शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कृषि पेशा सम्मानित हुन नसकेको सिन्धुलीको कृषकहरुको गुनासो

आइतवार , भाद्र ३, २०८०

सिन्धुली– नेपाल कृषि प्रधान देश भनिएपनि कृषि पेशा सम्मानित पेशाको रुपमा स्थापित हुन नसकेको कृषकहरुले गुनासो गरेका छन । खेतीयोग्य जमिन जनशक्तिको अभावमा बाँझो रहने, किसानको उत्पादनले उचित बजार र मूल्य नपाउने, समयमा मलखाद वीउविजन र सिँचाईको अभावमा भोग्दै आएका पीडा जस्ताको तस्तै रहेको किसान महासंघ सुनकोशी गाउँपालिका अध्यक्ष चन्द्रलाल धिमालले बताउनुभयो ।

मरिण, कमलाखोज, तिनपाटन लगायतका ठुल्ठूला फाँटमा उत्पादन हुने धानको मूल्य नपाएर किसानहरु सस्तो मूल्यमा आफ्नो उत्पादन धान, मकै लगायतका खाद्ययान विक्री गर्न बाध्य हुनुपरेको छ ।

प्रधानमन्त्री आधुनिक कृषि परियोजना, मुख्यमन्त्री कृषि परियोजना जस्ता विभिन्न परियोजना मार्फत् वितरण गरिने राज्यको लगानी ९० प्रतिशत रकम ब्यापारीहरुको हातमा जाने र त्यो रकम कृषि र पशुपालन देखाएर प्राप्त गर्ने, प्राप्त भएको रकम अन्य प्रयोजनमा खर्च गर्ने अवस्था विद्यमान छ ।

एउटा परियोजना कार्यान्वयन गर्दा लक्षित वर्ग साना किसानका लागि लगानी गर्ने, लगानी नगदमा भन्दा पनि उनीहरुलाई आवश्यक प्रविधि उपकरणमा खर्च गर्ने, आवश्यक बजार ब्यवस्थापन गर्ने र उचित मूल्य प्राप्त गर्न सक्ने प्रणाली स्थापित गर्ने कुरामा स्थानीय सरकारको ध्यान जान नसकेको तिनपाटन गाउँपालिका– १० चकमकेका कृषक टंक प्रसाद गौतमले बताउनुभयो ।

गौतमले गुनासो पोख्दै भन्नुभयो, “दुःख गरेर उत्पादन गरिएको कृषि उत्पादनको बजार र मूल्य नपाउँदा किसान सधैँ पीडामा छन् । कृषकहरुले आफ्नो उत्पादनको मूल्य नै पाउँदैनन् । यो अवस्थालाई कहिले हो सुधार गर्ने ? कसले हो किसानहरुको पेशालाई सम्मानित र मर्यादित बनाउने ?”

कृषिलाई सम्मानित र मर्यादित बनाउनका लागि आवश्यक पहल नगरिए हाम्रो देशको वार्षिक बजेट जति खाद्यान्न खरिदमै सकिने र आम नागरिक भोकमरीको चपेटामा पर्ने निश्चित हुने गौतमले बताउनुभयो ।

अब उत्पादन प्रणालीमा सबैलाई आवद्ध गर्ने, श्रमको सम्मान गर्ने र किसानलाई उत्साही बनाएर कृषि पेशालाई सम्मानित पेशाका रुपमा अघि बढाउने अभियानमा स्थानीय सरकार अघि बढ्नु आवश्यक रहेको मरिण गाउँपालिका स्थानीय देबी बहादुर बुढाथोकी बताउनुहुन्छ । बुढाथोकी भन्नुहुन्छ, “वाली बीमा, पशु बीमा, पशुपंछीपालन आदि बीमा जस्ता क्रियाकलापमा स्थानीय सरकारको लगानी आवश्यक छ । यसको व्यवस्थापन गर्न सकियो भने रोजगारी सिर्जना र गरिवी न्यूनीकरणमा समेत योगदान गर्नेछ ।”

उत्पादित बस्तुको लागत मूल्य पनि नपाउने र कतिपय उत्पादन विक्री नहुने र खेर जाने अवस्थाको अन्त्य गर्नका लागि कृषि उत्पादनको बजारीकरण, भण्डारण, प्रशोधन र वितरणको ब्यवस्थापन गर्नु आवश्यक रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया