शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा ६८६ चौपायाको मृत्यु

शनिवार , श्रावण १३, २०८०

सिन्धुली– सिन्धुलीमा लम्पी स्किन संक्रमणबाट छ सय ८६ पशुचौपाया मरेका छन् भने २४ हजारभन्दा बढी संक्रमित भएका छन् ।

लम्पी स्किन रोगबाट सिन्धुलीमा सबैभन्दा बढि दुधौली नगरपालिकामा गाई/गोरु मरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीले जनाएको छ । केन्द्रको तथ्यांक अनुसार दुधौलीमा एक सय ९२, कमलामाई नगरपालिमा १५७, गोलन्जोर गाउँपालिकामा ९६, सुनकोशी गाउँपालिकामा २९, घ्याङलेख गाउँपालिकामा २६, फिक्कल गाउँपालिकामा ४२, हरिहरपुगढी गाउँपालिकामा ३६, मरिण गाउँपालिकामा ७२ र तिनपाटन गाउँपालिकामा ३६ गाई/गोरुको लम्पी स्किन रोगका कारण मृत्यु भएको छ । जिल्लामा हालसम्म लम्पी स्किनले कुनैपनि भैँसिको मृत्यु नभएको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरि, कमलामाई नगरपालिकामा हालसम्म ३ हजार १५१ ,दुधौली नगरपालिमा ७ हजार ९७१, गोलन्जोर गाउँपालिकामा २ हजार १००, सुनकोशी गाउँपालिकामा २ हजार १ सय , घ्याङलेख गाउँपालिकामा ८ सय ७५ , फिक्कल गाउँपालिकामा ७ सय , हरिहरपुगढी गाउँपालिकामा ३ हजार १ सय मरिण गाँउपालिकामा १ हजार ८०० र तिनपाटन गाउँपालिकामा २ हजार ७६० पशुचौपायामा लम्पी स्किन संक्रमण फैलिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सिन्धुलीकासहायक सूचना अधिकारी रुद्र जिरेलले जानकारी दिनुभयो ।

रोगबाट किसानले करोडौँ रुपैयाँको क्षति व्यहोर्नुपरेको जिरेलले बताउनुभयो । रोगको संक्रमणका कारण दूध उत्पादनमा ह्रास आएको छ । गोरु मरेका कारण तथा बिरामी पर्दा रोपाइँमा समस्या भएको छ । किसानले आर्थिक व्ययभार व्यहोर्नुपरेको छ ।

लम्पी स्किन रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका स्थानिय तहले निःशुल्क खोप प्रदान गरिरहेका छन् । गोलन्जोर गाउँपालिकाले हालसम्म दुुई हजार नौँ सय पशुुचौपायामा खोप लगाएको छ । त्यस्तै, अन्य पालिकाले भने कति खोप लगाए भन्ने तथ्यांक नरहेको भेटेरीनरी अस्पतालले जनाएको छ ।

भेटेरीनरी अस्पताल सिन्धुलीका सूचना अधिकारी जिरेलले नेपाल पशु चिकित्सा परिषद्ले गरेको अध्ययनको प्रतिवेदन अनुसार यो रोगको संक्रमणले पार्ने असर चौतर्फी रहेको बताउनुुभयो । उहाँले भन्नुुभयो, ‘लम्पी स्किन लागेपछि पशुको मृत्यु हुने देखि लिएर दूध र मासु उत्पादनमा ह्रास आउने, पशुमा प्रजनन समस्या हुने, छालामा समस्या हुने र निको भएको पशुलाई पूर्ववत् अवस्थामा ल्याउनका लागि थप पोषण खर्च लाग्ने अध्ययनले देखाएको छ ।’ यो रोगका कारण झन्डै छ महिनासम्म साँढे तथा राँगाहरूमा प्रजनन क्षमता नहुने अनि लामो बेतान्तर भई गाईभैँसीको दूध उत्पादनमा समेत ४० देखि ५० प्रतिशतसम्म कमी हुने अनुसन्धानहरूबाट देखिएको जिरेलले बताउनुभयो । कतिपयमा दीर्घकालसम्मै बाँझोपनाको अवस्था आइपर्ने बताइन्छ ।

संक्रमित गाईभैँसीको दूध खानुहुन्छ?

सामान्यतया लम्पी स्किन लागेको बस्तुभाउको दूध खान मिल्ने विज्ञहरू बताउँछन् । ‘किनभने लम्पी स्किन रोग गराउने भाइरस ‘जूनोटिक’ होइन । अर्थात् त्यो भाइरस पशुबाट मानिसमा सर्दैन । तर यसको सं्क्रमण हुनासाथ पशुको उत्पादन ८० प्रतिशतले घटिहाल्छ । दश लिटर दूध दिने गाईले दूई लिटर मात्र दिन सक्छ,’ नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा स्वयम्प्रकाश श्रेष्ठले भन्नुुभयो । ‘त्यसैले दूध खाँदाखेरि रोग सर्ने भन्ने त हुँदैन । तर बिरामी पशुलाई एन्टिबायोटिकजस्ता औषधि दिइएको छ भने कम्तीमा १४ दिन त्यसको दूध उपभोग गर्न हुँदैन भन्ने मान्यता छ, ’ उहाँले भन्नुुभयो ।

पशुसेवा विभागका अधिकारीहरूले गाईभैँसीको दूध वा राँगाभैँसीको मासु उपभोग गर्दा यो रोग सर्ने प्रमाण नभएकोले दुबिधा नलिन आग्रह गरेका छन् । बिरामी पशुको हेरचाह गर्दा यो रोग सर्ने डर मान्नु नपर्ने पनि उनीहरू बताउँछन् ।

प्रतिक्रिया