शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

‘टुुथपिक’ बनाउने मेसिन सिन्धुलीमा संचालनमा आयो

बुधवार , श्रावण १०, २०८०

सिन्धुली – नेपालमै पहिलोपटक ‘टुुथपिक’ बनाउने मेसिन सिन्धुलीबाट संचालनमा आएको छ । महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रले उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालय अन्तर्गत लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको ४० लाख अनुदानमा ‘टुुथपिक’ अर्थात् दाँत कोट्याउने सिन्का बनाउने मेसिन बनाएको हो ।

जिल्लाको कमलामाई नगरपालिका ४ स्थित हिरापानिमा रहेको सिन्का अगरबत्ति उद्योगबाट दाँत कोट्याउने मेसिन संचालनमा आएको मेसिनका निर्माता राजु थापाले बताउनुुभयो । राष्ट्रिय आविष्कार केन्द्रमा निर्माण गरिएको उक्त मेसिन परिक्षणकालागि सिन्धुली ल्याइएको थापाले बताउनुुभयो । “परिक्षण गर्दा दैनिक १२० केजि दाँत कोट्याउने सिन्का उत्पादन भइरहेको छ ”, उहाँले भन्नुुभयो, “अब छिट्टैनै आधिकारीक रुपमा मेसिनको उद्घाटन गर्नेछौँ ।’”दाँत कोट्याउने सिन्का उत्पादन गर्न ६ वटा फरक मेसिनको प्रयोग हुने थापाले जानकारी दिनुुभयो । बाँस काट्न, टुक्राउन, गोलो बनाउन, आकार दिन, पालिस गर्न र तीखो बनाउन ६ वटा फरकफरक मेसिन प्रयोग हुने थापाले बताउनुुभयो ।

आविष्कार केन्द्रले एउटा सेट ‘टुुथपिक’ मेसिन निर्माण गरेको छ । साथै, आगामी दिनमा माग बमोजिम मेसिन निर्माण गरिने केन्द्रले जनाएको छ । छ वटा मेसिनसहितको एउटा सेट १५ लाख रुपैँया हारहारीमा निर्माण गरि विक्र गर्न सकिने उक्त मेसिनका निर्माता थापाले बताउनुुभयो । उक्त मेसिन निर्माण भएसँगै अबदेखि खेतबारीको डिलमा रहेको बाँस खेर नजाने थापाले बताउनुुभयो ।

“हामीले वार्षिक करोडौँको टुुथपिक चिनबाट आयात गरिरहेका छौँ । हाम्रा खेतबारीको डिलमा रहेको बाँस भने खेर गइरहेको छ ”, उहाँले भन्नुुभयो, “अब टुथपिक आयात गर्नैकालागि करोडौँ रकम बाहिरिने छैन । बाँस पनि खेर जाने छैन ।” चिनबाट आयात गरेको ‘टुुथपिक’ को मूूल्य प्रति केजि चार सय बढि रहेको छ । आयातित टुुथपिकको मूल्य भन्दा आविष्कार केन्द्रले उत्पादन गरेको ‘टुथपिक’ को मूल्य सस्तो पर्ने थापाले बताउनुुभयो । दाँत कोट्याउने सिन्काको लागि खोल बनाउने काम भइरहेको उहाँले बताउनुुभयो । उहाँले भन्नुुभयो, “प्याकेजिङको काम अन्तिम चरणमा छ । अब छिट्टै नेपालकै बाँसबाट उत्पादन भएको दाँत कोट्याउने सिन्का नेपाली बजारमा किन्न पाइनेछ ।”

वार्षिक करोडौँ बाहिरिनबाट जोगिने

आर्थिक वर्ष २०७७/७८ मा नेपालमा दुुई करोड तीन लाख मूल्यको सात लाख ७२ हजार किलो ‘टूथ पिक’ अर्थात् दाँत कोट्याउने सिन्का आयात भएको थियो । त्यस्तै, गत आर्थिक वर्ष २०७९/८० मा झण्डै डेढ करोड रुपैँया बढि दाँत कोट्याउने सिन्का आयातकालागि बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

हालसम्म नेपालमा ‘टूथ पिक’ बनाउने कुनैपनि उद्योग संचालनमा आएको छैन । विदेशबाट मेसिन आयात गरेर फाट्टफुट्ट ‘टूथपिक’ उत्पादन भएपनि मेसिन संचालनमा समस्या हुँदा ‘टूथ पिक’ कालागि चिन र भारतकै भर गर्नुगर्ने अवस्था थियो । नेपालमा ‘टुथ पिक’ बनाउने उद्योगहरु स्थपना हुन नसक्दा वर्षैसाल यस्तो वस्तुको आयात बढेको छ । चीन, भारत, थाइल्यान्डबाट टुथ पिक आयात हुने गरेको छ । नेपालमै दाँत कोट्याउने सिन्का बनाउने मेसिन निर्माण भएसँगै वार्षिक करोडौँ रुपैँया विदेश बाहिरिनबाट जोगिने भएको छ ।

को हुन् थापा ?ः सिन्धुलीको कमलामाई नगरपालिका ४ साङ्बालेका राजु थापा राष्ट्रिय आविष्कार केन्द्रमा कार्यरत हुनुहुन्छ । वैदेशिक रोजगारीबाट स्वदेश फर्किनुभएका थापा विभिन्न सामाग्रीका निर्माता हुनुहुन्छ । उहाँले आकाशमा उड्ने प्यारामोटर, माछाको कत्ला खुईलाउने मेसिन र मुढा बनाउन प्रयोग हुने सिन्का बनाउने मेसिन बनाइसक्नुभएको छ ।

प्रतिक्रिया