सिन्धुली– सिन्धुलीमा सवारी चालकले ट्राफिक नियम उल्लंघन गर्ने क्रम बढेको छ । जिल्ला हुदैँ र जिल्ला भित्र चल्ने सवारी साधनले ट्राफिक नियम उल्लंघन गर्ने क्रम बढेको हो । आर्थिक वर्ष २०७७/७८ को तुलनामा गत आ.व. २०७९/०८० मा ट्राफिक नियम उल्लंघन गर्नेको संख्या बढेको तथ्यांकले देखाएको छ । आ.व. २०७८/०७९ मा ३२ हजार ७ सय सवारीसाधनले ट्राफिक नियम उल्लघन गरेका थिए । उक्त आर्थिक वर्षको तुलनामा २०७९/८० मा १२ हजार दुई सय बढिले ट्राफिक नियम उल्लंघन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख जे जंग कार्कीले जानकारी दिनुभयो । गत आ.व २०७९/०८० मा नियम विपरित चलेका ४४ हजार ९ सय सवारी कारबाहिमा परेका छन् । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा ३७ हजार सवारी साधनले ट्राफिक नियम उल्लंघन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो समय निर्माण सामग्री ढुवानी गर्ने र निजी सवारी साधन ह्वातै बढेकाले कारबाही बढेको हुन सक्ने अनुमान ट्राफिक प्रहरीको छ । सबैभन्दा धेरै ट्रक, टिपर कारबाहीमा परेका छन् । पानी चुहाउने, निर्माण सामग्री अव्यवस्थित रूपमा बोक्ने, राख्ने, कागजात नवीकरण नगर्ने, अनुमतिपत्र नलिई चलाउने लगायतका कारण कारबाही धेरै भएको ट्राफिक प्रहरीको भनाइ छ । एकातर्फ नियम उल्लघंन बढिरहँदा अर्कोतर्फ ट्राफिक प्रहरीको सक्रियता बढेसँगै सवारी साधन माथिको कारबाही पनि बढेको हो ।
ट्राफिक नियम उल्लघन गर्ने सवारीको संख्या बढेसँगै राजश्व बृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० मा नियम विपरित चलेका ४४ हजार ९ सय सवारी कारबाहिबाट ४ करोड ६९ लाख ६ हजार राजश्व सकंलन भएको ट्राफिक प्रमुख कार्कीले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा ३२ हजार ७ सय सवारी साधन कारबाहिबाट ३ करोड १५ हजार र आर्थिक वर्ष २०७८/०७९ मा ३७ हजार सवारी साधन कारबाहिबाट ३ करोड ६९ लाख ८२ हजार राजश्व संकलन भएको छ ।
जिल्लामा सबैभन्दा बढी चार पांग्रे सवारी साधनले ट्राफिक नियम उल्लंघन गर्ने गरेको प्रमुख कार्किले बताउनुभयो । ‘ट्राफिक नियमको पालना नगर्ने सवारी साधनलाई हामीले कारबाहि गरिरहेका छौँ । हामीले देखे र भेटे सम्म नियमको पालना गर्न लगाउने गरेका छौँ । त्यहि पनि कहिले कहाँ हाम्रो आखाँ छलेर नियम उल्लंघ गरिरहेका हुन्छन् ।’, उहाँले भन्नुभयो । सवारी साधनलाई ट्राफिक नियम पालना गराउनका लागि कारबाहिलार्य तिव्रता दिइएको उहाँको भनाई छ ।
‘ट्राफिक नियम पालना नगर्ने सवारी साधन दुर्घटना हुने जोखिम हुन्छ । क्षमता भन्दा बढी यात्रु बोक्ने, ओभर स्पिड चलाउने, हेल्मेट नलगाउने, सवारी चलाउन दक्ष नहुनु, मापसे गरेर सवारी चलाउने आदि कारणले दुर्घटना हुने जोखिम धेरै हुन्छ । दुर्घटनाबाट बचाउन हामीले ट्राफिक नियमको पालना गर्न लगाएका हौँ ।’, उहाँले भन्नुभयो । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको, लाइसेन्स तथा ब्लूबुक नभएका, क्षमता भन्दा बढी सामग्री तथा यात्रु बोक्ने लगायतका सवारी साधनलाई कारबाही गर्ने गरिएको प्रमुख कार्कीले बताउनुभयो । ‘हामीले जनशक्ति थप गरेर आफ्ना क्रियाकलाप बढाएकाले पनि ट्राफिक नियम उल्लंघन गर्नेहरूमाथिको कारबाहीको संख्या बढेको देखिएको हो ।’, उहाँले भन्नुभयो, ‘सिन्धुली जिल्लालाई धेरै राजमार्गले छोएको छ । राजमार्गमा चल्ने सवारी साधन बढेकाले पनि ट्राफिक नियम उल्लघनका घटना बढेका हुन् ।’ सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले विभिन्न सचेतना मूलक कार्यक्रम समेत संचालन गरेको छ ।