शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कृषि बिकास वैंक सिन्धुलीको १ अर्ब लगानी

शुक्रवार , श्रावण १९, २०८०

सिन्धुली – कृषि बिकास वैंक सिन्धुलीले जिल्लामा हाल सम्म १ अर्ब ऋण लगानी गरेको छ । बैंकले सिन्धुलीमा जम्मा १ अर्ब २ करोड लगानी गरेको छ भने कृषि क्षेत्रमा ४५ करोड ३ लाख ७३ हजार रुपैयाँ ऋण लगानी गरेको जनाएको छ ।

त्यस्तै १३ करोड ५२ लाख ५३ हजार सहुलीयत कर्जा प्रवाह गरेको जनाएको छ । कृषि बिकास वैंक सिन्धुलीमा ऋणीको संख्या कुल ८ सय ५५ मध्ये २ सय ९७ जना कृषि ऋण लिनेहरु छन ।

कृषि बिकास वैंकबाट ऋण लिनेहरुमा अधिकाशं सुकिला मुकिला कृषकहरु नै रहेका छन । जस्ले झोलामा कृषि फर्म दर्ताको कागज पत्र बोक्छन उनीहरुले मात्र ऋण पाउने गरेका छन । बास्तविक कृषकहरु वैंकसम्म पुग्न सक्ने अवस्थामा नै छैनन् ।

जिल्लामा कृषि विकास बैंकले मात्र होइन अन्य बैंकहरुले पनि कृषि क्षेत्रमा लगानी गरेका छन । नेपाल राष्ट्र बैकंले कृषिमा अनिवार्य रूपमा ११ प्रतिशत कर्जा प्रवाह गर्नु पर्ने व्यवस्था गरेका कारण पनि जिल्लामा खुलेका वैंकहरुले कृषि कर्जा प्रवाह गर्नुपर्ने बाध्यात्मक परिस्थिती रहेको छ ।

राष्ट्र बैकंले २०७८/०७९ को मौद्रिक नीतिमा वाणिज्य बैकंले कुल कर्जा लगानीको २०७८ असार मसान्तसम्म न्यूनतम ११ प्रतिशत, २०७९ असार मसान्तसम्म १३ प्रतिशत र २०८० असार मसान्तसम्म १५ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको थियो ।

कृषि विकास बैंक देखी जिल्लामा खुलेका दर्जनौं बैंकहरुले सहुलीयत ब्याजदरको कृषि कर्जा लगानी त गरेका छन तर उक्त कर्जा भने बास्तबिक कृषकले नपाएर गैह्र कृषकहरुले पाईरहेको गुनासाहरु बारम्बार आउने गरेका छन ।

व्यक्ति वा संस्थाले आफ्नो स्वलागतबाट मात्र व्यवसाय सञ्चालन तथा विस्तार गर्न आवश्यक लगानीका लागि पुँजी जुटाउन सम्भव हुँदैन । त्यस कारण पनि बैकं तथा वित्तीय संस्थाको कर्जा सहयोग अपरिहार्य हुन्छ ।

सरकारले कृषिमा लगानी गर्नै पर्ने बाध्यात्मक व्यवस्था गरे पनि किसानहरूले भने सहज ऋण पाउँदैनन् । एक दुई महिनासम्म बैंक तथा वित्तीय संस्था धाउँदा समेत किसानहरूले कर्जा नपाएको किसानहरूको गुनासो छ ।

कमलामाई नगरपालिका–५ का एक कृषकले कृषि कर्जा लिन धेरै बैकंको ढोका ढकढक्याए । तर एक महिनासम्म कर्जाकै लागि बैकं धाउँदै ठिक्क भएको उहाँले दुखेसो पोख्नुभयो । ‘कृषि व्यवसाय गर्न ऋण लिन्छु भन्दा बैकंहरूले पत्याउँदैन । यत्ति झन्झटिलो प्रक्रिया छ कि सामान्य मान्छेले लिनै सक्दैन,’

कृषि कर्जा दिने भनिएपनि कृषिसँग सम्बन्धित व्यवसाय गर्न चाहनेहरूका लागि बैकंले नपत्याउने गरेको फिक्कल गाउँपालिका– २ का बिष्णु प्रसाद बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “ कृषि ब्यवसाय गर्न ऋण पाउन निकै सकस र दुःख भोग्नु प¥यो । महिना दिनसम्म बैकं धाउँदा पनि पाइएन ।” कृषि व्यवसाय गर्न बैंककंबाट सहज ऋण पाउन नसकेको भन्दै उहाँले ब्याजदर वृद्धिले किसानलाई निरुत्साहित बनाएको पनि बताउनुभयो । सरकारले किसानले सहज रूपमा ऋण पाउनु पर्ने व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।

कृषिमा आधारित व्यवसाय गर्न चाहनेहरूका लागि बैकं तथा वित्तीय संस्थाहरूले ऋण दिन मान्दैनन् । लामो समयपछि प्रतिफल आउने, लगानी खेर जाने जोखिम लगायत विभिन्न कारणहरूले ऋण दिन नमान्दा उद्यम गर्न चाहनेहरू समस्यामा परेका छन् ।

कृषि कर्जा प्रवाहमा सुधार ल्याउन एकातर्फ यस क्षेत्रलाई व्यावसायिक र आधुनिक बनाउनुपर्ने खाँचो छ भने अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाहरूले पनि कृषि क्षेत्रको महत्व बुझ्नु जरुरी छ ।

किसानहरूलाई कर्जामात्र होइन, उत्पादनदेखि बजारीकरणसम्मको सहयोग आवश्यक छ । लघुवित्त संस्थाहरू गाउँ गाउँ सम्म त पुगेका छन तर उनीहरु महंगो ब्याज लिने गर्छन । बास्तविक कृषककोमा पुग्ने लघुबित्त र सहकारीहरुले पनि ब्याज महंगो लिदा कृषकहरु झन मारमा पर्ने गरेका छन ।

प्रतिक्रिया