १ देखि ६ नम्बरसम्म, कमलामाईको वडा नम्बर ३, सुनकोशी र तीनपाटनको वडा नम्बर ७ पर्दछ । दुई हजार दुई सय ६२ जना किसान जुनार सुपरजोन परियोजनामा आबद्ध रहेको प्रमुख हुमागाईँले बताउनुभयो । एक हजार ४५ हेक्टर जमिनमा जुनार खेति भइरहेको बताउँदै हुमागाईँले भन्नुभयो, “यस वर्ष नौँ हजार मेट्रिक टन जुन फल्ने लक्ष्य लिइएको छ । ५० करोड रुपैँयाको कारोबार हुने लक्ष्य राखेका छौँ ।”

कहिले हुन्छ जुनार तयार ?

भदौ महिनामा जुनारको फल ८० प्रतिशतसम्म वृद्धि हुने प्रमुख हुमागाईँले बताउनुभयो । उहाँले भन्नुभयो, “असोज महिनाको अन्तिमतिर जुनार फलको वृद्धि करिब करिब समाप्त भई रंग चढ्न शुरु भई हल्का हरियोबाट हल्का पहेँलोमा परिणत हुन्छ । कात्र्तिक महिनाको अन्तिमतिर ८० देखि ९० प्रतिशत फलमा रंग चढिसकेको हुने र फलको वृद्धि रोकिन्छ । मंसिरमा जुनार पुरा पाक्ने समय भएकाले पाकेको फल टिप्न शुरु हुन्छ । ”

प्रतिक्रिया