शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली हुलाकबाट तेह्र लाख राजस्व संकलन

शुक्रवार , भाद्र १, २०८०

सिन्धुली, – जिल्ला हुलाक कार्यालय सिन्धुलीले गत अर्थिक वर्ष २०७९/८० मा विभिन्न शीर्षकबाट रु तेह्र लाख बयानब्बे हजार आठ सय ९८ राजस्व संकलन गरेको छ । हुलाक टिकट, केवल टेलिभिजन संचालन तथा नबिकरण, एफएम सञ्चालन नवीकरण, पत्रपत्रिका नविकरण तथा अन्य प्रशासनिक शेवा शुल्क लगायतका शीर्षकबाट कार्यालयले राजस्व संकलन गरेको हो ।

कार्यालयका प्रमुख अनुसार हुलाक सेवा शुल्कबाट रु ११ लाख २३ हजार सात सय बिस, रेडियो एफएफ सञ्चालन दस्तुरबाट रु २० हजार पाँच सय, केवल टेलिभिजन संचालन तथा नबिकरण दस्तुरबाट १ लाख ३४ हजार सातसय, पत्रपत्रिका नविकरण तथा अन्य प्रशासनिक शेवा शुल्कबाट २ हजार ३ सय पाँच र चिठि पत्र दर्ता बिवरणबाट १ लाख ११ हजार ६ सय त्रिहत्तर रुपैय राजस्व संकलन भएको छ ।

गत आवमा कार्यालयले १ लाख १५ हजार २ सय साठी थान टिकट बिक्री गरी रु ११ लाख २३ हजार सात सय बिस आम्दानी गरेको छ । जिल्ला हुलाक कार्यालयबाट यहाँका पत्रपत्रिका तथा एफएमलाई लोककल्याणकारी विज्ञापनको रकम भुक्तनी गर्ने गरिएको जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख कुमार थापाले जानकारी दिनुभयो । हुलाक कार्यालयबाट गत आवमा रु १९ लाख बहत्तर हजार चार सय ८ रुपैया लोककल्याणकारी विज्ञापनवापतको रकम भुक्तानी गरिएको छ ।

यहाँका दुई दैनिक पत्रपत्रिकालाई रु ७ लाख ५१ हजार सात सय ६८, छ साप्ताहिक पत्रिकालाई रु ११ लाख ६० हजार दुईै सय ६४ र एउटा त्रैमासिक पत्रिकालाई रु. ६० हजार तिन सय ७६ भुक्तानी गरिएको छ । त्यसैगरी जिल्लाका चार एफएम रेडियोलाई लोककल्याणकारी विज्ञापनवापतको रु ४ लाख ७० हजार २ सय ३२ भुक्तानी गरिएको छ ।

कार्यालयको काम, कर्तव्य र अधिकारभित्र रहेर सो भुक्तानी गरिएको कार्यालय प्रमुख थापाले बताउनुुभयो । लोककल्याणकारी विज्ञापनसँगै कार्यालयले केबल टिभी एफएम रेडियोहरूको नवीकरण तथा अनुगमन गर्दै आएको छ । राष्ट्रिय सूचना आयोगले तोकेबमोजिम सूचनाको हक कार्यान्वयनको अनुगमन गरी प्रतिवेदन पेस गर्ने गरिएको उहाँको भनाइ छ ।

हाल जिल्ला हुलाक कार्यालयले डाँक व्यवस्थापन र सञ्चालन, हुलाक वस्तु दर्ता एवं रजिष्ट्री, द्रुत डाँक सेवालगायतका काम गर्दै आएको छ । जिल्लामा हाल १२ इलाका हुलाक र ४२ अतिरिक्त हुलाक कार्यालय छन् । पछिल्लो समय निजी क्षेत्रका कुरियर सेवा सञ्चालन भएपछि हुलाकको काममा भने केही कमी आएको छ ।

प्रतिक्रिया