शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीका तरकारीवाला कृष्णः व्यक्ति एक, व्यापार अनेक

शनिवार , भाद्र १६, २०८०

सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिका ११ धनसारीका कृष्ण अधिकारी पेशाले व्यापारी हुनुहुन्छ । २०७४ सालमा रोजगारीको सिलसिलामा राजधानी काठमाडौँ छिर्नुभएका अधिकारी पूर्णकालिन तरकारी व्यवसायी हुनुहुन्छ । चाबहिलस्थित गणेशस्थान मन्दिरको पश्चिम गेटमा मासिक ५० हजार रुपैँयामा सटर भाडामा लिएर २५ वर्षिया कृष्णले तरकारी व्यवसाय गरिरहनुभएको छ । पूर्णकालिन तरकारी व्यवसायी भएपनि कृष्णले बजारको माग अनुसार व्यापार गर्दै आउनुभएको छ । नागपञ्चीमा गोबर र नागको तस्बिरदेखि तिहारमा रातो माटो लगायत चाडपर्वलाई लक्षित गर्दै कृष्णले समयानुकुल फलफूल र अन्य वस्तु बिक्रि गर्दै आउनुभएको छ ।

तरकारीवाला भनेर टिकटक लगायत सामाजिक संजालमा भाइरल कृष्ण बिहिबार चाबहिलकै एक मन्दिरमा भक्तजनलाई जनै र डोरो लगाउदैँ गरेको भेटिनुभयो । “जातले पाएको कसरी हुन्छ पैसा कमाउनैपर्‍यो । डोरो र जनैसहित टिका लगाइदिन मन्दिरमा बसेको दुई घन्टामै झोला भरियो,” उहाँले भन्नुभयो, “लाज मान्यो भने सधैँ पछि परिन्छ ।” नागपन्चमीमा गोबर र नागको तस्बिर बिक्री गर्दा राम्रो आम्दानि भएको कृष्ण बताउनुहुन्छ । “बिक्ने चिज जे पनि बेच्ने हो । मौकामा हिरा फोर्नुपर्छ, समय अनुसारको व्यापार गर्दा के को लाज ?”, उहाँले प्रश्न गर्नुभयो । कृष्णले तिहारमा रातो माटो र फूल बिक्रीबाट एक लाखबढि आम्दानि गरेको स्मरण गर्नुभयो । उहाँ भन्नुहुन्छ, “तिहारमा काभ्रेको पाँचखालबाट २ हजारको एक ट्रक रातो माटो र ठूली एकादशीमा भक्तपुरबाट सित्तैमा बाँसको झिक्रा ल्याएको थिएँ । बाँसको मुल्य परेन, बेच्ने ठाउँसम्म ल्याउन गाडी भाडा एक हजार मात्र तिरेको हुँ । यी दुवैैको व्यापारबाट मैलै लाख रुपैयाँसम्म कमाएँ ।” तरकारीभन्दा सिजनएबल (मौसमी) वस्तु बेच्दा धेरै फाइदा हुने उहाँको व्यापार अनुभव छ ।

कृष्णले साउन महिनामा भने कर्कलो बेचेर राम्रो आम्दानी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “तरकारी टिप्न खेतबारिमा जाँदा जग्गाधनिले सित्तैमा सबै कर्कलो उखलेर लग्नु भन्नुभयो । पसलमा ल्याएर कर्कलोबाट गाबालाई मुठा पारेर मुठाको ५० रुपैँयामा बेँचे ।” साउन महिनामा ब्रत बस्नेहरुले गाबाको तरकारी मनपराउने बताउदैँ कृष्णले गाबा बेचेरै झण्डै २० हजार आम्दानी गरेको स्मरण गर्नुभयो । उहाँले स्वदेशमा अवसर छैन भन्दै विदेशिने युवाहरुलाई भन्नुभयो, “समय अनुसारको व्यापार गर्नुपर्छ । बगेको खोला फर्किदैन, समय आउँछ पर्खदैन । पैसा हावामा उडिरहेको छ, टिप्न जान्नुपर्छ ।”

सिन्धुलीको कमलामाई नगरपालिका ६ मा रहेको शनिबारे हाटबजारमा पनि तरकारी लगेर व्यापार गरिरहेको कृष्ण बताउनुहुन्छ । उहाँले केहि साताअघि शनिबारे हाटबजारमा काठमाडौँबाट टमाटर लगेर बिक्री गरेको बताउनुभयो । उहाँले आफूसँगै बुबालाई पनि व्यवसायमा संलग्न गर्नुभएको छ । बुबाले सिन्धुलीको जंगलबाट खोजेर पठाएको रातवृक्ष जडिबुटि बिक्री गरेर १५ हजार रुपैँया आम्दानि गरेको कृष्ण सम्झिनुहुन्छ । बुबाले मकै, केरा लगायत स्थानिय उत्पादन काठमाडौँ पठाएर व्यापारमा सहयोग गरिरहेको बताउनुभयो ।

अनेक व्यापार, व्यवसायमा संलग्न कृष्णलाई झण्डै डेढ करोड बहिले टिकटकमा फलो गरेका छन् । उहाँको भिडियोलाई तीन करोड बढि मनपराइएको छ ।

प्रतिक्रिया