शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

असार सकिन लाग्दा पनि सिन्धुलीमा ५८ प्रतिशत रोपाई

शनिवार , आषाढ ३०, २०८०

सिन्धुली –सिन्धुलीमा ५८ प्रतिशत बढी रोपाइ सकिएको छ । जिल्लाको १६ हजार हेक्टर क्षेत्रफलमा रोपाई हुदै आएकोमा हाल सम्म ९ हजार ३ सय ६४ हेक्टर (५८.५ प्रतिशत)मा रोपाई भएको कृषि ज्ञान केन्द्र सिन्धुलीका प्राविधिक सहायक रामप्रसाद पाण्डेले बताउनुभयो । मनसुन ढिला भएकाले विगतको तुलनामा ढिलो रोपाइ भएको हो ।

यतिबेला गाउँ –गाउँका कृषकहरूलाई रोपाइ गर्न भ्याईनभ्याई छ । कमलामाई नगरपालिका ४ का किसान रामबहादुर सार्की रोपाइ गर्न व्यस्त हुनुहुन्छ । उहाँ रोपाई गर्ने खेतला नपाएको गुनासो गर्नुहुन्छ । “रोपाई गर्नु पर्ने । खेतला पाउनै मुस्किल छ । चार दिन देखि धान रोप्ने खेतला खोजिरहेको छु ,” उहाँले भन्नुभयो । कमलामाई नगरपालिका ४ कै किसान सुबाश रम्तेल साउनमा रोपाइ गर्ने बताउनुहुन्छ । “मकैँ पाक्दै छ । मकैँ भित्राउन व्यस्त छु । साउनको पहिलो साता रोपाइ गर्ने तयारी गरेको छु ” उहाँले भन्नुभयो ।

जिल्लामा अझै ४० प्रतिशत भन्दा बढी रोपाई गर्न बाँकी रहेको छ । मानो छरेर मुरी उब्जाउने समय भएकाले पनि किसानहरु यतिबेला रोपाइँमा व्यस्त रहेका हुन् । मकैबाली ढिला पाक्ने खेतहरुमा रोपाइँ हुन बाँकी रहेको छ । सिमसार भएका खेतमा जेठको अन्तिम सातादेखि रोपाई हुने गरे पनि सिञ्चित र असिञ्चित प्रकारको खेतमा वर्षा भएपछि मात्र रोपाई हुने गरेको छ । सिञ्चित खेतमा जुनसुकै समयमा रोपाई गर्न सकिए पनि आकाशे पानीको भरमा रोपाई हुने असिञ्चित खेतमा वर्षा हुन थालेपछि किसान खेतमा पुग्ने गरेका छन् ।

जिल्लाको दुइ नगरपालिका र सात गाउँपालिका मध्ये कमलाखोच, दुधौली, मरिण, कमलामाई नगरपालिका, हरिहरपुगढी गाउँपालिका लगाएत सिचाईको सुविधा भएको क्षेत्रमा रोपाई सकिएको पाण्डेले बताउनुभयो । जिल्लाको तराई क्षेत्रमा ढिला रोपाई गरिने गरेको कृषि ज्ञान केन्द्र सिन्धुलीका निमित्त प्रमुख श्रीकृष्ण अधिकारीले बताउनुभयो । उहाँका अनुसार तराइ भागमा साउन १५ सम्म रोपाइ गर्ने गरिन्छ । यो वर्ष रोपाईका लागि आवश्यक पर्ने युरिया मलको अभाव नदेखिएको उहाँको भनाई छ । माग अनुसारको मल प्राप्त नभएपनि अभाव भने देखिएको छ्र्रैन ।

जिल्लाभर कुल ६२ हजार ७ सय १३ हेक्टर खेतियोग्य जमिन रहेको छ । जिल्लामा विषेश गरि उन्नत जातको धान सावित्री, रामधान, मकवानपुर १, राधा ४, सुख्खा ३, हाइव्रिड अन्र्तगत यु.एस ३१२ र एस ३०५ जातको धान खेती हुदै आएको छ ।

गत वर्ष जिल्लामा १५ हजार ४ सय २२ हेक्टर (९७ प्रतिशत) मा रोपाइ भएको थियो भने ४२ हजार ९ सय ४२ मेट्रिकटन धान उत्पादन भएको प्राविधिक पाण्डेले जानकारी दिनुभयो ।

जिल्लाको कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिका, तिनपाटन गाउँपालिका र हरिहरपुगढी गाउँपालिका र गोलन्जोर गाउँपालिकामा धान खेती हुने गर्दछ । विषेश गरि सिचाइको सुविधा भएको क्षेत्रमा धानखेती हुदै आएको छ ।

प्रतिक्रिया