सिन्धुली – मालपोत कार्यालय सिन्धुलीमा आर्थिक वर्ष २०७९/०८० मा महिलाको नाममा जग्गा पास गर्दा एक करोड ४२ लाख ५ हजार ६ सय ७३ राजस्व छुट भएको छ ।
मालपोत कार्यालयमा २ हजार ३ सय ९४ महिलाको नाउँमा जग्गा दर्ता तथा नामसारी गर्दा उक्त राजस्व छुट भएको हो । शहरी क्षेत्रका १ हजार ४ सय ८९ र ग्रामीण क्षेत्रका ९ सय ५ महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुट दिने प्रावधान अनुरूप छुट पाएको मालपोत कार्यालय सिन्धुलीका सूचना अधिकृत गोबिन्द कोइरालाले जानकारी दिनुभयो ।
त्यसैगरी आर्थिक वर्ष २०७९/८० मा ग्रामीण र सहरी क्षेत्रका गरी १ सय ७७ दलित तथा जनजाती, ४ जना अपाङ्ग र ५ जना ज्येष्ठ नागरिकका नाममा लिखत पास भएको छ । दलित तथा ज्येष्ठ नागरिकका नाममा लिखत पास गर्दा रु ९ लाख ४१ हजार ७ सय ८१ र अपाङ्गको नाममा ३० हजार ५ सय ९९ रुपैयाँ राजस्व छुट गरिएको उहाँले बताउनुभयो । त्यसैगरी मालपोत कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०७९/०८० मा कूल १६ करोड ९२ लाख ९५ हजार ४ सय ६८ राजस्व संकलन गरेको छ ।
कार्यालयले दिएको जानकारी अनुसार रजिष्टे«शन दस्तुर बापत १० करोड ९० लाख ६९ हजार १ सय ४४, रोक्का दस्तुर ९० हजार, पुँजीगत लाभकरतर्फ ५ करोड ५१ लाख ६३ हजार ७ सय २५, सेवा शुल्क र अन्य प्रशासनिक दस्तुर बापत ४५ लाख ४१ हजार ९ सय ६४ र विविध तर्फ ४ लाख ३० हजार ६ सय ३५ रुपैयाँ राजस्व संकलन गरेको सो कार्यालयले जनाएको छ ।
मालपोत कार्यालयबाट संकलन भएको रजिष्ट्रेशन दस्तुर मध्ये ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत सम्बन्धित स्थानीय पालिकामा पठाइने मालपोत कार्यालय पठाउने ब्यवस्था रहेको छ । कार्यालयले प्रदेश सरकारलाई ४ करोड ७२ लाख २८ हजार ९ सय २१ रुपैयाँ र सिन्धुलीका विभिन्न् स्थानीय तहहरुलाई ६ करोड ७४ लाख ४ हजार ३ सय ७९ रुपैयाँ रकम पठाएको कार्यालयले जनाएको छ ।
आर्थिक बर्ष २०७९/०८० मा गाउँपालिका तर्फ २ हजार ५ सय ६२ र नगरपालिका तर्फ ३ हजार ६९ सहित ५ हजार ६ सय ३१ लिखत पारित भएको थियो ।