शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीका स्थानीय तहमा अनियमितता : इन्धनमै करोडौं खर्च

शनिवार , श्रावण २७, २०८०

सिन्धुली– सिन्धुलीका स्थानीय तहमा अनियमितताको चाङ बर्षेनी बढिरहेको छ । बिकास आयोजनाहरुमा हुने अनियमितता होस वा आन्तरिक कार्यालय सञ्चालनमा हुने अनियमितता दिनानु दिन बढ्दै गईरहेको छ । स्थानीय तहका जनप्रतिनिधी र कर्मचारीहरु नागरिक प्रति जवाफदेही, आर्थिक हिसाबले मितब्ययी बन्न सकिरहेको अवस्था छैन ।

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुले सरकारी सवारी साधन र इन्धनको दुरुपयोग गरिरहेका छन  । उनीहरूले सार्वजनिक सेवाभन्दा पनि व्यक्तिगत सुविधालाई प्राथमिकतामा राखेका छन  ।

जिल्लाका कतिपय स्थानीय तहका जनप्रतिनिधिले कार्यालयबाट लिएका सवारीसाधनहरू नातागोता र आफन्तहरूलाई प्रयोग गर्न दिएका छन । केहीले सवारीचालक अनुमतिपत्र नभए पनि सेतो प्लेटका सवारीसाध गुडाइरहेका छन । इन्धन खर्च पनि बर्सेनि बढदै गएको छ ।

एक बर्षमा सिन्धुलीका स्थानीय तहहरुले झण्डै ५ करोडको इन्धन खर्च गरेका छन । स्थानीय तहहरुबाट प्राप्त सुचना अनुसार गत आर्थिक वर्ष २०७९/८० मा जिल्लाका नौं स्थानीय तहले ४ करोड ९३ लाख रुपैयाँको इन्धन खर्च गरेका छन ।

इन्धनमा सबैभन्दा बढी खर्च गर्नेमा कमलामाई नगरपालिका रहेको छ । कमलामाई नगरपालिकाले गत आर्थिक वर्षमा १ करोड ७ लाख ८२ हजार ३ सय ८६ रुपैयाँ रकम खर्च गरेको छ । त्यस्तै दुधौली नगरपालिकाले ८८ लाख ९६ हजार ८ सय ६५ रुपैयाँ खर्च गरेको छ ।

गाउँपालिकाहरु मध्ये तिनपाटन गाउँपालिकाले सबैभन्दा बढी ६६ लाख ३६ हजार ८ सय ८५ रुपैयाँ इन्धनमा खर्च गरेको छ भने गोलन्जोर गाउँपालिकाले ५१ लाख ५० हजार, हरिहरपुरगढी गाउँपालिकाले ४० लाख खर्च गरेको छ ।

त्यस्तै मरिण गाउँपालिकाले ५५ लाख, घ्याङलेख गाउँपालिकाले ३० लाख, फिक्कल गाउँपालिकाले २३ लाख ४० हजार र सुनकोशी गाउँपालिकाले ३० लाख रुपैयाँ खर्च गरेको छ ।

उक्त खर्चमा पदाधिकारी इन्धन खर्च, कार्यालय प्रयोजन इन्धन खर्च र अन्य इन्धन खर्च समेत समावेश गरिएका कारण इन्धन खर्चको रकम बढि भएको बताइएपनि जनप्रतिनिधी र कर्मचारीहरुले सवारी साधन तथा इन्धनको ब्यापक दुरुपयोग गर्ने गरेका छन । स्थानीय तहका जनप्रतिनिधीहरुले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई इन्धन बाड्ने काम समेत गर्ने गरेका छन ।

विकास निर्माण छिटो छरितो होस् भनेर खरिद भएका महँगा गाडी आफन्त र कार्यकर्ता बोक्ने, कार्यालयको कामभन्दा पनि घरायसी काममा प्रयोग भइरहेका छन । प्राय सबै स्थानीय तहले प्रमुख उपप्रमुखबाहेक वडाध्यक्षहरूका लागिसमेत महँगा सवारी साधन उपलब्ध गराएका छन ।

उनीहरूले आफूले पाउने निश्चित इन्धनभन्दा १० गुणा बढी खर्च गरेको पाइएको छ । सरकारी सवारीसाधनको अत्यधिक दुरुपयोग गर्नेमा सुनकोशी गाउँपालिका अगाडि देखिएको छ । अन्य स्थानीय तहमा पनि सवारीसाधनको दुरुपयोग भइरहेका छन् । “सदरमुकाम आउने, जानेबाहेक ग्रामीण क्षेत्रमा सवारीसाधन प्रयोग कम भए पनि खर्च बढी हुने गरेको देखिएको छ,” सुनकोशी गाउँपालिकाका एक कर्मचारीले भने, “सवारीसाधन मात्र होइन सबै कुरा लथालिंग छ ।” स्थानीय तहबाट जिल्ला सदरमुकाम आउने, जाने क्रममा मात्र धेरै ठूलो विकास बजेट इन्धनका नाममा जनप्रतिनिधिले लिइरहेका छन् ।

सवारीसाधन मात्र होइन अन्य सेवा सुविधामा पनि जनप्रतिनिधिले पत्याउनै नसकिने गरी खर्च गरिरहेका छन । सुनकोशी गाउँपालिका प्रमुखका लागि निर्माण गरेको आवास र भान्साको खर्च पत्याउनै मुस्किल पर्छ । एक वडाध्यक्ष भन्छन्, “विकास निर्माण जे जस्तो भए पनि सेवा सुविधामा हाम्रो गाउँपालिका पहिलो नम्बरमा आउन सक्छ ।’

सिन्धुलीका वडाध्यक्षदेखि गाउँ र नगरपालिकाका प्रमुख, उपप्रमुख अधिकांशले सरकारी साधनको दुरुपयोग गरिरहेका छन । दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीमा सबै तहका प्रमुख र उपप्रमुखका लागि अलग्गै सवारीसाधन छन । स्थानीय तहले सवारीसाधन र तिनका लागि इन्धन खर्चमा मात्रै करोडौं खर्च गर्दै आएका छन ।

सवारीसाधनको प्रयोग नेता, कार्यकर्ता बोक्न र घरायसी काममा भइरहेको पाइन्छ । कतिपयले त आफन्तलाईसमेत दिने गरेका छन । “स्थानीय तहका सवारीसाधनको प्रयोग सरकारी तालमै भइरहेको छ,” नागरिक निगरानी सञ्जाल सिन्धुलीका संयोजक बेदराज दाहालले भन्नुभयो, “सबैले आफूअनुकूल घर र आफन्तको काममा लगाएकै छन ।” कतिपयको गाडी त नेता कार्यकर्ता बोक्न दैनिक प्रयोग भईरहेको देखिन्छ ।

प्रतिक्रिया